आखेटोपहारसहित १३ जना समातिए

0
Shares

काठमाडौं, (नेस)।

संरक्षित वन्यजन्तुका विभिन्न आखेटोपहारसहित १३ जनालाई विभिन्न मिति र स्थानबाट प्रहरीले पक्राउ गरेको छ। अवैध रूपमा ओसार–पसार तथा बेचबिखन गर्न लागेको भन्ने विशेष सूचनाका आधारमा केन्द्रीय अनुसन्धान ब्यूरोबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो।

काठमाडौं महानगरपालिका–५ भाटभटेनी मन्दिरअगाडिबाट अवैध रुपमा ओसारपसार गरी ल्याई खरिदबिक्री गर्न लागेको अवस्थामा संरक्षित वन्यजन्तु सालकको छालासहितको खपटा २ थानसहित उनीहरूमध्ये ४ जनालाई प्रहरीले पक्राउ गरेको हो।

पक्राउ पर्नेहरूमा महोत्तरी बर्दिबास नगरपालिका–५ बस्ने सिंहबहादुर मोक्तान, मकवानपुर बकैया गाउँपालिका–२ बस्ने कालबहादुर जिम्बा, धादिङ खनियाबास बस्ने सुके तामाङ र धादिङ त्रिपुरासुन्दरी गाउँपालिका ३ बस्ने उमेश अधिकारी रहेका छन्।

यसै गरी, काठमाडौं महानगरपालिका–४ सुकेधाराबाट संरक्षित वन्यजन्तु भालुको पित्त १ थानसहित ५ जनालाई प्रहरीले पक्राउ गरेको हो।पक्राउ पर्नेहरूमा धादिङ सिद्धलेख गाउँपालिका–४ बस्ने ईश्वर थपलिया, दोलखा बैतेश्वर गाँउपालिका–४ बस्ने ललितबहादुर विक, दोलखा बैतेश्वर गाउँपालिका–४ बस्ने राजकुमार दाहाल, सोही गाउँपालिका बस्ने यम खाती र बैतडी दोगडाकेदार गाउँपालिका–४ बस्ने हरिश भट्ट रहेका छन्।

यसैगरी काठमाडौं टोखा नगरपालिका–३ ग्रान्डी एरियाबाट संरक्षित वन्यजन्तु चितुवाको छाला २ थानसहित ३ जनालाई प्रहरीले पक्राउ गरेको हो।

पक्राउ पर्नेहरूमा नुवाकोट बिदुर नगरपालिका–८ बस्ने सरोज ओझा, काठमाडौं तारकेश्वर नगरपालिका–१ बस्ने अखिल लामा भन्ने सुरेन्द्र तामाङ र कैलाली लम्की चुहा नगरपालिका–३ बस्ने कृष्ण क्षेत्री भन्ने कृष्ण साउद क्षेत्री रहेका छन्।

साथै काठमाडौं महानगरपालिका–४ बालुवाटारबाट ४ केजी तौलको संरक्षित वन्यजन्तु सालकको खपटासहित सिन्धुली तीनपाटन गाउँपालिका–७ बस्ने कर्ण रम्तेल भन्ने कर्णबहादुर सार्कीलाई प्रहरीले पक्राउ गरेको हो।