मनाङकोजितको क्रम रोकियो

0
Shares

नेपाल समाचारपत्र,काठमाडौं ।

जारी शहीद स्मारक ‘ए’ डिभिजन लिगअन्तर्गत चौथो चरणसम्म आइपुग्दा डिफेन्डिङ च्याम्पियन मनाङ–मस्र्याङ्दी क्लबको जितको क्रम रोकिएको छ।

अघिल्ला तीन खेल लगातार जितेर शीर्ष स्थानमा रहेको मनाङलाई सोमबार फ्रेन्डस् क्लबले १–१ गोलको बराबरीमा रोकेको हो। योसँगै मनाङको लगातार जितको क्रम पनि तोडिएको छ तर अपराजित यात्रा भने कायमै रहेको छ। यो नतिजापछि फ्रेन्डस्ले भने चार खेलमा पहिलो अंक जोड्न सफल भएको छ। यसअघि अघिल्ला तीन खेलमा फ्रेन्डस् पराजित भएको थियो।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा भएको खेलमा मनाङले नै अग्रता लिएको थियो। रञ्जन विष्टले ११औं मिनेटमा जगजित सिंहले गरेको कर्नर प्रहारमा गोल गरेका थिए। उनले हेडमार्फत गोल गरेका थिए। तर, उत्तम राईले ६३औं मिनेटमा गोल फर्काएर मनाङको जितको सम्भावनालाई समाप्त पारिदिएका थिए।

यसअघि भएको खेलमा मच्छिन्द्र क्लबले न्युरोड टिम (एनआरटी) लाई १–० ले हराएको थियो। खेल बराबरीतर्फ लम्किएको स्थितिमा मछिन्द्रका लागि सोमिडे एडिलाजाले अन्तिम मिनेटमा गोल गरेका थिए। योसँगै मछिन्द्रले प्रतियोगितामा तेस्रो जित हात पारेको छ भने अपराजित यात्रालाई यथावत् पनि राखेको छ।

यो नतिजापछि मनाङलाई मछिन्द्रले दरो चुनौती दिएको छ। मनाङ १० अंकसहित शीर्ष स्थानमा रहँदा मच्छिन्द्र केवल एक अंक कम ९ अंकसहित दोस्रो स्थानमा रहेको छ। यस सिजनमा मनाङ प्रमुख खेलाडीबिना नै उपाधि रक्षा गर्ने सुरमा छ। मनाङका प्रमुख खेलाडीहरू मछिन्द्रमा आबद्ध
भएका हुन्।

तस्वीर : उजोल डंगोल