लिभरपुलको अपराजित यात्रा कायमै

0
Shares

लन्डन, (एजेन्सी) ।

इंग्लिस प्रिमियर लिगमा लिभरपुलले जारी सिजनमा आफ्नो अपराजित यात्रालाई कायमै राखेको छ। आइतबार राति वुल्भ्सलाई १–० ले हराएपछि लिभरपुलले अंक तालिकामा आफ्नो शीर्ष स्थानलाई बलियो पनि बनाएको छ। टोलीले दोस्रो स्थानमा रहेको लेस्टर सिटीभन्दा १३ अंकको स्पष्ट अग्रता लिएको हो।

लिभरपुलको १९ खेलबाट ५५ अंक पुगेको छ भने लेस्टरको ४२ अंक छ। जबकी लेस्टरले एक खेल बढी खेलेको छ। जारी सिजनको प्रिमियर लिगमा लिभरपुल अपराजित रहने एक्लो टोली बनिरहेको छ। लिभरपुलले १९ मध्ये १८ मा जित र एकमा बराबरी खेलेको छ। अझै १९ चरणका खेल खेल्न बाँकी नै छ।

लिभरपुलको घरेलु मैदान एनफिल्डमा भएको खेलमा साडियो मानेले पहिलो हाफमा गरेको विवादास्पद गोल नै निर्णायक बनेको थियो। खेलको ४२औं मिनेटमा एडम लालनाको पासमा उनले उक्त गोल गरेका थिए। लालनाले हातमा बलले छोएको भन्ने विवादमा केहीबेर भीएआरको सहायता लिएको थियो।

भीएआरको आधारमै रेफ्रीले गोलको मान्यता दिएपछि लिभरपुलले खेलमा १–० को अग्रता लिन सफल भएको थियो। यसको केही मिनेटमै वुल्भ्सका पेड्रो नेटोले गोल गरेका थिए। तर, भीएआर हेरेपछि रेफ्रीले जोनी अफसाइडमा रहेको पाएपछि सो गोललाई खारेज गरिएको थियो। अन्तसम्म पनि गोल नहुँदा वुल्भ्स २० खेलबाट ३० अंक जोडेर सातौं स्थानमा रहन बाध्य भएको छ।

त्यस्तै अर्को खेलमा म्यानचेस्टर सिटीले घरेलु मैदानमा सेफिल्ड युनाइटेडमाथि २–० को सहज जित निकाल्यो। सिटीको जितमा सर्जियो अग्युरो र केभिन डी ब्रुयनले गोल गरे। दुवै गोल दोस्रो हाफमा सम्भव भएको थियो। जितसँगै तेस्रो स्थानमा रहेको सिटीले २० खेलबाट ४१ अंक जोडेको छ। सिटी शीर्षस्थानको लिभरपुलभन्दा १४ अंकले पछाडि छ।