घर बनाउन बैंकको साथ


नेपाल समाचारपत्र, काठमाडौं ।

‘घर’ आम मानिसको सपना हो। आफ्नो छुट्टै सुन्दर घर बनाउने रहर जो कोहीमा हुन्छ। घर बनाउने सपना बोकेर कोही विदेशमा पसिना बगाइरहेका छन्, कोही स्वदेशमै। घर बनाउने सुन्दर सपनालाई सार्थक बनाउनका लागि अहिले बैंकहरूले सहकार्य गरिरहेका छन्।
घर बनाउने सुन्दर सपना बोकेर काममा खटिएका ग्राहकलाई बैंकहरूले पछिल्लो समय केन्द्रमा राखेका छन्।

उनीहरूसँग सहकार्य गर्न बैंकले आकर्षक योजना नै ल्याएका छन्। अर्थात ‘घर कर्जा’ को स्किम आकर्षक छ। पछिल्लो समय घर कर्जालाई बैंकहरूले केन्द्रमा राखेका छन्। भूकम्पपछिको पुनर्निर्माणको क्रमदेखि आवास कर्जा लिनेहरूमा वृद्धि भएको पाइएको छ। विभिन्न बैंकहरूले आकर्षक ब्याजदरमा घर कर्जा उपलब्ध गराउँदै आइरहेका छन्।

सरकारी स्वामित्वमा रहेको राष्ट्रिय वाणिज्य बैंकले ५ वर्ष, १० वर्ष र १५ वर्षसम्मका लागि घर कर्जा उपलब्ध गराउँदै आएको छ। यस बैंकले ५ वर्षसम्मका लागि ९ प्रतिशतदेखि १० प्रतिशतसम्म, १० वर्षसम्मका लागि १० प्रतिशतदेखि ११ प्रतिशत र १५ वर्षसम्मका लागि लिइने घर कर्जा ११ प्रतिशतदेखि ११ दशमलब ५ प्रतिशतसम्मको ब्याजदरमा घर कर्जा उपलब्ध गराउँदै आएको छ।

सरकारी स्वामित्वमै रहेको कृषि विकास बैंकले पनि ५ वर्ष, १० वर्ष र १५ वर्षका लागि घर कर्जा उपलब्ध गराउँदै आएको छ। यस बैंकले आम्दानीको स्रोत र घर निर्माण लागत नेपाल इन्जिनियरिङ परिषद्मा दर्ता भएको इन्जिनियरबाट गरिएको लागत अनुमानको अधिकतम् ७० प्रतिशतसम्म कर्जा उपलब्ध गराउँदै आएको छ। यस बैंकले अधिकतम् कर्जा १ करोड ५० लाखसम्म उपलब्ध गराउँदै आएको छ।

यस बैंकले ५ वर्षसम्मका लागि ११ दशमलब ३७ प्रतिशतदेखि १४ दशमलब ३७ प्रतिशत, १० वर्षसम्मका लागि ११ दशमलब ३७ प्रतिशतदेखि १५ दशमलब ३७ प्रतिशत र १० वर्षदेखि माथिका लागि ११ दशमलब ३७ प्रतिशतदेखि १६ दशमलब ३७ प्रतिशतसम्मको ब्याजदरमा कर्जा उपलब्ध गराउँदै आएको छ।

यस्तै सरकारी स्वामित्वमै रहेको नेपाल बैंक लिमिटेडले न्यूनतम २ वर्षदेखि अधिकतम् २० वर्षसम्मका लागि घर कर्जा उपलब्ध गराउँदै आएको छ। यस बैंकले मान्यताप्राप्त इन्जिनियरले अनुमान गरेको आवास निर्माण लागतको ६० प्रतिशतसम्म कर्जा उपलब्ध गराउँदै आएको छ। यस बैंकले ५ वर्षसम्मका लागि ९ दशमलब ३९ प्रतिशतदेखि १० प्रतिशत, १० वर्षका लागि १० दशमलब शून्य ३ प्रतिशतदेखि १० दशमलव ६४ प्रतिशत र १५ वर्षसम्मका लागि १० दशमलब ८९ प्रतिशतदेखि ११ दशमलब ५ प्रतिशतसम्म ब्याजदरमा कर्जा दिन्छ।

यस्तै नबिल बैंकले १० दशमलव ५३ प्रतिशतदेखि देखि १२ दशमलब ५३ प्रतिशतसम्मको ब्याजदरमा घर कर्जा उपलब्ध गराउँदै आएको छ। नेपाल इन्भेष्टमेन्ट बैंकले मान्यताप्राप्त इन्जिनियरले अनुमान गरेको घर निर्माण लागतको ६० प्रतिशतसम्म कर्जा उपलब्ध गराउँदै आएको छ। यस बैंकले १५ वर्षसम्मका लागि अधिकतम् १ करोड रुपियाँसम्म कर्जा उपलब्ध गराउँदै आएको हो। यस बैंकले ९ दशमलव ९९ प्रतिशतदेखि १४ दशमलव ४९ प्रतिशतसम्मको ब्याजदरमा कर्जामा उपलब्ध छ।

हिमालय बैंकले न्यूनतम ५ लाखदेखि अधिकतम् ३० लाखसम्म घर कर्जा उपलब्ध गराउँदै आएको छ। यस बैंकले उपभोक्ताको सहजताको लागि ३ वर्षदेखि ३० वर्षभित्रमा कर्जा तिर्नुपर्ने प्रावधान राखेको छ।

३० वर्षसम्ममा सामान्य अवस्थाका उपभोक्ताले पनि सहज तरिकाले कर्जा तिरिसक्ने गरी कर्जा व्यवस्था गरिएको बैंकले जनाएको छ। यस बैंकले १० वर्षसम्मका लागि १४ दशमलब ११ प्रतिशतभन्दा माथि र १० वर्षभन्दा बढी समयका लागि १४ दशमलब ३६ प्रतिशतसम्मको ब्याजदरमा कर्जा दिंँदै आएको छ।

यसैगरी नेपाल एसबीआई बैंकले आधार दरमा ५ दशमलब ५० प्रतिशत ब्याजदर जोडेर घर कर्जा दिँदै आएको छ। अहिले आधार दर ९ दशमलव ९४ प्रतिशत रहेको छ। यस बैंकले १५ दशमलब ४४ प्रतिशत ब्याजदरमा घर कर्जा उपलब्ध गराउँदै आएको छ।
यसैगरी एभरेस्ट बैंकले उपभोक्ताका लागि सहज रूपमा घर कर्जा उपलब्ध गराउँदै आएको छ।

यस बैंकले मासिक न्यूनतम ९ हजार ३ सय ६३ रुपियाँमा नै घर कर्जाको व्यवस्था गरेको छ। बैंकले १ करोडको कर्जामा १० दशमलव ७४ प्रतिशत देखि १४ दशमलव ९९ प्रतिशतसम्मको ब्याजदर र १ करोडभन्दा बढीको कर्जामा ११ दशमलव ४९ प्रतिशतदेखि १५ दशमलव ७४ प्रतिशतसम्म ब्याजदर लगाउनेछ।

यसैगरी नेपाल क्रेडिट एन्ड कमर्स बैंकले पनि सहज रूपमा घर कर्जा दिँदै आएको छ। यस बैंकले उपभोक्ताका लागि ५ वर्षसम्मका लागि १४ दशमलव ७४ प्रतिशत, ५ देखि १० वर्षसम्मका लागि १५ दशमलव ७४ प्रतिशत र १० वर्षदेखि बढी समयसम्मका १६ दशमलब ७४ प्रतिशतसम्म ब्याजदरमा घर कर्जा उपलब्ध गर्दै आएको छ। प्रभु बैंकले पनि घर कर्जालाई विशेष प्राथमिकताका साथ राखेको छ।

आकर्षक ब्याजदरमा यस बैंकले उपभोक्तालाई कर्जा उपलब्ध गराउँदै आएको बैंकल जनाएको छ। यस बैंकले ५ वर्षसम्मका लागि ५ देखि १० वर्षसम्म र १० वर्षभन्दा बढी समयसम्मका लागि १४ दशमलब २४ प्रतिशतमा कर्जा उपलब्ध गराउँदै आएको छ।

त्यस्तै हालै सानिमा बैंकले सानिमा बैंकले ‘सानिमा प्रथम घर कर्जा’को विशेष कर्जा सुविधा योजना ल्याएको छ। यो सुविधाअन्तर्गत आवासीय घर बनाउन लाग्ने निर्माण खर्चको अधिकतम सय प्रतिशतसम्म बैंकले कर्जा उपलब्ध गराउने छ।

प्रथम घर कर्जा योजनाअन्र्तगत ऋणिका लागि अधिकतम् लगानी, अधिकतम कर्जा अवधि, सुलभ ब्याजदर तथा कर्जा सेवा शुल्कमा भारी छुट जस्तो आकर्षक सुविधा प्रदान गर्ने भएको छ।ऋणिलाई बजारमा हुने उतार चढावबाट सुरक्षित गर्न सानिमा प्रथम घर कर्जा अन्तर्गत कर्जा प्रवाह गर्दा निर्धारित ब्याजदर कर्जा अवधिको शुरुवात समयको लागि यथावत राखिने बैंकले जनाएको छ।

कसरी हुन्छ जग्गा मूल्यांकन ?

बैंकहरूमा घर कर्जा लिनका लागि शुरूमा धितोमा राख्न चाहेको बजार मूल्यलाई ध्यान दिनु जरूरी हुन्छ। घरजग्गाको मूल्यांकनकर्तासमेत रहनुभएका इन्जिनियर देव ढुंगानाका अनुसार धितोमा राख्न चाहेको जग्गाको बजार मूल्यका आधारमा बैंकहरूले जग्गाको मूल्यांकन गर्दछन्।

सामान्यतया बैंकले जग्गाको मूल्यांकन गर्दा बजार मूल्यको ७० प्रतिशत तय हुन्छ। यस्तै जग्गाको सरकारी (मालपोत)को आधार मूल्य पनि तोकिएको हुन्छ। मालपोतले निर्धारण गरेकोे मूल्यको ३० प्रतिशत र बजार मूल्यको ७० प्रतिशत मूल्यबाट ‘फेयर मार्केट भ्याल्यु’ निकालिन्छ। सो भ्याल्युको ५० देखि ७० प्रतिशतसम्म बैंकले ऋण प्रवाह गर्छन्।

घर कर्जा लिन आवश्यक पर्ने कागजात

पहिचान

  •  २ प्रति फोटो
  •  नागरिकता
  •  नाता प्रमाणीकरण (उपयुक्त भएमा)
  •  वैवाहिक प्रमाणीकरण (उपयुक्त भएमा)
  •  कम्तीमा पनि ६ महिनादेखिको बैंक खाता (कर्जा र बचत) विवरण
  •  फर्म/कम्पनी दर्ताको प्रमाण (उपयुक्त भएमा)
  •  प्यान/भ्याट प्रमाण (उपयुक्त भएमा)
    सुरक्षा
  •  जग्गाधनी प्रमाणपत्र (लालपुर्जा)
  •  राजीनामा/बकसपत्र वा अंशबन्डाको प्रमाणपत्र
  •  मालपोत विवरण
  •  भवनको कर विवरण
  •  ब्ल्यु प्रिन्ट तथा ट्रेस म्याप
  •  चार किल्ला प्रमाणपत्र
  •  घरको मान्यताप्राप्त नक्सा
  •  निर्माण सम्पन्न पत्र
  • आयस्रोत
  •  तलब वा आम्दानीको विवरण
  •  भाडा सम्झौता (उपयुक्त भएमा)
  •  व्यावसायिक आम्दानी भएमा २ वर्षदेखिको अडिट विवरण
  •  पेन्सन विवरण
  •  विदेशी कामदारको हकमा भने तलब विवरण, कार्य अनुमति, तथा पासपोर्ट, भिसा, बैंक खाता विवरण