खबरदारी गर्नु नागरिकको कर्तव्य



विकास निर्माणमा बे थिति चर मरूपमा बढिरहेको छ। तर पनि बेथितिविरुद्ध जनताबाट खबरदारी कमै हुने गरेको छ। राजनीतिक उद्देश्यबाट प्रेरित अन्य आन्दोलन भए पनि विकासका नाममा धेरै आवाज उठ्न सकेका छैनन्।

विकास निर्माणमा भइरहेको बेथितिविरुद्ध नागरिक हस्तक्षेप बढाउनु सबै नागरिकको दायित्व हो। त्यसैले, हरेक नागरिकले आफू बसोबास गर्ने ठाउँमा भइरहेको विकासको काममा सूचना लिन सक्छन् र खबरदारी गर्ने अधिकार पनि हरेक नागरिकको हुन्छ भन्ने बुझ्नुपर्छ। सबै नागरिकसँग सूचनाको अधिकार हुन्छ।

सूचनाको प्राप्तिको हक प्रयोग गरी विकास निर्माणका कार्यमा कुनै प्रकारको अनियमितता भएको पाइएमा उनीहरूले औंला ठड्याउन सक्छन्। काम ढिलो हुनुमा पनि कारणहरू देखाए समेत मुख्य कारण सरकारी निकाय र निर्माण व्यवसायीको इच्छाशक्तिको अभाव नै हो।

विकास योजनामा जति गरे पनि बहाना र कारणहरू देखाएर कारबाही नहुने परिपाटीले विकासको काम अपुरो हुने गरेको छ। कुनै घटना विशेषमा मात्र समस्या आउनु स्वाभाविक हो तर देशभरिमै एउटै प्रवृत्ति देखिनुले नियतमाथि नैै प्रश्न उब्जिन्छ।

विकासको कामले सुस्त गति लिए पनि भरपर्दो काम हुन सकिरहेको छैन। नियमनकारी निकायले अनुगमन नगर्दा विकासका कामले पूर्णता पाउन सकिरहेको छैन। यसले गर्दा विकासका काम दिगो भएका छैनन्। तसर्थ, विकास निर्माणमा नियमनकारी निकायलगायत नागरिकस्तरबाटै खबरदारी गरिनुपर्छ।

यदि खबरदारी गरिएन भने नियमनकारी निकायले कुनै न कुनै अनियमितता गर्न सक्छन्। त्यस्ता व्यक्तिहरूलाई सूचनाको हक प्रयोग गर्दै खबरदारी गर्नु सबै नागरिकको कर्तव्य हो।

– टेकराज निरौला, काठमाडौं।

प्रतिक्रिया दिनुहोस्