समयको ख्याल गरौं



समय बलवान् छ। समयअनुसार हामी सबै चल्न सक्नुपर्छ। समयअनुसार चल्न सकिएन भने कतिपय महत्वपूर्ण कामहरू छुट्ने तथा बिग्रने हुन सक्छन्। विज्ञानले जतिसुकै चमत्कार गरेको भए पनि समयलाई रोक्न भने सकिएको छैन। समयले मानिसलाई चलाउने काम गर्छ।

अझ भनौँ, घडीको सुईको गतिमा हामी चल्नुपर्ने हुन्छ। घडीको सुईको निर्देशनमा चलिएन भने ठूलै नोक्सानसमेत चुकाउनुपर्ने अवस्था आउन सक्छ। हामीले थोरै समयलाई ख्याल गरेका हुदैनौँ। जानाजान हामीले लापरबाही गर्दा समयले नेटो काटिसकेको हुन्छ।

पछिल्लो समय आयोजना गरिने विभिन्न कार्यक्रमहरू निर्धारित समयभन्दा निकै अबेर गरी सञ्चालन गरिएका छन्। भनिन्छ, एक–एक सेकेन्ड समयको ठूलो महत्व छ। बितिसकेको समयलाई हामीले फर्काउन सक्दैनौँ। एउटा सामान्य कार्यक्रम एक–दुई घन्टा ढिला गरिदिँदा त्यसले दिनभरिको काममा प्रभाव पारिरहेको हुन्छ।

हामीले भोलिपल्टको दैनिकी अघिल्लो दिनमा नै तयार पारेका हुन्छौँ। कतै कुनै काममा जान वा कुनै महत्वपूर्ण भेटघाटका लागि तयार पारिएको कार्यक्रममा एकठाउँमा ढिला हुनेबित्तिकै यसले दिनभरिकै काममा असर परेको हुन्छ।

पछिल्लो समय आयोजना गरिने औपचारिक कार्यक्रमहरूमा समयलाई ख्याल गरेको पाइँदैन। आयोजकले एक–दुईजनाको इच्छाअनुसार कार्यक्रमलाई ढिला शुरू गर्छन्।

निर्धारित समयमा कार्यक्रम शुरू हुन नसक्दा कतिपय मानिस कार्यक्रम छोडेर जानुपर्ने हुन्छ। त्यस्तै, कति मानिसले आफ्नो अरू कामबाट हात झिक्नुपर्ने अवस्था आउँछ। त्यसैले समयको ख्याल गर्नै पर्छ।

– मनिषा दुलाल, टोखा, काठमाडौं।

प्रतिक्रिया दिनुहोस्