किशोरीहरू उत्तरी नाका हुँदै चीनतर्फ



रसुवागढी नाकाबाट नजिकै रहेको चीनको केरुङमा अहिले चहलपहल बढ्दो छ। तातोपानी नाका भूकम्पका कारण बन्द भएपछि रसुवागढी नाका खुल्न पुग्यो। त्यसपछि केरुङमा चहलपहल बढ्न थाल्यो। चीनतर्फको नेपालको एकमात्र नाकाको रूपमा रहेको रसुवागढी र चीनतर्फको केरुङमा चहलपहल एक्कासी बढेको छ।

व्यापारिक केन्द्र बन्दै गरेको केरुङमा साँझमा चिसो मौसमसँगै विभिन्न रेस्टुराँ र डान्सबारहरूमा केही नेपाली र स्थानीयवासीहरू झुम्न थालेको दृश्य देख्न सकिन्छ।

केरुङका होटल, डान्सबार र रेस्टुराँहरूमा काम गर्ने नेपाली किशोरीहरू प्रशस्तै भेटिन थालेका छन्। कतै–कतै त मदिराले लठ्ठ ग्राहकसँग ती किशोरीहरू लहस्सिएको दृश्य पनि देखिने गर्छ।

पहिला–पहिला भारतको कोठी र होटलहरूमा नेपाली चेलीहरू बेचिन्थे भन्ने समाचारहरू आइरहन्थे। तर अहिले भारतमा मात्र होइन चीनतिर पनि नेपाली चेलीहरू देहव्यापारमा लाग्न बाध्य छन्। पहिले भारततिर खुल्ला नाकाको फाइदा उठाउँदै नेपाली चेलीहरूलाई अनेक प्रलोभनमा फसाएर विभिन्न गिरोहहरूले बेच्ने गरेको घटना प्रशस्तै देख्न र सुन्न पाइन्छ।

नेपाली चेलीहरू आफू बेचिएको पत्तो नै नपाई नारकीय जीवन बिताउन बाध्य भएका घटनाहरू अहिले पनि सुनिन्छ। पछिल्ला दिनहरूमा आएका जनचेतना र सरकारी कडाइले गर्दा यस्ता घटना कम हुन थालेका छन्।
यससँगै यसरी प्रलोभनमा पारेर लैजाने त होइन तर नेपालको उत्तरीतर्फ रहेको चीनको नाका रसुवागढीबाट कामका लागि चीनतर्फ जाने किशोरीहरूको संख्या ह्वात्तै बढेको छ।

रसुवागढी नाकाबाट पछिल्ला दिनहरूमा नजिकै रहेको चीनको केरुङमा कामको खोजीमा जाने युवतीहरूको संख्या बढिरहेको छ। राहदानी बनाउनु नपर्ने, आउजाउ गर्न कम खर्च लाग्ने र राम्रो कमाइका कारणले केरुङतर्फ नेपाली किशोरीहरूको आकर्षण बढेको धेरैको बुझाइ छ।

केरुङमा जाने नेपाली किशोरीहरू होटल, डान्सबार र रेस्टुरेन्टहरूमा कार्यरत रहेको देख्न सकिन्छ।
केरुङमा रहेका होटल, डान्सबार र रेस्टुराँमा काम गर्ने नेपाली किशोरीहरू ८ कक्षादेखि १२ कक्षासम्म पढेका भेटिन्छन्। उनीहरूले मासिक ३० हजारसम्म कमाइ गरेको बताइन्छ।

माइती नेपाल रसुवाको तथ्याङ्कमा करिब ४ सय नेपाली किशोरी केरुङमा यसरी कार्यरत छन्। ४४ जना किशोरी २० वर्षभन्दा कम उमेरका भएकोले माइती नेपालको सहयोगमा उनीहरूलाई केरुङ जान रोकिएको थियो। यसरी केरुङ जानेमा रसुवाकै किशोरी धेरै रहेका छन्।

फाट्टफुट्ट नुवाकोटका किशोरी पनि जाने गरेको तथ्यांक छ। पछिल्लोपटक चीनतर्फ जाने नाका रसुवागढीबाट कामको खोजीमा केरुङ पुगेका नेपाली किशोरीहरूको अवस्था त्यति राम्रो देखिँदैन। होटल, डान्सबार र रेस्टुराँमा कार्यरत नेपाली किशोरीहरू साथी–संगतले गर्दा देहव्यापारमा लाग्न थालेका घटना पनि देखिन थालेको छ।

केरुङमा कार्यरत नेपाली किशोरीहरूको अवस्थाका विषयमा नेपाल सरकार र अभिभावकले गम्भीरतापूर्वक सोच्नुपर्ने बेला आएको छ। यदि यसो गरिएन भने सरकारले चेलिबेटी बेचबिखनका घटनाहरू नचाहेर पनि सुन्नुपर्नेछ। त्यसैले यस विषयमा सरकार गम्भीर भएर लाग्न जरुरी छ। र, हामी पनि चेलिबेटी बेचबिखन रोक्ने प्रयास गरौं।

– धनबहादुर विक, रसुवा।

 

प्रतिक्रिया दिनुहोस्