दिपावली गरेर भ्रमण वर्षको शुभारम्भ

0
Shares

काठमाडौं, (नेस)।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले नेपाल भ्रमण वर्ष–२०२० को औचपारिक शुरुआतका दिन घर–घरमा दिपावली गर्न आह्वान गर्नुभएको छ।

सोमबार राजधानीमा आयोजित कार्यक्रममा उहाँले ७ वटै प्रदेशबाट भ्रमण वर्षको शुभारम्भ गर्न मुख्यमन्त्रीहरूलाई निर्देशन दिनुभयो।

मन्त्री भट्टराईका अनुसार भ्रमण वर्षको समुद्घाटन काठमाडौंको दशरथ रंगशालामा राष्ट्रपति विद्यादेवी भण्डारी र प्रदेशमा मुख्यमन्त्रीहरूबाट हुनेछ।

भ्रमण वर्ष उल्लासमय बनाउन १ सयभन्दा बढी सरकारी निकाय तथा अन्य क्षेत्रसँग छलफल गरिएको बताउँदै निजी तथा गैरसरकारी क्षेत्रलगायत धेरै संघ–संस्थाले भ्रमण वर्ष सफल बनाउन ऐक्यबद्धता जनाएको जानकारी दिनुभयो।

आफू मन्त्री भएपछि अधिकांश समय भ्रमण वर्षका लागि खर्चिएको मन्त्री भट्टराईको भनाइ थियो। उहाँले भ्रमण वर्ष राष्ट्रिय एकता, स्थायित्व, राजनीतिक अवस्था, नेपालका सुन्दर प्राकृतिक वस्तुहरू विश्वलाई जानकारी दिने अवसर मिलेको उल्लेख गर्नुभयो।

नेपालको ‘अबको यात्रा उज्यालो उन्मुख’ भएको सन्देश विश्व समुदायमा बाँड्नु नै यस भ्रमण वर्षको मुख्य उद्देश्य रहेको मन्त्री भट्टराईको कथन थियो।

उहाँले थप्नुभयो, ‘२०२० भ्रमण वर्षको प्रस्थान विन्दु हो, २०३० सम्मलाई पर्यटन दशकको रूपमा मनाउँदै छौं।’