काठमाडौंको गुठी जोगाउने गरी विधेयक ल्याइनुपर्ने

0
Shares

नेपाल समाचारपत्र, काठमाडौं।

नयाँ गुठी विधेयकले काठमाडौं उपत्यकाको गुठीलाई संरक्षण र सम्वद्र्धन गर्नुपर्नेमा जोड दिइएको छ।
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्माकुमारी अर्याल र संघीय सांसद, प्रदेश सांसद र काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यबीच सोमबार छलफल हुँदा सो कुरामा जोड दिइएको हो।

सरकारले गुठीलगायत मालपोत, भू–उपयोग, भूमि, जग्गा प्राप्ति, बिर्ता उन्मूलनलगायत ११ वटा विषय समेटी एकीकृत भूमि ऐन ल्याउने तयारी गरिरहेको सन्दर्भमा उक्त छलफल गरिएको थियो।

मन्त्री अर्यालले सरकारले उपत्यकाका र अन्य गुठीलाई फरक ढंगले समेट्ने योजना बनाएको जानकारी दिनुभयो।

उक्त अवसरमा प्रतिनिधिसभाका सांसद जीवनराम श्रेष्ठले नयाँ गुठी विधेयकले काठमाडौं उपत्यकाभित्रका गुठीहरूको संरक्षण गर्दै निरन्तरता दिनुपर्ने बताउनुभयो।

उहाँले संस्कृतिमाथि हस्तक्षेप नहुनेगरी र काठमाडौं उपत्यकालाई विशेष व्यवस्था गरी कानुन ल्याउँदा उपर्युक्त हुने सुझाव दिनुभयो।

नेकपाका केन्द्रीय सदस्य सुरेन्द्र मानन्धरले उपत्यकावासीको भावनामाथि चोट नपुग्ने गरी विधेयक ल्याउन आग्रह गर्नुभयो।

प्रदेश नम्बर ३ का प्रदेश सांसद राजेश शाक्यले रानीपोखरी, असनजस्ता क्षेत्रका गुठीको जग्गा व्यक्तिको नाममा बनाइएको घटनाले गुठी विधेयकले उपत्यकावासीलाई बढी चिन्तित बनाएको बताउनुभयो।

काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले काठमाडौं उपत्यका मन्दिरैमन्दिर, जात्रैजात्रा, पर्व, पुरातात्विक र ऐतिहासिक महत्वको शहर भएकाले विशेष सम्बोधन गरेर विधेयक ल्याउँदा राम्रो हुने सुझाव दिनुभयो।

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव सूर्यप्रसाद गौतमले सरकारले ल्याउन लागेको एकीकृत भूमिसम्बन्धी कानुन कार्यान्वयन गर्न सहज बनाउने उद्देश्यले विभिन्न चरणमा छलफल गरिएको बताउनुभयो।