हेटौंडा राजधानीप्रति स्वागतको लहर


न्युज अफ नेपाल, हेटौंडा ।

नेकपाले प्रदेश–३ को स्थायी राजधानी हेटौंडा कायम गर्ने निर्णय गरेपछि विभिन्न स्थानीय निकायबाट स्वागत गरिएको छ ।
जिल्ला समन्वय समिति (जिसस) मकवानपुरले यसको स्वागत गरेको हो । जिल्ला समन्वय समित मकवानपुर प्रमुख रघुनाथ खुलालले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को आइतबार बसेको सचिवालय बैठकले स्थायी राजधानी हेटौंडालाई कायम गरेकामा खुशी व्यक्त गर्दै सो निर्णयको स्वागत गर्नुभएको छ ।

जिल्ला समन्वय समितिले विगतदेखि नै प्रदेशको स्थायी राजधानी हेटौंडा नै हुनुपर्ने भन्दै पहिलेदेखि नै विभिन्न राजनीतिक नेतृत्वसँग भेट्ने, ज्ञापनपत्र बुझाउने तथा कार्यक्रममार्फत् दबाब सृजना गर्दै आएकोमा सचिवालय बैठकले गरेको निर्णयको समर्थन गर्दै उहाँले खुशी व्यक्त गर्नुभयो ।

‘विगत दुई वर्षदेखि प्रदेशको अस्थायी राजधानीका रुपमा रहेको हेटौंडालाई स्थायी राजधानी बनाउने निर्णयप्रति खुशी लागेको छ । निर्णयको स्वागत गर्दछु,’ खुलालले भन्नुभयो–हेटौंडा राजधानी हुनु धेरै हिसाबले ठीक छ । संघीयताको मर्मअनुसार राजधानीका लागि प्रदेशमा उत्तम स्थान नै हेटौंडा हो । प्रदेशको स्थायी राजधानी हेटौंडा कायम गर्नुपर्दछ भन्दै शुरुदेखि नै आफू लागेको र सो कुरा पूरा भएको उहाँले बताउनुभयो ।

प्रदेश–३ को स्थायी राजधानी हेटौंडा र नाम बागमती राख्ने निर्णयको थाहा नगरपालिकाले पनि स्वागत गरेको छ । नेपाल कम्युनिष्ट पार्टीको सचिवालय बैठकले प्रदेश कमिटी र प्रदेशसभा दललाई राजधानी र नामको विषयमा निर्देशन दिने निर्णय गरेकोमा सोको थाहा नगरपालिकाले स्वागत गरेको मेयर लवशेर बिष्टले बताउनुभयो ।

मुलुककै ट्रञ्जिट प्वाइन्टका रुपमा रहेको हेटौंडालाई राजधानी तोक्ने निर्णय गरेकोमा नगरपालिकाले स्वागत गरेको मेयर बिष्टले बताउनुभयो ।
नेकपाकै सांसद् एकमत नहुँदा दुई वर्षदेखि राजधानी र नामको विषयमा निर्णय हुन नसकेपछि सचिवालयले हस्तक्षेप गरेको हो ।