मोरङमा १२ जनाको हत्या


सरोज यादव, विराटनगर ।

मोरङ जिल्लामा एक वर्षको अवधिमा १२ जनाको हत्या भएको छ । गत जनवरीदेखि डिसेम्वरसम्मको अवधिमा गैर राज्य पक्षबाट ७ महिला, २ पुरुष, १ बालिका र २ जना शिशुको हत्या भएको हो । गत वर्षको यही अवधिमा ११ जनाको हत्या भएको थियो । अनौपचारि क्षेत्र सेवा केन्द्र (इन्सेक) विराटनगरले आज विराटनगरमा आयोजना गरेको नेपाल मानव अधिकार बर्ष पुस्तक २०२० को बार्षिक पूर्व समीक्षा गोष्ठि तथा मिडिया साझेदारी बैठकमा सो जानकारी दिइएको हो । वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै इन्सेकका प्रलेख अधिकृत पुन्य अधिकारीले एक वर्षको अवधिमा मोरङमा १ सय ५६ जना पीडित भएको बताउनुभयो ।

उहाँले गत वर्ष १ सय ७१ जना पीडित भएको समेत बताउनुभयो । सन् २०१९ भरिमा बलत्कारका ४५, बलत्कार प्रयासका ४० घटना भएको प्रलेख अधिकृत अधिकारीले बताउनुभयो । गत वर्ष बलत्कारका ५६ र बलत्कार प्रयासका २७ घटना भएका थिए । एक वर्षको अवधिमा बहु विवाहका १५, घरेलु हिंसाका ८ वटा घटना भएको प्रतिवेदनमा उल्लेख गरिएको छ । एक वर्षको अवधिमा विगत वर्ष झै हत्या, बहुविवाह, घरेलु हिंंसाका घटनाहरुले निरन्तरता पाएको बार्षिक प्रतिवेदनमा उल्लेख गरिएको छ । पूर्व समीक्षा कार्यक्रममा जिल्ला समन्वय समिति मोरङका प्रमुख नरेश पोखरेलले महिला तथा बालबालिकामाथि हुने हिंसाका घटनामा बृद्धि भएको देखिएको बताउनुभयो ।

स्थानीय सरकारले महिला तथा बालबालिकाका क्षेत्रमा संवेदनशिल भएर काम गर्नुपर्ने समेत बताउनुभयो । राष्ट्रिय मानव अधिकार आयोग प्रदेश १ का निर्देशक मोहनदेव जोशीले मानव अधिकारको वर्ष पुस्तकमा प्रदुषणका सवालहरुलाई समावेश गर्न सुझाव दिए । उनले उपभोक्ता अधिकारलाई पनि समेट्नु पर्ने बताउनुभयो । वडा प्रहरी कार्यालय विराटनगर (क) का प्रमुख प्रहरी नायव उपरिक्षक वेद गौतमले आफन्तबाटै बलत्कारका बढी घटना हुने गरेको बताउनुभयो । ८० प्रतिशत बालिका तथा महिलाहरु आफन्तबाटै बलत्कृत हुने गरेको उहाँले बताउनुभयो । प्रहरी नायव उपरिक्षक गौतमले नागरिकले अधिकार मात्रै खोज्ने तर कर्तव्य भुल्ने गरेको बताउनुभयो ।

गैरसरकारी संस्था महासंघ नेपालका सचिव उमेश विश्वकर्माले बार्षिक प्रतिवेदनमा जातिय विभेदका घटनाहरु समावेश गर्न सुझाव दिनुभयो । उहाँले मोरङमा जातिय विभेदका आधा दर्जन बढी घटना भएको उल्लेख समेत गर्नुभयो । महिला मानव अधिकार राष्ट्रिय सञ्जालकी केन्द्रीय सदस्य मञ्जिता उपाध्यायले महिलामाथि हुने हिंसाका घटना बढेको बताउनुभयो । उहाँले एक वर्षको अवधिमा १ सय ५६ जना पीडित भएका घटना मध्ये महिलाहरु मात्रै १ सय १९ जना पीडित भएको बताउनुभयो ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ मोरङका अध्यक्ष बन्धु पोखरेल, पत्रकार यज्ञ शर्मा, विश्व सेवा समाजकी मुना आचार्य, कोक्यापका प्रकाश परियार, ओरेक विराटनगरका प्रमुख दिपक सुन्चेउरीलगायतले कार्यक्रममा बोल्नुभएको थियो । इन्सेक प्रदेश संयोजक सोमराज थापाले वर्ष पुस्तकको परिमार्जन गर्ने तयारी गरिएको बताए । २८ वर्षदेखि प्रकाशन हुँदै आएको वर्ष पुस्तकमा घटना विवरणहरु मात्रै नभएर आर्थिक, सामाजिक तथा राजनैतिक अधिकारलाई केन्द्रित गरेर प्रकाशन गर्ने तयारी भईरहेको जानकारी दिनुभयो ।