प्रदेश–३ को राजधानी र नामाकरण अन्तिम चरणमा


न्युज अफ नेपाल, हेटौंडा । प्रदेश–३ को राजधानी हेटौंडा र नाम बागमती राख्ने निर्णयसँगै प्रदेशसभा बैठक बस्ने तयारी थालिएको छ ।
प्रदेश मन्त्रिपरिषद् बैठकले सोमबार एकमात्र निर्णय गर्दै पुस २१ गते प्रदेशसभा बैठक बोलाउने निर्णय गरेको हो । बैठकले प्रदेश प्रमुखलाई बैठक आह्वानका लागि निर्णय गरेर पठाइएको सरकारका प्रवक्ता मन्त्री कैलाश ढुंगेलले जानकारी दिनुभयो ।
प्रदेशसभा बैठकमा प्रदेशको राजधानी र नामाकरणको विषय औपचारिकरुपमा प्रवेश गरेर निर्णय गरिनेछ । प्रदेशको राजधानी तथा नामाकरणका लागि नेकपा केन्द्रीय सचिवालयले निर्णय गरेको भोलिपल्ट प्रदेश सरकारको यस्तो निर्णय आएको हो ।
प्रदेशसभामा नेकपाको स्पष्ट दुई तिहाइ मत भएकोले प्रदेशको संसदीय दललाई आउने निर्देशनअनुसार राजधानी र नामाकरणको विषय लगभग टुंगिएको छ । प्रदेश सभामुख सानुकुमार श्रेष्ठले अब प्रदेशको राजधानी र नाम संसद्बाट टुंगिने बताउनुभयो । अबको प्रदेशसभा बैठकले राजधानी र नामको टुंगो लगाउने उहाँले दाबी गर्नुभयो ।
प्रदेशसभामा कुल १ सय १० सांसद्मध्ये नेकपाको ८० मत छ भने कांग्रेसको २२ र अन्य दलको ८ मत छ । प्रदेश स्थायी राजधानीका लागि दुई तिहाइ अर्थात् ७४ मतमात्र भए पुग्छ ।
नेकपा सचिवालयले प्रदेशको नाम बागमती टुंग्याए पनि प्रदेशसभा सचिवालयमा भने उक्त नामका लागि दर्ता नभएको प्रदेशसभा सचिवालयले जनाएको छ । प्रदेश सभामुख श्रेष्ठले भन्नुभयो–प्रदेशसभामा नेवाः ताम्सालिङ, गौरीशंकर र नेपालमण्डल गरी तीन वटा नाम माग गर्दै सदस्यले प्रस्ताव दर्ता गरेका छन् । प्रदेशको नाम ‘बागमती’ का लागि कसैले पनि दर्ता गरेका छैनन् । सभामुख श्रेष्ठका अनुसार दर्ता भएका नाम फिर्ता भए÷नभए नाम पनि मतदानकै आधारमा टुंगिने छ ।
मुख्यमन्त्री डोरमणि पौडेलले नाम र राजधानीको विषयमा केन्द्रबाट भएको निर्णयले प्रदेशसभामा राजधानी र नामाकरणको विषय टुंग्याउन सजिलो भएको भन्दै प्रदेशसभा बैठक आह्वानको निर्णय गरिएको बताउनुभयो ।
प्रदेशको पहिलो प्रदेशसभा बैठक २०७४ माघ १८ गते बिहीबार बसेको थियो । प्रदेशसभाका ज्येष्ठ सदस्य हालका मुख्यमन्त्री पौडेलकोे अध्यक्षता बसेको पहिलो बैठकको ६ सय ९६ दिनपछि राजधानीको विषय अनौपचारिकरुपमा टुंगिएको हो ।