गुन्युचोली अभियानद्वारा दिवंगत राजा वीरेन्द्रप्रति श्रद्धाञ्जली


न्युज अफ नेपाल, काठमाडौं । गुन्युचोली तथा साँस्कृतिक पोशाक राष्ट्रिय सचेतना अभियानले दिवंगत राजा वीरेन्द्रको शुभजन्मोत्सवको अवसरमा नारायणहिटीको दक्षीणी गेटमा दीप प्रज्वलन गरी श्रद्धाञ्जली व्यक्त गरेको छ ।

प्रजावत्सल राजाका रुपमा जनताद्वारा रुचाइएका राजा स्व. राजा श्री ५ वीरेन्द्र, रानी श्री ५ ऐश्वर्य लगायत राजपरिवारको २०५८ जेठ १९ गते विभत्स हत्या भएको थियो । अभियानद्वारा नारायणहिटी दरबार अगाडि आयोजित सो कार्यक्रममा स्व. राजा वीरेन्द्र लगायत दिवंगत राजपरिवारको स्मरण गर्दै १ मिनेट मौनधारण गरिएको थियो ।

गुन्युचोली तथा साँस्कृतिक पोशाक राष्ट्रिय सचेतना अभियानका अध्यक्ष लक्ष्मी भद्रा ओझाको अगुवाइमा सम्पन्न सो कार्यक्रममा स्वर्गीय राजा वीरेन्द्रलाई हृदयदेखि नै सम्मान गर्ने सयौं नागरिकहरुको सहभागिता रहेको थियो ।

गुन्युचोली तथा साँस्कृतिक पोशाक राष्ट्रिय सचेतना अभियानका अभियन्ताहरु लक्ष्मी भद्रा ओझा, अरुणा राजभण्डारी, निलिमा मास्के, रश्मी श्रेष्ठ, पवित्रा थापा, आशा श्रेष्ठ, विमला कार्की, शन्तोषी शाही, कामना थापा, विद्या खत्री, भवानी धिताल, रुक्मिणी ओझा, उर्मिला विष्ट लगायतले स्व. राजा वीरेन्द्रले सुरु गरेका कार्यहरु विकास क्षेत्रको अवधारणा, शान्ति क्षेत्रको प्रस्ताव लगायतका कार्यहरु आम नेपाली जनताले कहिल्यै भुल्न नसक्ने बताउँदै जनताको भावना बुझेर हरेक कदम चाल्ने प्रजावत्सल राजा स्व. श्री ५ वीरेन्द्रलाई नेपाली जनताले कहिल्यै विर्सन नसक्ने बताउनुभयो ।