सुनकोशी गाउँपालिकाले विपन्न विद्यार्थीलाई छात्रवृत्ति दिने


बुद्ध नेपाली, सिन्धुली ।

सिन्धुलीको सुनकोशी गाउँपालिकाले आर्थिक रुपमा विपन्न, दलित, जनजाती, द्धन्द्ध पिडित समुदायका विद्यार्थीलाई प्राविधिक धारको उच्च शिक्षा अध्ययनका लागी छात्रवृत्ति दिने भएको छ ।

सुनकोशी गाउँपालिकाले छात्रवृत्ति वितरण सम्बन्धि कार्यविधि निर्माण गरेर आर्थिक रुपमा विपन्न, दलित, जनजाती, द्धन्द्ध पिडित समुदायका विद्यार्थीलाई उच्च शिक्षा अध्ययनका लागी छात्रवृत्ति दिने निर्णय गरेको हो । ईन्जिनियरिङ, कृषि भेटेनरी, वन र कम्प्युटर ईन्जिनियरिङ अध्ययनका लागी छात्रवृत्ति दिईने गाउँपालिकाले जनाएको छ ।

आर्थिक अभावमा गाउँपालिकाका कुनै पनि विद्यार्थीहरुले प्राविधिक धारका उच्च शिक्षा पढ्न बञ्चित हुन नपरोस् भन्ने उदेश्यले यस्तो छात्रवृत्ति दिन थालिएको सुनकोशी गाउँपालिकाका उपाध्यक्ष दिर्वसिँङ मुक्तानले जानकारी दिनुभयो । ‘छात्रवृत्तिकाको आवेदन माग गर्दै हामीले सुचनासमेत प्रकासन गरिसकेकाछौं । आर्थिक रुपमा विपन्न, दलित, आदीवासी जनजाती, द्धन्द्ध पिडित, सिमान्तकृत, लोपान्मुख समुदायका बालबालिकालाई प्राविधिक धारको उच्च शिक्षा अध्ययनका लागी न्यायोचित ढंगबाट छात्रवृत्ति दिन्छौं’ उपाध्यक्ष मुक्तानले भन्नुभयो ।

यस्ता विद्यार्थीहरुलाई छात्रवृत्ति दिनका लागी गाउँपालिकाले यो बर्ष १० लाख बजेट विनियोजन गरेको छ । गाउँपालिकामा परेको आवेदनहरुको अध्ययन गर्न समिति गठन गरिएको र सोही समितिले आवेदनहरुको अध्ययन गरेर कार्यविधि अनुसार छनोटमा परेका विद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान गरिने उपाध्यक्ष मुक्तानले बताउनुभयो ।‘यो बर्ष १० लाख मात्रै बजेट छ ।

छात्रवृत्तिका लागी गाउँपालिकामा कति निवेदन पर्छ र निवेदन परेको मध्ये कति लागत लाग्ने विषयमा अध्ययन गरेको पाईन्छ त्यसको आधार हेरेर छात्रवृत्ति दिन्छौं’ । उपाध्यक्ष मुक्तानले भन्नुभयो । परिवारको आर्थिक अवस्था र अध्ययन गरेको विषयको आधारमा न्युनतम २५ हजारदेखि एक लाखसम्म छात्रवृत्ति प्रदान गरिने गाउँपालिकाको कार्यविधिमा उल्लेख छ ।

छात्रवृत्ति पाउनका लागी सुनकोशी गाउँपालिकाको स्थायी बासिन्दा भई गाउँपालिकाभित्र रहेका विद्यालयमा र बाहिरी जिल्लामा गएर प्राविधिक धारको विषयमा अध्ययन गरेका दुवैले छात्रवृत्ति पाउने कार्यविधिमा जनाएको छ ।

उपाध्यक्ष मुक्तानले परिवारको आर्थिक अवस्था कमजोर भएकै कारण क्षमता कुन्ठिएर बसेका विद्यार्थीहरुको क्षमता प्रस्फुटनका लागी छात्रवृत्ति दिन थालेको भन्दै यो निरन्तर रहेक बर्ष प्रदान गरिने बताउनुभयो ।

समाजमा पछाडी परेका समुदायका विद्यार्थीहरुको भविष्य उज्ज्वल होस् भन्ने उदेश्यसहित प्रदान गर्न थालिएको छात्रवृत्तिले आर्थिक रुपमा विपन्न, दलित, जनजाती, द्धन्द्ध पिडित समुदायका विद्यार्थीलाई उच्च शिक्षा अध्ययनमा टेवा पुग्ने सुनकोशी दलित सेवा समितिका अध्यक्ष केशव लोहार बताउनुहुन्छ ।