सिद्धबाबा ३ लाख धरौटी छुटे


सरोज यादव, विराटनगर ।

अनुयायी बलात्कारको आरोपमा पक्राउ परेका सुनसरीको चतराका सिद्धबाबा भनिने कृष्णबहादुर गिरी ३ लाख धरौटी बुझाएर छुट्नु भएको छ । दुई दिनसम्म चलेको थुनछेक बहस सकिएपछि आज सुनसरी जिल्ला अदालतले गिरीको पक्षमा आदेश सुनाएको हो । जिल्ला अदालत सुनसरीका मुख्यन्यायाधीश राधाकृष्ण उप्रेतीको एकल इजलासले गिरीसँग ३ लाख धरौटीमाग गरेको हो ।

श्रेष्तेदार नगेन्द्रकेशरी पोखरेलका अनुसार उपलब्ध प्रमाणका आधारमा प्रतिवादी गिरीले जबरजस्ती करणी गरेको भनी पुर्पक्षका लागि थुनामा राखी कार्वाही गर्र्नु औचित्यपूर्ण नदेखिएकाले अदालतले धरौटीमा छोड्न आदेश दिएको हो । अदालतको आदेश पश्चात गिरी पक्षले आजै धरौटी बुझाएको छ । अदालतले गिरीका लागि पहिलो तारिक माघ ५ गतेका लागि तोकेको छ ।

अदालती प्रकृया पुरा गरी कृष्णदासलाई प्रहरी सुरक्षाका साथ एम्बुलेन्समा राखी पूनः बिराटनगर स्थित बिराट नर्सिङ होम फर्काइएको छ । उनका अनुयायीहरुकाअनुसार अस्पतालमा आराम गरेपश्चात बाबा आश्रम फर्किने छन् । अदालतले कृष्णदासलाई धरौटीमा रिहा गरेको आदेश सार्वजनिक भएसँगै उनका अनुयायी र समर्थकहरुले अदालतको पक्षमा नारा लगाएका थिए ।

सीमित संख्यामा रहेका महिला अधिकारकर्मीको समूहले भने महिलाको अस्मितामाथि खेल्ने काम भएको भन्दै अदालतको निर्णय स्विकार गर्न नसकिने प्रतिकृया जनाएका थिए । गिरीलाई अदालत परिषरबाट बाहिर निकाल्दै गर्दा बलात्कारको आरोपमा किटानी जाहेरी दिएकी जाहेरीवाला महिला पक्षधर र प्रहरीबिच केहिबेर घम्साघम्सी समेत भएको थियो ।

काठमाडौंबाट चतराधाम आश्रममा पुगेकी एक महिला अनुयायीले गत कात्तिक ४ गते जबरजस्ती करणी गरेको भन्दै गिरी उपर सुनसरी जिल्ला प्रहरी कार्यालयमा उजुरी दर्ता गराएकी थिइन् । त्यस पश्चात मुटुमा समस्या देखिएको भन्दै गिरी अस्पताल भर्ना भएका थिए । बलात्कारको अभियोगमा प्रहरीले गिरीलाई विराटनर्सिङ होमको आइसीयूबाटै गत मंसिर १६ गते पक्राउ परेको थियो । कृष्णदासले प्रहरी अनुसन्धानको २५ दिनको समय अस्पतालको भीआइपीवार्डमै कटाएका थिए ।