वन्यजन्तुका आखेटोपहार सहित १३ जना प्रहरी फन्दामा


काठमाडौं ।

संरक्षित वन्यजन्तुका विभिन्न आखेटोपहारहरू सहित १३ जनालाई विभिन्न मिति र स्थानबाट प्रहरीले पक्राउ गरेको छ । अवैध रुपमा ओसार-पसार तथा बेचबिखन गर्न लागेको भन्ने विशेष सूचनाको आधारमा केन्द्रीय अनुसन्धान ब्यूरो महाराजगंजबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो ।

काठमाडौं महानगरपालिका-५ भाटभटेनी मन्दिर अगाडिबाट अवैध रुपमा ओसारपसार गरी ल्याई खरिद बिक्री गर्न लागेको अवस्थामा संरक्षित वन्यजन्तु सालकको छाला सहितको खपटा २ थान सहित उनीहरुमध्ये ४ जनालाई पुस ६ गते प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेहरूमा महोत्तरी बर्दिबास नगरपालिका-५ बस्ने ६० वर्षीय सिंह बहादुर मोक्तान, मकवानपुर बकैया गाउँपालिका-२ बस्ने ४६ वर्षीय काल बहादुर जिम्बा, धादिङ खनियाबास गाउँपालिका(३ बस्ने २८ वर्षीय सुके तामाङ र धादिङ त्रिपुरासुन्दरी नगरपालिका-३ बस्ने २४ वर्षीय उमेश अधिकारी रहेका छन् ।

यसैगरी, काठमाडौं महानगरपालिका-४ सुकेधाराबाट संरक्षित वन्यजन्तु भालुको पित्त १ थान सहित ५ जनालाई पुस ८ गते प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेहरूमा धादिङ सिद्धलेख गाउँपालिका-४ बस्ने २५ वर्षीय ईश्वर थपलिया, दोलखा बैतेश्वर गाँउपालिका-४ बस्ने ५१ वर्षीय ललित बहादुर बिक, दोलखा बैतेश्वर गाउँपालिका-४ बस्ने ३३ वर्षीय राज कुमार दाहाल, सोही गाउँपालिका बस्ने २५ वर्षीय यम खाती र बैतडी दोगडाकेदार गाउँपालिका-४ बस्ने २३ वर्षीय हरिश भट्ट रहेका छन् ।

यसैगरी काठमाडौं टोखा नगरपालिका-३ ग्राण्डी एरियाबाट संरक्षित वन्यजन्तु चितुवाको छाला २ थान सहित ३ जनालाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेहरूमा नुवाकोट बिदुर नगरपालिका-८ बस्ने २० वर्षीय सरोज ओझा, काठमाण्डौ तारकेश्वर नगरपालिका-१ बस्ने अखिल लामा भन्ने २३ वर्षीय सुरेन्द्र तामाङ र कैलाली लम्की चुहा नगरपालिका३ बस्ने कृष्ण क्षेत्री भन्ने १८ वर्षीय कृष्ण साउद क्षेत्री रहेका छन् ।

साथै काठमाडौं महानगरपालिका-४ बालुवाटारबाट ४ केजी तौलको संरक्षित वन्यजन्तु सालकको खपटा सहित सिन्धुली तीनपाटन गाउँपालिका-७ बस्ने कर्ण रम्तेल भन्ने २२ वर्षीय कर्ण बहादुर सार्कीलाई पुस ११ गते प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ परेका व्यक्तिहरूलाई आवश्यक कारबाहीका लागी डिभिजन वन कार्यालय हात्तिसार काठमाडौं पठाइएको केन्द्रीय अनुसन्धान ब्यूरोले जनाएको छ ।