प्रहरी चौकी बोर्लाङको नवनिर्मित भवन उद्घाटन


गोरखा ।
गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका प्रमुख प्रहरी नायव महानिरीक्षक विनोद शर्मा घिमिरेले भिमसेन थापा गाउँपालिका–८ बोर्लाङस्थित नवनिर्मित प्रहरी चौकी बोर्लाङको आइतबार आयोजित एक कार्यक्रमबीच उद्घाटन गर्नुभयो ।

नेपाल प्रहरीले अवलम्बन गरेको समुदाय–प्रहरी साझेदारी अवधारणाको कार्यान्वयनमा भिमसेन थापा गाउँपालिकाले सहभागिता, सहकार्य र साझेदारीको रुपमा पुर्यानएको योगदानको कदर गर्दै प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालबाट प्रदान गरिएको प्रशंसापत्र प्रहरी नायव महानिरीक्षक घिमिरेले भिमसेन थापा गाउँपालिकाका प्रमुख ईश्वरी पाण्डेलाई हस्तान्तरण गर्नुभयो ।

कार्यक्रममा प्रहरी नायव महानिरीक्षक घिमिरेले प्रहरीप्रति आमनागरिकको आस्था, विश्वास र भरोसाको साथै राष्ट्रको प्रतिष्ठा समेत जोडिएकाले प्रहरी कर्मचारीले आफ्नो व्यबसायिकता प्रदर्शन गर्दै सदैव ईमान्दार, कर्तव्यनिष्ठ र उच्च मनोबलका साथ कार्य गर्नुपर्ने बताउनुभयो ।

भिमसेन गाउँपालिकाका प्रमुख ईश्वर पाण्डेले धन्यवाद ज्ञापन गर्नुभएको उक्त कार्यक्रममा प्रहरी निरीक्षक निरञ्जन कुमारले भवन निर्माण सम्बन्धि प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।

नेपाल प्रहरीका भौतिक संरचनाहरुको पूनःनिर्माण गर्ने क्रममा नेपाल सरकार र राष्ट्रिय पूनःनिर्माण प्राधिकरण कोषबीच सम्झौता भई आरसिसि फ्रेम स्ट्रकचरमा निर्माण सम्पन्न भएको उक्त भवनमा कार्यालय, व्यारेक र मेश प्रयोजनका लागि आवश्यकता अनुसारको कोठाको व्यवस्था गरिएको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले जनाएको छ ।

कार्यक्रममा जिल्लास्थित सुरक्षा निकायका प्रमुखहरु तथा प्रतिनिधि, प्रहरी अधिकृतहरु, स्थानीय जनप्रतिनिधि, स्थानिय बासिन्दा, सञ्चारकर्मीहरु लगायतको उपस्थिति रहेको थियो ।