मदिरा पिएर होहल्ला गर्ने मेयरलाई कारवाही गरीएन


न्युज अफ नेपाल, दार्चुला।

मदिरा पिएर होहल्ला गरेको आरोपमा दार्चुलाको शैल्यशिखर नगरपालिकाका मेयर पक्राउ परेका छन् ।

आइतबार राती महेन्द्रनगरको एक दोहोरी साँझको बाहिर मदिरा पिएर होहल्ला गरेको पाइएपछि अमरसिंह धामीलाई कञ्चनपुर प्रहरीले पक्राउ गरेको हो ।

नेपाली काँग्रेसबाट विजयी भएका मेयर धामीको कञ्चनपुरको भिमदत्तमा समेत घर रहेको छ । मेयर धामी घर नजिकैको एक दोहोरी साँझमा आइतबार साँझ पुगेका थिए । दोहोरी साँझमा नै मदिरा पिइ होहल्ला गरेपछि उनलाई पक्राउ गरीएको प्रहरीले जनाएको छ ।

प्रहरीले मेयर धामीसहित अन्य दुई युवालाई पक्राउ गरी मापसे चेकजाँच गरी मेडिकलसमेत गराइएको थियो ।

सुरुमा सामान्य मानिस होला भनी प्रहरीले धामीलाई पक्राउ गरेको थियो । पहिले आफ्नो परिचय लुकाएका धामीले प्रहरीले थुन्ने नै भएपछि मात्रै आफू मेयर भएको जानकारी दिएका थिए । त्यसपछि प्रहरीले मेयरसहित पक्राउ परेका अन्य दुई युवालाई पनि आइतबार राती नै घर पठाएको थियो ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका एसपी मुकुन्द मरासिनीका अनुसार सडकमा होहल्ला भएर तीन जनालाई सोधपुछका लागि प्रहरी कार्यालय ल्याइएको तर समाचारमा आएजस्तो डान्सबारबाट नै मेयरलाई पक्राउ नगरिएको एसपी मरासिनीले बताए ।

‘एक दोहोरी साँझको अगाडि होहल्ला भइरहेको छ भनी स्थानीयले प्रहरीको कन्ट्रोलमा फोन गर्नुभयो । हामी त्यहाँ पुग्दा दुई जना युवाहरु चर्का स्वरमा कराइरहेका थिए । त्यहाँ अर्का एकजना अलि बढी उमेरका व्यक्ति पनि थिए । हामीले उनीहरु तीन जनालाई नै प्रहरी कार्यालयमा ल्यायौँ । उनीहरुको मेडिकल गरायौँ । तर उहाँहरुले हल्ला मात्रै गरेको र तोडफोड वा अन्य कुनै क्षति नपुर्याएको तथा उजुरी पनि नआएकाले सम्झाई बुझाई गरी घर पठाइएको हो । खासमा मेयरसा’बले ती दुई युवालाई सम्झाउनुभएको भन्ने कुरा आएको छ । दुई युवाहरु मेयरसा’बकै चिनजानका मान्छे रहेछन् । तर मेयरसाबले पनि अलिकति खानुभएको रहेछ । हामीले प्रक्रियाअनुसार नै गरेर उहाँहरुलाई राति नै घर पठाएका हौँ ।’ एसपी मरासिनीले बताए ।