डडेल्धुरामा विद्यालय खाजा कार्यक्रम प्रभावकारी

0
Shares

राम धामी, डडेल्धुरा ।

डडेल्धुराका दुई सय ४८ प्राथमिक विद्यालयमा सरकारले नयाँ शैलीमा विद्यालय खाजा कार्यक्रम शुरु गरेपछि यसको सकारात्मक प्रभाव बालबालिकामा मात्र नभई अभिभावकमा पनि परेको छ ।

विश्व खाद्य कार्यक्रमको ३३ प्रतिशत र सरकारको बाँकी लगानीमा शुरु भएको दिवा खाजाका लागि ‘क्यास कार्यक्रम’ अन्तर्गत अधिकांश विद्यालयले खाजा बनाएर पठाउन अभिभावकलाई आग्रह गरेका छन ।

जिल्लामा २ सय ४८ विद्यालयका १५ हजार आठ सय ५८ र बालविकास केन्द्रका चार हजार पाँच सय ४५ विद्यार्थीलाई लक्षितगरी यो कार्यक्रम लागू गरिएको छ । केही विद्यालयमा आमा समूहका सदस्य आएर हरेक दिन फरक फरक खाजा बनाएर खुवाउने गरेका छन ।

कुनै विद्यालयमा घरबाटै खाजा बनाएर पठाउने गरिएको छ । शिक्षा विकास तथा समन्वय इकाई डडेल्धुराका प्रमुख रामदत्त भट्टकाअनुसार विगतका खाजा कार्यक्रमभन्दा यो फरक हो । विद्यालयमा खाजा बनाएर खुवाउने, बालबालिकालाई तेल वितरण गर्ने र विद्यालयमा लिटो बनाएर खुवाउने भन्दा उनीहरूका आमालाई खाजा बराबरको रकम दिएर खाजा बनाउन लगाउने कार्यक्रमले विद्यालयसँग बालबालिकाका आमाको सिधा सम्पर्क हुन थालेको छ ।

‘दैनिक १५ रुपैयाँका दरले खाजाको रकम बुझ्न आउँदा बालबालिकाको हेरचाह गर्ने, उनीहरूको पढाइमा कसरी सघाउने र सरसफाइ कसरी गर्ने भन्ने विषयमा पनि आमाहरूलाई सचेत गर्न थालिएको छ ।’ भट्टले भने ।

विद्यालय जाँदा गाउँको पसलबाट चाउचाउ, नमकिन र कुरमुरे जस्ता तयारी खाजा (जंक फुड) लैजाने बालबालिकाहरुको हातमा हिजोआज घरमै पकाएको खाजा राखेको डब्बा हुन्छ । विद्यालयले साताको ६ दिन बेग्लाबेग्लै मेनु बनाएर दिएको छ । त्यहीअनुरुप घरमा आमाले खाजा बनाउँछिन ।

यसले तयारी खाजामा लाग्ने खर्च जोगिएको छ । ‘बालबालिकाको स्वास्थ्यमा पनि फरक देखिन थालेको छ,’ स्थानीय अभिभावक शान्ति चटौतले भनिन, ‘खाजाका लागि स्कुलले दैनिक १५ रुपैयाँ दिने गरेको छ ।’ अभिभावकले यसरी नै दैनिक बेग्लाबेग्लै खाजा बनाएर पठाउन थालेका छन ।

नयाँ शैलीमा खाजा कार्यक्रम सुरु भएपछि यसले बालबालिकाको स्वास्थ्यमा मात्र होइन, अभिभावकको जीवनशैली पनि परिवर्तन हुन थालेको छ । ‘घरमा जस्तो पाकेको छ, त्यही खाएर बालबालिकाहरु विद्यालय जान्थे । अहिले विद्यालयले भने जस्तै हरेक दिन बेग्लाबेग्लै खाजा बनाएर पठाउदा बालबालिकालाई कस्तो खाना चाहिन्छ भन्ने जानकारी पाएको स्थानीय अभिभावकहरु बताउछन । हप्ताको दुई दिन अण्डा चाना, एक दिन पुरी तरकारी, खिचडी, गेडागुडी, दालभात र एक दिन गेडागुडीको लिटो बनाएर पठाउन विद्यालयले अभिभावकलाई सिकाएको बसन्त प्राथमिक विद्यालयका शिक्षक परमानन्द भट्टले बताए ।