प्युठानमा छैन भ्रमण वर्ष २०२० को सुरसार


सलिम अन्सारी,प्युठान । नेपाल भ्रमण वर्ष सुरु हुन अब दुई दिन मात्र बाँकी छ। भ्रमण बर्षमा २० लाख पर्यटक भित्र्याउने सरकारको लक्ष्य छ । तर, जिल्लामा पर्यटनसँग सम्बन्धित गतिविधि ठप्प छन । कतै तयारीको छनक छैन।

प्युठानमा पर्यटन सरोकार समिति नै बनेको छैन भने पूर्वतयारीको काम समेत हुन सकेको छैन । स्थानीय तहले समेत भ्रमण वर्ष लक्षित कार्यक्रम सुरु गरेका छैनन् ।जसका कारण लक्ष्य हासिल गर्नेमा शंका देखिएको छ । यहाँस्थित होटल व्यवसायी, उद्योगी ब्यापारि, स्थानीय तह, पत्रकार लगायतसंग प्रचुरमात्रा छलफल बहस हुन सकेको छैन ।

जिल्लामा कति स्थानको कुन कुन क्षेत्रलाई पर्यटक स्थल भन्ने र नयाँ खोजी समेत भएकोछैन । तयारी गर्ने समय घर्किसक्दा पनि पर्यटन समिती समेत नबन्दा पर्यटक आकर्षण गर्ने र त्यसलाई प्रवर्द्धन गर्ने गरी अन्य कार्यक्रम हुन नसकेका हुन् ।

भ्रमण वर्षलाई सार्थक तुल्याउन बृहत् गृहकार्यसहितको योजना आवश्यक भएपनि जिल्लामा अहिलेसम्म कुनै तयारी हुन नसकेको प्युठान उद्योग बाणिज्य संघका पुर्व अध्यक्ष ज्ञामुराम न्यौपानेले बताउनुभयो । ‘ भ्रमण वर्षको प्रचार प्रसार हुन समेत सकेको छैन,’ उहाले भन्नुभयो, ‘यसलाई सार्थक बनाउन बृहत् योजना आवश्यक छ, तर अहिलेसम्म कुनै तयारी छैन ।’

भम्रण बर्षको तयारीमा ढिलाई भएको बताउदै न्यौपानेले भन्नुभयो, ’ न पर्यटक लोभ्याउने ठोस काम हुन सकेका छन न पर्यटकलाई जाउँ जाउ घुमौ घुमौ लाग्ने खालका गतिबिधी नै ’ होटल व्यावसायि सघ प्युठानका अध्यक्ष गंज बहादुर थापाले पनि अहिलेसम्म भम्रण बर्ष केन्द्रीत तयारी नभएको उहाले बताउनुभयो।

भ्रमण वर्ष सफल बनाउन होटल ब्याबसायी संग प्रतिबद्द रहेको बताउँदै उहाले पर्यटनलाई कला संस्कृति र उत्पादनसँग जोड्ने गरि योजना अघि सार्न सुझाब दिनुभयो। सरकारले एक सय वटा गन्तव्य सूचिकृत गर्दा प्युठानको धार्मिकस्थल स्वर्गद्धारी सहित झिमरुक गाउपालिकाको ढाँड स्थित रक गार्डेनलाई छानिएको छ । गौमुखी,ऐरावती सहितका अन्य महत्वपुर्ण पर्यटकिय गन्तवयहरु प्रचार प्रसारको अभावमा ओझेलमा छन।

स्वर्गद्धारी सहितको गन्तव्यलाई एकीकृत गर्दै पर्यटकीय स्थलको प्रवद्र्धन र पूर्वाधार बिकास गर्न नसकिए पर्यटक भित्र्याउन सम्भव नहुने सरोकारवालाहरुको मत छ।
उता जिल्ला समन्वय प्रमुख केशव राज आचार्यले पर्यटन वर्षलाई लक्षित गरेर जिल्लामा विशेष तयारी गरिने बताए।

‘पर्यटन वर्ष भव्य मनाउने तयारी छ, त्यसको लागि आन्तरिक तयारीमा जुटेका छौ,’ आचार्यले भने, ‘अब छिट्टै समिती बन्ने तयारीमा छ ।’ सरोकारवालाहरुसंग आवास्यक छलफल गर्छौं।’ अब पर्यटन गन्तव्य पहिचान गरेर योजनाबद्द् रुपमा तयारी गर्छौ ।’ जिल्लाका नौ वटै स्थानीय तहलाई भम्रण बर्ष विशेष गतिबिधी अघि बढाउन निर्देशन दिएको उनले सुनाए।