विपन्नको घरमा बिजुली


स्याङ्जा, (नेस)।

स्याङ्जाको गल्याङ नगरपालिका–९ साङ्लियामा रहेको एक विपन्न परिवारलाई गल्याङ नगरपालिकाले विद्युत् जडान गरिदिएको छ। स्थानीय मनमाया दमाईको घरमा पुगेर नगरपालिका उपप्रमुख देविसरा थापामगरको नेतृत्वमा विद्युत् जडान गरिएको हो।

आर्थिकरूपमा विपन्न भएका स्थानीय भीमबहादुर दमाईको करिब तीन महिना अगाडि निधन भएपछि परिवारको अवस्था दयनीय हुँदै आएको थियो। दमाईको निधन भएको सातौं दिनमा घरमै पुगेर नगरपालिकाको तर्फबाट राहत हस्तान्तरण गरिएको थियो।

सो अवसरमा नगरपालिका उपप्रमुख देविसरा थापाले गरेको प्रतिबद्धताअनुुसार विद्युत् जडान गरिएको हो। आर्थिक कमजोर भएकै कारण बिजुली जडान गर्न नसकेका दमाई परिवार टुकीको सहारामा बस्दै आएका थिए।

बुटवल पावर कम्पनीका प्राविधिकलाई लिएर नगर उपप्रमुख थापा, वडा नम्बर ११ का वडा सदस्य गोपाल भण्डारी, स्थानीय अमरबहादुर विक तथा परशुराम अर्याल दमाईको घरमा पुगेपछि विद्युत् जडान भएको नगरपालिकाले जनाएको छ।

विद्युत् जडानले आफूहरूलाई निकै राहत मिलेको मुकेश परियारले बताउनुभयो। अब घरमा बाटो पुर्याउन र खानेपानीको व्यवस्थाका लागि पनि सहयोग गर्न नगरपालिकासँग परियारले आग्रह गर्नुभयो।