पर्यटन वर्ष २०२० सफल पारौं



सरकारले पर्यटन वर्ष २०२० को घोषणा गरेसँगै तयारी पनि अन्तिम चरणमा पुगेको छ। २० लाख आन्तरिक पर्यटक भित्र्याउने महत्वाकांक्षी परियोजनासहित शुरू हुन लागेको भ्रमण वर्षको अभियानलाई सरकारले गर्न लागेको गतिलो कदमको रूपमा हेरिएको छ।

सरकारले शुरू हुनै लागेको अंग्रेजी वर्षलाई नेपाल पर्यटन वर्ष घोषणा गरी त्यसै अनुरूपका गतिविधिहरू सञ्चालन गर्ने सिलसिलामा यो कार्यक्रम आयोजना भएको हो।

सरकारले पर्यटन वर्ष घोषणा त गर्ने तर काम भने केही पनि नगर्ने भन्दै निजी क्षेत्रले आलोचना गरिरहँदा भएको घोषणाले अब त केही हुन्छ कि भन्ने आशा पलाएको छ। यता, आन्तरिक भ्रमण वर्ष घोषणासँगै गण्डकी सरकारले घरबास कार्यक्रमलगायतका केही पूर्वाधारको क्षेत्रमा लगानी गरे पनि घोषणाजस्तो काम भने भएको छैन।

नेपालको पर्यटन उद्योगको इतिहास लामो छैन। खासगरी बिटल्स ब्यान्डका जोन लेननको भारत यात्रापछि हिम्पीहरू भारततिर ओइरिए। मोक्षको खोजीमा हिँडेका उनीहरू भारतको गर्मी छल्न नेपाल छिरे।

नेपालको हावापानी र प्राकृतिक सुन्दरताले उनीहरूलाई मोहनी लगायो। यहाँको वातावरणमा रमाएका उनीहरूले नै नेपालको प्रचार गरिदिए। विभिन्न देशका पर्यटकहरू नेपाल भित्रने क्रमले तीव्रता पायो।

अर्कोतर्फ सन् १९५० को दशकबाट शुरू भएको नेपालको आरोहण गतिविधिले पनि पर्यटक बढाउन योगदान दियो। पर्यटन व्यवसायीहरूका अनुसार जनस्तरबाट नेपालको जति प्रचार भएको छ, त्यति राज्यले गर्न सकेको छैन।

नेपाल आउने पर्यटकहरूमध्ये झन्डै आधाजतिले पटक–पटक नेपाल भ्रमण गर्ने गरेको तथ्यले पनि सरकारले नेपाललाई विश्वमा चिनाउने काम गर्न नसकेको पुष्टि हुन्छ।

नेपालबाट फर्केकाहरूले आफ्ना साथीभाइ र आफन्तलाई नेपालबारे सुनाउँदा प्रभावित हुनेहरूले पनि नेपालको पर्यटनलाई भरथेग गरेका छन्।

पछिल्लो समयमा नेपालले पर्यटन मन्त्रालय र पर्यटन प्रवद्र्धनको लागि नेपाल पर्यटन बोर्ड गठन गरी पर्यटन प्रवद्र्धनको काम गर्दै आए पनि त्यसको गति सुस्त रहेको छ। अहिले पनि संसारका धेरै नागरिकले नेपालबारे जानकारी राख्दैनन्।

चिन्दै नचिनेको ठाउँमा को पो जान्छ र ? अहिलेको संसार भनेको प्रवद्र्धनको हो। जसले प्रवद्र्धन गर्न सक्छ, जसको विज्ञापन बढी हुन्छ, त्यही ठाउँमा पर्यटक जान्छन्।अर्कोतर्फ पर्यटकहरू भनेका पैसा खर्च गर्न आउने पाहुना हुन्। उनीहरूले मनोरञ्जन, सुरक्षा र सजिलो खोज्छन्।

हामीकहाँ पर्यटकले चाहेजस्तो पूर्वाधार बनेका छैनन्। अझ, विलासी पर्यटकहरूका लागि त हाम्रा पूर्वाधारहरू लाजमर्दा छन्। आरोहणले मात्र पर्यटन धानिँदैन।

भ्रमण वर्षको घोषणा गर्दा सरकारले पर्यटकको सुरक्षा, पर्यटकीय पूर्वाधारमा लगानी र व्यापक प्रचारको अभियान थाल्नुपर्छ।

पर्यटकहरू भनेका घुमन्ते हुन्। उनीहरू सजिलो र मन परेको ठाउँमा यात्रा गर्छन्। प्रकृतिको काखमा रमाउन चाहनेहरूलाई आकर्षित गर्न पनि प्रचारमा त ध्यान दिनैपर्छ।

मुखले घोषणा गर्दैैमा पर्यटक आउँछन् भन्ने भ्रममा परियो भने नेपाल भ्रमण वर्ष नाममा मात्र सीमित रहन्छ भन्ने यथार्थलाई सरकार र सरोकारवाला निकायले बेलैमा बुझ्नुपर्छ।

– बाबुराम कोइराला, पोखरा।

प्रतिक्रिया दिनुहोस्