माघ २ गते देशभर भूकम्प सुरक्षा दिवस मनाइने

0
Shares

नेपाल समाचारपत्र, काठमाडौं।

२२ औं राष्ट्रिय भूकम्प सुरक्षा दिवसका अवसरमा एक महिनाभरि देशभर सचेतनामूलक कार्यक्रम आयोजना हुने भएका छन्।आइतबार गृहमन्त्री रामबहादुर थापा बादलको अध्यक्षतामा गृह मन्त्रालयको सभा कक्षमा बसेको राष्ट्रिय भूकम्प दिवस २०७६ मूल समारोह समितिको बैठकले यस्तो निर्णय गरेको हो।

१९९० सालमा गएको भूकम्पले पुर्याएको क्षतिको सम्झना गर्दै २०५५ सालदेखि हरेक वर्ष माघ २ गते राष्ट्रिय रूपमा भूकम्प सुरक्षा दिवस मनाइँदै आएको छ। बैठकमा बोल्दै गृहमन्त्री थापाले दिवस जनताको सुरक्षा व्यवस्थालाई प्रत्याभूति गर्ने खालको हुनुपर्ने बताउनुभयो।

गृह सचिव प्रेमकुमार राईले दिवसका कार्यक्रम संघीय सरकारसँगै प्रदेश र स्थानीय सरकार सबैको सहभागितामा मनाउने तयारी भएको जानकारी दिनुभयो। प्रदेश र स्थानीय तहका कार्यक्रम समेटेर पुस २३ गतेभित्र कार्यक्रमलाई अन्तिम रूप दिइने उहाँको भनाइ थियो।

बैठकमा विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोखरेलले एक महिनाभरि आयोजना हुने २५ वटा कार्यक्रमसम्बन्धी प्रस्ताव पेस गर्नुभएको थियो।

बैठकमा बोल्दै काठमाडौं महानगरका प्रमुख बिद्यासुन्दर शाक्यले काठमाडौंबासी धेरैले पुनर्निर्माणका लागि सरकारले उपलब्ध गराएको अनुदान रकम लिन नसकेको प्रस· उल्लेख गर्नुभयो।

उहाँले भूकम्पबाट समस्यामा परेका तर सरकारबाट लाभ लिन नसकेकालाई प्याकेजमा राहत दिने खालका कार्यक्रम सरकारले घोषणा गर्नुपर्ने बताउनुभयो।

‘भूकम्प दिवसका कार्यक्रम व्यावहारिक सचेतनामूलक हुनुपर्छ’, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव यादव कोइरालाले भन्नुभयो– ‘कुरा नबुझेर चउरमा खेल्दै गरेको बालबालिका भुईचालो आउँदा टेवुलमुनि लुक्न घरभित्र नछिरुन्।’

यस वर्षको मूल समारोह भक्तपुर नगरपालिकाले आयोजना गर्नेछ। बैठकमा भक्तपुर नगरका प्रमुख सुनिल प्रजापतिले विगतमा चलाइएका कार्यक्रममा केही थप गरेर मूल समारोहलाई व्यवस्थित गरिने बताउनुभयो। उहाँले भूकम्पपछि नगरले पुनर्निर्माणका क्षेत्रमा सम्पन्न गरेका कामसम्बन्धी विवरण पेस गर्नुभएको थियो।

माघ २ गते काठमाडौं महानगरले नयाँ सडकस्थित भूकम्प स्मृति पार्कमा १९९० तथा त्यसपछिको भूकम्पले मृत्यु भएका मानिसहरूको सम्झनामा स्मृतिसभा गर्नेछ।

त्यस्तै २ गतेदेखि ४ गतेसम्म राष्ट्रिय सभागृहमा भूकम्पीय सुरक्षा प्रदर्शनी हुनेछ। कार्यक्रम अवधिमा पुनर्निर्माण, जोखिम न्यूनीकरण तथा पूर्वतयारीको सिकाइ र भूकम्पीय सुरक्षासम्बन्धी २ वटा राष्ट्रिय कार्यशाला सञ्चालन हुनेछन्।