नदी किनाराका अवैध टहरा हटे

0
Shares

काठमाडौं, (नेस)।

बागमती नदी किनारा अतिक्रमण गरी नदी अवैध सावुन र हड्डी प्रशोधन कारखाना सञ्चालन गर्दै आएका सुकुम्बासीलाई कीर्तिपुर नगरपालिकाले हटाएको छ। वस्तीमा दुर्गन्ध फैलिएर नदी समेत प्रदुषित गरेको पाइएपछि १५ वटा टहरा हटाइएको छ।

साउन बनाउन बोसो पगाल्दा वस्तीमा दुगन्ध फैलिएको, प्रदुषित पानी र सेफ्टी ट्यांकीको निकास सिँधै नदीमा पठाएको देखिएपछि टहरा हटाइएको कीतिपुर नगरपालिकाका मेयर रमेश महर्जनले बताउनुभयो।

‘सार्वजनिक जग्गा अतिक्रण गरी वर्षौ अघिदेखि यस्तो काम हुँदै आएको रहेछ, अतिक्रमित जग्गा खाली गर्न पटक–पटक निर्देशन दिएपछि टहरा हट्न थालेका हुन्’–उहाँले भन्नुभयो।

अतिक्रमित क्षेत्र कीर्तिपुर नगरपालिका–६मा पर्छ। दुर्गन्ध फैलिएको जनगुनासो बढेपछि काठमाडौंका प्रमुख जिल्ला अधिकारी र नगर पदाधिकारीको टोलीले अतिक्रमित क्षेत्रको अवलोकन गर्दै त्यस्तो गतिविधी तत्काल रोक्न मौखिक निर्देशन दिएको थियो।