संविधान लोकतान्त्रिक पद्धतिअनुसार नै बनेको हो : आचार्य

0
Shares

नेपाल समाचारपत्र, काठमाडौं।

नेपाली कांग्रेसका नेता नरहरि आचार्यले कम्युनिस्टहरू निर्वाचनबाट नै आएका हुनाले उनीहरूलाई लोकतन्त्रको सिद्धान्त विपरीत हुन् भन्न नमिल्ने विचार व्यक्त गर्नुभएको छ।

उहाँले सो कुरा शनिबार आफ्नै निवासमा आयोजित कार्यक्रममा बताउनुभएको हो। नेपालमा कम्युनिस्ट पार्टी र लोकतन्त्र विषयमा यसपटक छलफल भएको छ। उहाँले सामान्यतया कम्युनिस्ट पार्टीको सरकार भएको ठाउँमा प्रायः अरू पार्टीको अस्तित्व नहुने बताउनुभयो।

उहाँले नेपालको संविधान लोकतान्त्रिक संविधानसभाले बनाएको हुनाले संविधान लोकतान्त्रिक पद्धतिअनुसार नै बनेको बताउनुभएको हो।

‘दलित, मधेशी, सिमान्तकृतलाई कम्युनिस्टहरूले हेर्ने आँखा फरक छ। संविधानको फ्रेमभित्र बस्न परेकाले उनीहरू गणतन्त्र, लोकतन्त्र, संघीयता र समानुपातिक समावेशी भन्न परेकाले भनेका हुन् तर टेस्टमा हेर्ने हो भने उनीहरू कतै भेटिदैनन्।

सोही कार्यक्रममा श्याम घिमिरेले आधारभूत रूपमा आफूलाई कम्युनिस्टभन्दा फरक रूपमा प्रस्तुत नै गर्न नसकेको विचार प्रस्तुत गर्नुभयो।

उहाँले डेमोक्रेशी भनेको कसैले परिभाषित नगरेको व्यवस्था भएको बताउँदै यो कुनै वाद व्यवस्था सरकार चलाउने पद्धति मात्रै होइन यो जीवन पद्धति हो, संस्कृति हो भन्नुभयो।

नेपाली कांग्रेसका राष्ट्रिय सभाका सदस्य राधेश्याम अधिकारीले नेपालका कम्युनिस्टहरुलाई बुझ्नका लागि संविधान बनाउँदाको भूमिकालाई बुझ्न जरुरी रहेको बताउनुभयो।

‘पहिलो संविधानसभामा माओवादी पहिलो शक्ति भएर बस्यो, कांग्रेस र एमाले मिल्दा एक तिहाई हुन्थ्यो’, उहाँले भन्नुभयो– ‘त्यसबखतको मुख्य कुरा हामीले बहुलवादमा आधारित संविधान बनाउन खोजेको त्यसमा माओवादी सहमत भएन।’

‘दलित, मधेशी, सिमान्तकृतलाई कम्युनिस्टहरूले हेर्ने आँखा फरक छ। संविधानको फ्रेमभित्र बस्न परेकाले उनीहरू गणतन्त्र, लोकतन्त्र, संघीयता र समानुपातिक समावेशी भन्न परेकाले भनेका हुन् तर टेस्टमा हेर्ने हो भने उनीहरू कतै भेटिदैनन्’ –उहाँको भनाइ थियो।

नेपालका कम्युनिस्ट पार्टी चीनको मोडल नेपाल भित्र्याउन उद्दत रहेको उहाँले आरोप लगाउनुभयो।नेपाल विद्यार्थी संघका नेता मनोजमणी आचार्यले नेपाली कांग्रेसले गणतन्त्रको एजेण्डा बोकेपछि नेपालमा गणतन्त्र आएको बताउनुभयो।

उहाँले लोकतन्त्रवादीले गरिबको एजेण्डा बोक्नुपर्छ, मध्यमवर्गको एजेण्डा पनि बोक्नुपर्छ र अब्बल घरानियाँको पनि एजेण्डा बोक्नुपर्छ भन्नुभयो। नेपालका कम्युनिस्ट पार्टी चीनको माओको जस्तो निषेधको राजनीतिमा नदेखिएको उहाँको भनाइ थियो।

संविधानसभा सदस्य एवं वाग्लुङ कांग्रेसका नेता नीरज पुनले नेपालको राजनीतिक अभ्यासमा कांग्रेसले उठाएका एजेण्डा स्थापित गर्न सफल भएको बताउनुभयो।

उहाँले भन्नुभयो– ‘संविधानसभाको निर्वाचन पनि हामीले गर्यौं र संविधानसभाबाट संविधान बनाएर जारी पनि हामीले गर्यौं।

संविधान बनाएर संविधान कार्यान्वयन गर्ने अवस्थामा निर्वाचनबाट हामी पराजित भयांै। अब खतरा कहाँ देखिन्छ भने हामीले बोकेको परिवर्तनको एजेण्डाअनुरूप संविधान बनायौं अब यो सफल हुन्छ कि हुँदैन भन्ने भएको छ।’

वरिष्ठ पत्रकार कुलचन्द्र वाग्लेले यो विषय अत्यन्तै महत्वपूर्ण र समाजले माग गरेको विषय भएको बताउनुभयो । उहाँले अहिले सत्तामा भएको कम्युनिस्टहरूको व्यवहारबाट हेर्ने कि सिद्धान्तबाट हेर्ने कि तिनीहरूको ऐतिहासिक पृष्ठभूमिबाट हेर्ने कि आदर्शबाट हेर्ने कि नेपाली कांग्रेसले चलाएको लोकतान्त्रिक रूपान्तरणबाट रूपान्तरण भएको भनेर हेर्ने कि के भनेर हेर्ने मुख्य विषय भएको बताउनुभएको छ।

नेपाल विद्यार्थी संघकी नेतृ प्रतिमा गौतमले जुन संविधानबाट कम्युनिस्टहरू आएका थिए व्यवहार र विचार फरक देखिएको बताउनुभयो। उहाँले जनताको मुद्दा कांग्रेसले उठाएर हिँड्न सक्नुपर्नेमा जोड दिनुभयो।

‘कांग्रेसभित्र रक्त सञ्चार गराउन सक्दा कम्युनिस्टहरूसँग लड्न सक्ने क्षमता वृद्धि हुन्थ्यो’, उहाँले भन्नुभयो– ‘जबसम्म लोकतन्त्रवादी बलियो भइँदैन तबसम्म कम्युनिस्टहरू पेचिलो बन्दै आउँछन्।’

नेपाली कांग्रेस पाल्पाका नेता विजयराज घिमिरेले कम्युनिस्टले एउटा नयाँ विषय अधिनायकवादी लोकतन्त्र ल्याइदिने र त्यो दिशामा उनीहरूले अभ्यास गरिरहन खोजेको देखिएको बताउनुभयो।

त्यसैगरी नेपाली कांग्रेस काठमाडौंका सदस्य रामचन्द्र घिमिरेले नेपालका सन्दर्भमा कम्युनिस्ट पार्टीहरू पनि डेमोक्रेटिक भएका र नाम मात्र कम्युनिस्ट भन्ने खालको अभ्यास २०४६ सालपछि शुरू भएको बताउनुभयो।

नेपाली कांग्रेस दैलेखका नेता एकेन्द्र पन्तले नेपालका कम्युनिस्ट पार्टी र लोकतन्त्र फरक विषय भएको बताउनुभयो ।

उहाँले भन्नुभयो– ‘नेपालको कम्युनिष्ट न लोकतन्त्रवादी हो न गणतन्त्रवादी हो न साम्यवादी हो ? यो हिजोका राजाहरू जस्तो तामझाममा रमाएर जनतालाई भ्रममा पार्ने पार्टी हो।

त्यस्तो पार्टीले किन नेतृत्व गरेको छ यो लोकतन्त्रवादीहरूले बुझ्ने कुरा हो। हामी आफूलाई लोकतन्त्रवादी भन्छौं हामीले लोकतान्त्रिक सँस्कार देखाएनौं कि ’

कार्यक्रममा आफ्नो विचार राख्दै वरिष्ठ साहित्यकार शारदा शर्मा, नेपाली कांग्रेस काठमाडौं महाधिवेशन प्रतिनिधि श्यामबहादुर कार्की, देवेन्द्र केसी, हरिकृष्ण पौडेल, मनोहर खड्का, नेपाल तरुण दल काठमाडौं जिल्ला सदस्य बलराम थापा, श्याममणि आचार्य, अनिष श्रेष्ठ, प्रेम खत्री, टोपेन्द्र राना मगरलगायतले राख्नुभएको थियो।