रहस्यमय यती ‘हुर्काउने’ सरकारलाई डा. भट्टराईको ‘प्रशंसा’

0
Shares

मनोज रेग्मी, काठमाडौं।

पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले रहस्यमय हिमाली जन्तुका रूपमा चित्रित यतीलाई सरकारले हुर्काएको व्यंग्यात्मक प्रशंसा गर्दै अब देश नै उसलाई चलाउन दिन सुझाउ दिनुभएको छ।

ट्विटरमा भट्टराई लेख्नुहुन्छ– ‘यतीको खोजीमा वैज्ञानिकहरू आजित भएका बेला हाम्रा प्रधानमन्त्री र उहाँका आसेपासेहरूले उसलाई हुर्काएर यस्तो जब्बर जन्तु बनाइसकेछन्, नेपाल ट्रस्टका पदाधिकारहरूले ‘यती’ नहुने हो भने गोकर्ण फरेस्ट गौचरन बन्ने ठोकुवा गरेछन्! उसो भए पूरै देश यतीकै जिम्मा लगाए भैगो ! ’

डा. भट्टराईले व्यापारिक यती समूहलाई काठमाडौंस्थित गोकर्ण वन क्षेत्रको २ हजार ९ सय ७१ रोपनी जग्गा यती समूहकै भगिनी संस्था गोकर्ण फरेस्ट रिसोर्टलाई दिइएको र यसरी दिनु कानुनसम्मत थियो भन्दै प्रधानमन्त्रीले बचाउ गरेका सम्बन्धमा यस्तो व्यंग्य गर्नुभएको हो।

रिसोर्टले सो क्षेत्र उपभोग गर्न पाउने अवधि ६ वर्ष बाँकी छँदै ऐन नै संशोधन गरेर सरकारले २५ वर्षसम्मका लागि लिज अवधि थप्ने निर्णय गरेपश्चात् यो सन्दर्भ केही सातादेखि विवादमा छ। यसरी दिने काम नेपाल ट्रस्टले गरेको हो।

यसैबीच, नेपाल ट्रस्टका कार्यकारी सचिव गजेन्द्रकुमार ठाकुरले गोकर्ण मात्र होइन, पोखराको हिमा गृह, दियालो बंगला, फर्पिङसहितका चार ठाउँ रिसोर्ट सञ्चालनका लागि यतीलाई नै लिजमा दिन लागिएको जानकारी दिनुभएको छ।

फेवाताल किनारैमा रहेको १० रोपनी चार आनाको प्लट रिसोर्ट बनाउन यतीले पाउने भएपछि सरकार यस समूहसँग चाहिनेभन्दा बढी नै सकारात्मक भएको टिप्पणी हुनथालेको छ।

यसैबीच संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले हिमागृह पर्यटकीय गन्तव्यकैरूपमा खुला गरिने बताउनुभएको छ। भट्टराईले हिमागृहलाई पर्यटकीय गन्तव्यका रूपमा उपयोग गर्न उपयुक्त हुन्छ भनेर नेपाल ट्रस्टलाई पर्यटन मन्त्रालयले पत्राचार गरिसकेको बताउनुभयो।

‘नेपाल ट्रस्ट र यसका अध्यक्ष उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेललाई पर्यटकीय गन्तव्य बनाउँदा पोखराको पर्यटनमा ठूलो अर्थ राख्छ भनेर लिखित पत्राचार गरेका छौं’, मन्त्री भट्टराईले भन्नुभयो– ‘केही समय लाग्ला तर हिमागृह पर्यटकीय गन्तव्यका रूपमै खुल्छ।’

यसैबीच, नेपाल ट्रस्टका अध्यक्ष एवं उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलले मन्त्रिपरिषद्को निर्णयको बचाऊ गर्दै कानुनअनुसार नै जग्गा लिजमा लगाइएको बताउनुभएको छ।

राष्ट्रियसभामा उठेका प्रश्नको जबाफ दिँदै उहाँले भन्नुभयो– ‘सरकारले वातावरणीय हिसाबबाट लिजमा दिन उचित हुन्छ कि हुँदैन भनेर व्यवस्थित ढंगबाट अध्ययन गरेपछि मात्र लिजमा दिएको हो।’

काठमाडौंको दरबारमार्गको एक रोपनी १४ आना जग्गा पनि ट्रस्टले उही समूहलाई दिएको छ। विश्वसम्पदा सूचीमा रहेको सगरमाथा राष्ट्रिय निकुञ्जको ५० रोपनी जग्गा पनि यतीकै पोल्टामा छ।

उता पाथिभरामा यती समूहअन्तर्गतको पाथिभरा दर्शन केबलकारलाई ८० वर्षका लागि केबलकार सञ्चालनको जिम्मा दिइएको छ। लुम्बिनीमा चार बिघा जग्गा यती एयरलाइन्सका सञ्चालक आङछिरिङ शेर्पाको सालिक बनाउनका लागि दिइएको छ।

राजा वीरेन्द्र र उहाँको परिवारका नाममा रहेको चल–अचल सम्पत्ति राष्ट्रियकरण गरी सामाजिक कार्यमा लगाइने कानुनी व्यवस्थाअनुरूप नेपाल ट्रस्ट सञ्चालन भइरहेको छ। संशोधित कानुनमा प्रधानमन्त्री यस संस्थाको संरक्षक हुने व्यवस्था छ।

ट्रस्टको सम्पत्ति विद्यालय, महाविद्यालय, विश्वविद्यालयजस्ता शैक्षिक तथा प्राज्ञिक संस्था, अस्पताल वा स्वास्थ्य चौकीजस्ता सार्वजनिक परियोजनाका चिकित्सालय खडा गरी सञ्चालन गर्नेलगायत प्रावधान पनि संशोधन गरी व्यावसायिक प्रयोजनमा लगाउन पाइने बनाइएको छ।