नाम बागमती, राजधानी हेटौंडा

0
Shares

नेपाल समाचारपत्र,काठमाडौं ।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले प्रदेश ३ को नाम बागमती र राजधानी हेटौंडा कायम गर्ने निर्णय गरेको छ। प्रदेश ३ को सरकारले त्यसको टुंगो लगाउन नसकेपछि नेकपाले नै उक्त निर्णय गरेको हो।

प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार बसेको नेकपा सचिवालय बैठकले प्रदेशको नाम बागमती र राजधानी हेटौंडा नै कायम गर्ने गरी प्रदेश कमिटी तथा प्रदेशसभा दललाई निर्देशन दिने निर्णय गरेको हो।

प्रदेशको नाम र राजधानीका विषयमा नेकपाकै सांसदहरू एकमत नहुँदा करिब दुई वर्षदेखि निर्णय हुनसकेको थिएन।नेकपाका वरिष्ठ नेता झलनाथ खनालले सबै पक्षको सल्लाह सुझावका आधारमा प्रदेश ३ को नाम बागमती प्रदेश राख्ने निर्णय भएको बताउनुभयो।

उहाँले प्रदेशको केन्द्र तत्कालका लागि हेटौंडालाई नै कायम राख्ने सचिवालयले निष्कर्ष निकालेको स्पष्ट पार्नुभयो।यसअघि प्रदेशको नाम र राजधानी तय गर्न प्रदेश सरकारले समिति बनाई सुझाव संकलन गरेको थियो।

नेकपाभित्र प्रदेशको नाम नेपाल मण्डल, नेवा ताम्सालिङ र बागमतीमध्ये कुन राख्ने भन्ने विषयमा गृहकार्य हुँदै आएको थियो। काभ्रे र भक्तपुरलाई राजधानी बनाउने कुरा पनि उठाइँदै आएको थियो।

तर प्रदेशसभा सांसदबीच कुरा मिल्न नसकेपछि तीन नम्बर प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले प्रदेशको नाम र राजधानी पार्टीले नै टुंगो लगाइदिनुपर्ने आग्रह गर्नुभएको थियो।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको नेतृत्वको तत्कालीन सरकारले हेटौंडालाई नै अस्थायी मुकाम (राजधानी) तोकेको थियो।

तीन नम्बर प्रदेश सभामा १ सय १० मध्ये दुई तिहाइ (८०) नेकपाका सांसद छन्। यस्तै आइतबारको सचिवालय बैठकले पनि सभामुखबारे कुनै निर्णय लिन सकेन।