फागुन १४ मा स्ववियु निर्वाचन

0
Shares

ईश्वरराज ढकाल, काठमाडौं।

त्रिभुवन विश्वविद्यालयले आगामी फागुन १४ गते स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को निर्वाचन गर्ने तयारी थालेको छ।

यसअघि २०७३ फागुन १८ गते सम्पन्न निर्वाचनमा दुई वर्षे कार्यकाल सकिएका पदाधिकारीको म्याद यही फागुन १३ गतेसम्म मात्र थप गरिएकाले अब फागुन १४ गते नै निर्वाचन गर्नुपर्ने भएको छ।

त्रिभुवन विश्वविद्यालय विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयका निर्देशक गंगाबहादुर थापाले ११ वर्ष अघिदेखि हुन नसकेको करिब ४ सय आंगिक र सम्बन्धन प्राप्त क्याम्पसमा पनि सोही दिन निर्वाचन गर्ने गरी तयारी थालिएको जानकारी दिनुभएको छ।

२०७३ सालमा करिब २ सय ८० क्याम्पसमा मात्र निर्वाचन भएको थियो। तीमध्ये काठमाडौं उपत्यकास्थित प्रदर्शनीमार्गको रत्नराज्य, पकनाजोलको पिपुल्स र टीकापुरको कैलाली बहुमुखी क्याम्पसमा चैतमा निर्वाचन भएको थियो।

‘अब ६१ आंगिकसहित करिब ८ सय सम्बन्धन प्राप्त क्याम्पसमा फागुन १४ गते नै निर्वाचन गर्ने गरी तयारी भएको छ।’ –निर्देशक थापाले भन्नुभयो।

हाल करिब एक हजार एक सय सम्बन्धन प्राप्त क्याम्पस छन्। त्रिविकै बेवास्ताका कारण गतवर्ष अन्तिम समयमा आएर निर्वाचन स्थगित भएको थियो।

गतवर्ष पदाधिकारीबीच मेल हुन नसकेपछि माघ अन्तिममा निर्वाचन स्थगित भएको हो। यो वर्ष तोकिएकै समयमा निर्वाचन गर्नुपर्ने माग सरकारपक्ष र प्रतिपक्ष विद्यार्थी संगठनको रहेको छ।

अनेरास्ववियुका संयोजक ऐन महरले भन्नुभयो– ‘लामो समयदेखि स्थगित भएको स्ववियु निर्वाचन यही फागुन १४ गते नै गर्ने गरी त्रिविलाई आग्रह गरिसकेका छौं।’

करिब डेढ महिनाअघि मात्रै उपकुलपतिको पद सम्हाल्नुभएका प्राडा धर्मकान्त बास्कोटालाई यो वर्ष तोकिएकै समयामा स्ववियु निर्वाचन गर्ने चुनौती थपिएको छ।

नेविसंघका पूर्वअध्यक्ष नैनसिंह महरले भन्नुभयो– ‘बहुमतको दम्भ देखाउने सरकारले तोकिएकै समयमा निर्वाचन गरेर प्रभाव प्रमाणित गरोस्।’

लामो समयदेखि स्ववियुविहीन हुँदा विद्यार्थीको गतिविधि ठप्प भएका छन्। त्रिविले यो वर्ष सबै आंगिक र सम्बन्धनप्राप्त क्याम्पसमा निर्वाचन गर्नुपर्नेछ।

२०७३ सालमा उपत्यकाका नौ र उपत्यकाबाहिरका १५ गरी २४ आंगिक क्याम्पसमा मतदान सम्पन्न गरेको थियो। त्यसबेला त्रिविले पहिलोपटक २८ वर्ष उमेर हद कायम गरी निर्वाचन गरेको थियो। उमेर हदको विवाद भएपछि उपत्यकाका केही क्याम्पसमा निर्वाचन स्थगित भएको थियो। तर, यस वर्षको निर्वाचनमा २८ वर्ष उमेर हद कायम हुनेछ।

उपकुलपति कार्यकक्षमा तोडफोड


नेपाल विद्यार्थी संघले आइतबार त्रिविका उपकुलपति प्राडा धर्मकान्त बास्कोटाको कार्यकक्षमा तोडफोड गरेको छ। लामो समयदेखि मागको सुनुवाइ नगरेको भन्दै विद्यार्थीले उपकुलपति कक्षमा तोडफोड गरेका हुन्।

नेविसंघ त्रिविको सचिव योगेन्द्र रावलको नेतृत्वको टोलीले तोडफोड गरेको उपकुलपति सचिवालयका कर्मचारी रत्न महर्जनले जानकारी दिनुभयो। स्ववियु निर्वाचनको अलावा, पदाधिकारी नियुक्तिमा दलीय भागबण्डा रोक्नुपर्नेलगायतका माग राख्दै तोडफोड गरिएको हो।

यसैबीच प्राडा बास्कोटाले आइतबारै मानविकी संकायका डीन प्राडा शिवलाल भुसाललाई निमित्त रेक्टरको जिम्मेवारी दिनुभएको छ।

उहाँ नेकपाभित्रको माओवादी खेमाका हुनुहुन्छ। आन्तरिकरूपमा एमालेबाट प्राडा पेशल दाहाललाई रजिस्ट्रार नियुक्ति गरेपछि आन्तरिकरूपमा मिलाउन भन्दै तत्कालका लागि भुसाललाई निमित्त रेक्टरको जिम्मेवारी दिइएको हो।