शुल्क बढाएको भन्दै सप्तगण्डकी बहुमुखी क्याम्पसमा तोडफोड


न्युज अफ नेपाल, चितवन । शैक्षिक शुल्क बढाएको भन्दै चितवनको भरतपुरमा रहेको सप्तगण्डकी बहुमुखी क्याम्पसमा आइतबार तोडफोड भएको छ ।
पब्लिक क्याम्पस संघ चितवनले गरेको निर्णयको आधारमा कलेजले एक्कासी शुल्क वृद्धि गरेको भन्दै कलेजमा अध्ययनरत सत्तारुढ नेकपा समर्थित अनेरास्ववियूका विद्यार्थीहरुले कलेजमा तोडफोड गरेका हुन् । शुल्क वृद्धिको आधार स्पष्ट हुनुपर्ने, एकपक्षीय रुपमा शुल्क वृद्धि गर्न नहुने अनेरास्ववियूले बताएको छ ।
विद्यार्थीबाट उठाएको शुल्कले कलेज सञ्चालन गर्नुपर्ने अवस्था रहेपनि मनोमानी रुपमा संघ र कलेजले गरेको शुल्क वृद्धिको निन्दा गर्दै सो शुल्क लागू हुन नदिने अनेरास्ववियूले अडान राखेको छ । पब्लिक क्याम्पस संघ चितवनले कक्षा ११ र १२ मा २५ प्रतिशत शुल्क वृद्धि गरेको हो ।
त्यस्तै, संघले स्नातक तर्फको वार्षिक कार्यक्रम अन्तरगत ३० प्रतिशत, सेमिष्टार प्रणाली अन्तरगत १२ प्रतिशत तथा स्नातकोत्तर तहमा २५ प्रतिशत शुल्क वृद्धि गरेको छ ।