शान्ति समाज रुपन्देहीद्वारा प्रधानमन्त्रीलाई ज्ञापनपत्र


यमलाल भुसाल, बुटवल ।

सीमा बिवादबारे श्वेतपत्र जारी गर्न माग गर्दै मानवअधिकार तथा शान्ति समाज रुपन्देहीले प्रधानमन्त्रीलाई ज्ञापनपत्र पठाएको छ ।

आईतवार रुपन्देहीका प्रमुख जिल्ला अधिकारी माहादेव पन्तमार्फत प्रधानमन्त्री केपि शर्मा ओलीलाइ ज्ञापनपत्र पठाइएको हो ।

भारतले जारी गरेको राजनीतिक नक्सा तुरुन्त सच्याउनु पर्ने, अतिक्रमित नेपाली भूभागबाट भारतीय सेना तत्काल फिर्ता गर्नु पर्ने भन्ने आह्वानसहित मानव अधिकार तथा शान्ति समाजले देशव्यापी अभियान सञ्चालन गरिरहेको शान्ति समाजका केन्द्रिय बरिष्ठ उपसभापति गोबिन्द खनालले जानकारी दिनु भयो ।

ज्ञापनपत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी पन्तले सार्वजनिक सरोकारको चासोको बारेमा शान्ति समाजले उठाएको बिषयलाई सम्बन्धित निकायमा पुर्याउने प्रतिबद्धता जनाउनु भयो । उहाँले देशको ध्यान यहि बिषयमा केन्द्रित भैरहेको समेत बताउनु भयो ।

कालापानी—लिम्पियाधुरा,लिपुलेकदेखि नेपालका मिचिएका भूभाग फिर्ता र ती क्षेत्रबाट भारतीय सेना फिर्ता गर्नुपर्ने भन्दै देशभर नै यसप्रकारको कार्यक्रम भैरहेको मानवअधिकार तथा शान्ति समाज रुपन्देहीका सभापति डी पी खनाल (धनपति)ले बताउनु भयो ।

भारतको राजनीतिक नक्सामा नेपाली भूभाग लिम्पियाधुरा, लिपुलेक र कालापानीलाई समेत समावेश गरेको घटनाले नेपालको सार्वभौमसत्तामाथि प्रहार हुनुका साथै नेपाली स्वाभिमानमा आहत पुगेको ठहर गर्दै सिडिओ मार्फत ज्ञापनपत्र बुझाइएको समाजका रुपन्देही सहसचिब कपिल ज्ञवालीले बताउनु भयो ।

समाजले कालापानीबाट तत्काल भारतीय सेना फिर्ता जानुपर्ने,भारतले प्रकाशित गरेको नयँ राजनीतिक नक्सा तुरुन्त सच्याउर्ने ,संवेदनशील विषयमा नेपाल सरकारले कुटनीतिक र राजनीतिक तवरमा गरेको पहलसहितको सम्पूर्ण विवरण समावेश गरी श्वेतपत्र जारी गर्न माग गरेको हो ।

भारतका महामहिम प्रधानमन्त्री नरेन्द्र मोदीसंग छलफल अघि बढाउन प्रधानमन्त्रीलाई शान्ति समाजले आग्रह गरेको ज्ञापनपत्रमा उल्लेख गरिएको छ ।