सिद्धबाबामाथिको थुनछेक बहस सकिएन, सोमबार सारियो


सरोज यादव, विराटनगर

अनुयायी बलात्कारको अभियोग लागेका सिद्धबाबा भनिने कृष्णबहादुर गिरी उपरको थुनछेक बहस सोमबारलाई सारिएको छ । आइतबार कार्यालय समयसम्म थुनछेक वहस नसकिएपछि गिरीलाई लगाइएको अभियोग उपरको थुनछेक भोली सम्मकालागि सारिएको सुनसरी जिल्ला अदालतले जनाएको छ ।

श्रेस्तेदार नगेन्द्रकेशरी पोखरेलका अनुसार प्रतिवादी तर्फका अधिवक्ताहरुको बहस नसकिएपछि हेर्दाहेर्दैमा राखिएको मुद्दा भोलि कार्यालय समयसँगै अघि बढाइने छ ।

श्रेष्तेदार पोखरेलका अनुसार कार्यालय समय सकिएकाले बार र बेन्चको सहमतिमा बाँकी थुनछेक भोलिका लागि सारिएको हो । बिहान ११ बजेबाट सुरु थुनछेकमा पीडित महिला तर्फका अधिवक्ताहरुको बयान भने सकिएको छ ।

जिल्ला सरकारी वकिल कार्यालय इनरुवाका जिल्ला न्यायाधिवक्ता गोकुलबहादुर निरौला सहित ८ जनाको बहस सकिएपछि प्रतिवादी गिरी तर्फका अधिवक्ताहरुको बहस सुरु भएको थियो ।

प्रतिवादी गिरी तर्फका ६ जना वकिल मध्ये तीन जनाले बहस सकेका छन् । अधिवक्ताहरु मोहन कोइराला, रुपेश कोइराला र दीपक खतिवडाको बहस भने बाँकी रहेको छ ।

वकालतनामा दर्ता भएका मध्ये तीन जनाको मात्र बहस बाँकी रहेकाले भोलि अपरान्ह सम्ममा अदालतको फैसला आउन सक्ने अनुमान गरिएको छ । थुनछेक बहस गरेका वादी तर्फका अधिवक्ताहरुले अडियो भ्वाइस प्रमाणित हुनुनै गिरीकालागि पूर्पक्षमा पठाउने पर्याप्त आधार भएको बताएका छन् ।

भोला बराल मार्फत गिरी र अनुयायी बिच भएको टेलिफोन कुराकानीलाई स्वयं बरालले समेत स्विकार गरेको र गिरीका केही बयान बाझिएकाले समेत उनीमाथि लागेको अभियोग पुष्टि हुने पर्याप्त आधार रहेको उनीहरुको भनाई छ ।

गिरीतर्फका अधिवक्ताहरुले भने अभियोग प्रमाणित हुने आधारहरु नरहेको प्रतिकृया जनाएका छन् । अभियोग प्रमाणित भएमा गिरीलाई ७ देखि १० वर्ष सम्म जेल सजाय हुन सक्ने छ । गिरीको मुद्दा सुनसरी जिल्ला अदालतका मूख्य न्यायाधिश राधाकृष्ण उप्रेतीको एक नम्वर इजलासमा परेको छ ।