आफ्नै हात जगन्नाथ

0
Shares

सरकारले नै पहुँच र प्रभावका भरमा कसैलाई पनि आर्थिक सहायता वितरण नगर्ने दाबी गरे पनि ‘आफ्नै हात जगन्नाथ’को उखान चरितार्थ हुने गरी राज्यको ढुकुटी रित्याउन उदारता देखाएको छ।

कुनै नागरिकको उपचारमा आर्थिक अभाव देखिए सरकारले तोकेका अस्पतालमा उपचार गराउनुपर्ने वा उपचार गरिएको बिल स्वास्थ्य मन्त्रालयबाट प्रमाणीकरण गरी १५ लाख रूपियाँसम्म सहायता दिन सकिने व्यवस्था छ। तर कार्यविधि, प्रावधान, मापदण्डजस्ता कुराहरू सरकारका देखावटी दाँतजस्तै भएका छन्।

विदेश भ्रमणका नाममा कर्मचारीले मात्रै राज्य ढुकुटीबाट ९ करोड रुपियाँ खर्च गरेका छन्। नेपालमा पहुँच र प्रभाव हुने व्यक्तिका हकमा सरकारी ढुकुटीको दोहन भइरहेको छ। सरकारप्रमुख नै मितव्ययी बन्न नसक्दा राज्यकोषमा ब्रह्मलुट बढेको छ।

भ्रष्टाचारमा शून्य सहनशीलता र मितव्ययिताको सिद्धान्त बोकेको सरकारले राज्यकोष गरिब जनताले तिरेको करबाट निर्माण भएको कुरा स्मरण गर्न जरुरी देखिएको छ।

आफ्नै हात भन्दैमा राज्यको ढुकुटी दोहन गर्नु कदापि हुँदैन। राज्यको ढुकुटी खर्च गरी गरेको विदेश भ्रमणबाट राज्यले के प्राप्त गर्यो, यसबाट नागरिकले के पाए, खर्च गरेअनुसार उपलब्धि भयो वा भएन भन्ने कुराको पनि लेखाजोखा गर्नु जरुरी छ।

यस विषयमा आमनागरिकको चासो हुनु स्वाभाविक नै हो। त्यसैले राज्यकोषको रकम खर्च गरेर जथाभावी विदेश भ्रमण गर्न रोकिनुपर्छ। यसतर्फ सरकारको ध्यानाकर्षण होस्।

– संयोग न्यौपाने, बेसीसहर, लमजुङ।