केले बढायो चिसो ? वायुको मुस्लोले

0
Shares

काठमाडौं (नेस)।

वायुमण्डलको माथिल्लो भेग हुँदै बहने वायुको मुस्लो (जेटस्ट्रिम)को प्रभावले देशैभर चिसो बढेको छ। तीब्र गतिमा बहने जेटस्ट्रिमले काठमाडौं उपत्यकासहित धेरै ठाउँको तापक्रम खस्काएको हो। भारतीय भू–भाग हुँदै चीनको तिब्बतर्फ बहने यस्तो वायुले हिमालय श्रृंखला र आसपासको भेगलाई छोएर बहँदा तापक्रममा गिरावट आएको र यो क्रम अझै जारी रहने मौसमविद्हरुको ठहर छ।

पृथ्वीको सतहबाट १०/१२ किमी उचाई माथि हुँदै बहने वायुको मुस्लोको प्रभावले चिसो बढ्ने बताउँदै मौसमविद् समिर श्रेष्ठले भन्नुभयो–‘जेटस्ट्रिम अहिले सामान्य अवस्था भन्दा केही बढी दक्षिणतर्फ सरेकाले धेरै ठाउँको तापक्रम घट्दो क्रममा छ।’

२/३ सय मिटर प्रतिसेकेन्ड हाराहारीका दरले बहने जेटस्ट्रिमको प्रत्यक्ष÷अप्रत्यक्ष प्रभावले काठमाडौं उपत्यकासहित अन्यत्र चिसो बढाएको उहाँले प्रष्ट्याउनुभयो। काठमाडौं उपत्यकामा शनिवार यस बर्षकै सबैभन्दा कम तापक्रम मापन भएको छ। उपत्यकाको शनिवारको न्यूनतम तापक्रम शून्य दशमलव ६ डिग्री सेल्सियस मापन भएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

उपत्यकाको शुक्रबारको न्यूनतम तापक्रम सामान्य सुधार भएर १ दशमलव २ डिग्री पुगेको थियो भने विहीवार शून्य दशमलव ९ डिग्री थियो। जुम्ला, जिरी, जोमसोम लगायतका उच्च भेगको न्यूनतम तापक्रम माइनसमा छ। शनिबार जुम्लाको न्यूनतम तापक्रम माइनस ६ डिग्री मापन भएको छ भने जिरीको माइनस ४ दशमलव ५ र जोमसोमको माइनस शून्य दशमलव ५ डिग्री पुगेको छ।

मंगलबार पश्चिमी वायुको प्रभाव भित्रिने मौसमी प्रणाली विकास भइरहेकाले त्यसको असरले हिउँदे वर्षा गराउने र तापक्रममा सामान्य सुधार आउन सक्ने महाशाखाका अधिकारी बताउँछन्। स्थानीय वायुको प्रभावले शुक्रवार इलाम, पाँचथर लगायतका भेगमा असिना पानीसहितको हिउँदे वर्षा भएको थियो भने शनिवार धरान र आसपासका भेगमा हल्का छिटफुट वर्षा भएको छ।