कांग्रेस नेता ढुंगेलको १२ औं दिनको पुण्यतिथिमा श्रद्धान्जली सभाको आयोजना

0
Shares

न्युज अफ नेपाल,भक्तपुर ।

नेपाली कांग्रेसले कांग्रेस नेता तथा संबिधानसभा सदस्य स्व. रामेश्वर प्रसाद ढुंगेलको १२ औं दिनको पुण्यतिथिमा श्रद्धान्जली सभाको आयोजना गरेको छ ।नेपाली कांग्रेस २ नम्बर क्षत्रीय कार्य समिति भक्तपुरले आयोजना गरेको कार्यक्रममा बोल्दै नेपाली काँग्रेसका महामन्त्री पूर्णबहादुर खड्काले स्व.ढुंगेल लोकतान्त्रिक आन्दोलनका खम्बाको रुपमा रहेको बताउनुभयो ।

कटुन्जे चक्रपाणी चोकमा आयोजित कार्यक्रममा बोल्दै महामन्त्री खड्काले स्व. ढुंगेलका राम्रा काम र बिचारको सदैब स्मरण गर्दै उहाँले सोचेका अपुरा कार्य पूर्ण गर्ने बाचा गनुपर्ने बताउनुभयो ।उहाँको निधनबाट नेपाली कांग्रेसलाई अपुरणिय क्षति पुगेको नेपाली कांग्रेस भक्तपुरका पार्टी सभापति दुर्लभ थापाले बताउनुभयो ।

कार्यक्रममा कांग्रेस केन्द्रीय सदस्य रमा पौडेल,सुर्यबिनायक नगरपालिकाका नगर प्रमुख बासुदेब थापा,जिल्ला सचिब निशान ढुंगेल,पार्टीको १ नम्बर क्षत्रीय सभापति जीवन खत्री ,आयोजक २ नम्बर क्षेत्रीय सभापति नारायणभक्त खायामली,पार्टीका सुर्यबिनायक प्रदेश समिति संयोजक तथा २ नम्बर क्षत्रीय सचिब प्रदिप कार्की र रन्जनराज ढुंगेल लगायतले स्व. ढुंगेलले राजनीतिक परिवर्तन,संबिधान निर्माण र जनताको घरदैलोमा खानेपानी पुर्याउन गरेको योगदानको चर्चा गर्नुभयो ।

सोही क्रममा कांग्रेस नेता तथा कार्यकर्ता र स्थानीयले स्व. ढुंगेलको तस्विरमा माल्यार्पण गर्नुभयो ।कार्यक्रममा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको तर्पmबाट महामन्त्री खड्का र जिल्ला सभापति दुर्लभ थापाले स्व.ढुंगेल परिवारलाई ढुंगेलको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै स्वर्गीय ढुंगेलले पार्टी संगठन र नेपालको लोकतान्त्रिक आन्दोलनहरुमा पुर्याएको सक्रिय भूमिकाको स्मरण गर्दै भावपूर्ण श्रद्धाञ्जली तथा शोक सन्तप्त सम्पूर्ण परिवारजनप्रति हार्दिक समवेदना पत्र प्रदान गर्नुभयो ।

हृदयघातका कारण ६१ वर्षको उमेरमा ढुङ्गेलको पुस १ गते निधन भएको हो । नेपाली कांग्रेसका महासमिति सदस्य समेत रहेका ढुंगेल संविधानसभा सदस्य निर्वाचन २०७० मा भक्तपुर जिल्ला निर्वाचन क्षेत्र नं. २ बाट विजयी हुनु भएको थियो ।