पौडेल पक्षले बोलायो सभापतिहरुको भेला

0
Shares

रामकृष्ण चापागाईं, काठमाडौं।

कांग्रेस सभापति शेरबहादुर देउवाले केन्द्रीय समिति बैठकबाट बहुमतको आधारमा १४ औं महाधिवेशनको कार्यतालिकासहितका महत्वपूर्ण निर्णयहरु गरेपछि वरिष्ठ नेता रामचन्द्र पौडेल पक्ष आक्रोशित भएको छ।
शुक्रवार सम्पन्न केन्द्रीय समिति बैठकको निर्णयविरुद्ध एकजुट हुन लागेका संस्थापन इतरका शीर्ष नेताहरुले यही पुस १९ गते जिल्ला सभापतिहरुको भेला बोलाएका छन्।

जिल्ला सभापतिहरुको भेलामा केन्द्रीय समितिको पछिल्लो निर्णय गर्दा भएका गतिविधि, यसले पार्ने असर र भावी रणनीतिबारे छलफल हुनेछ। यसअघि महाधिवेशनको कार्यतालिका नल्याएको भन्दै संस्थापन पक्ष इतरले लगातार बैठक बहिष्कार गरेपछि सभापति देउवाले महाधिवेशनको कार्यतालिकासहितको एजेन्डा ल्याई शुक्रबार बहुमतबाट पारित गर्नुभएको थियो।

कांग्रेसले बहुमतद्वारा पारित गरेको महाधिवेशनको कार्यतालिकामा गाउँ–नगर हुँदै २०७७ फागुन ७ देखि १० सम्म केन्द्रीय महाधिवेशन सम्पन्न गर्ने उल्लेख छ। महाधिवेशन, विभाग गठन, नेविसंघ तथा तरुण दललगायत भ्रातृ संस्थाको अधिवेशनजस्ता विषयमा सहमति गरी निर्णय लिनुपर्ने भन्दै पौडेल पक्षले बहुमतद्वारा गरिएको निर्णय फिर्ता लिनुपर्ने जनाएको छ।

वरिष्ठ नेता पौडेलले भन्नुभयो–‘शुक्रबारको निर्णयले पार्टीलाई गम्भीर आघात पुर्याएको छ।’ पौडेल पक्षमा रहेका पौडेल, महामन्त्री डा.शशांक कोइराला, पूर्वमहामन्त्री प्रकाशशरण महत, कृष्णप्रसाद सिटौला, डा. रामशरण महत, अर्जुननरसिंह केसी, डा. शेखर कोइराला, सुजाता कोइराला र बलबहादुर केसीलगायत नेताहरुले जिल्ला सभापतिपछि भ्रातृ संस्था, पूर्वसांसद र पार्टी पंक्तिका अन्य जिम्मेवार नेताहरुसँग चरणबद्ध छलफल सुरु गर्नुभएको छ।

कांग्रेसको आन्तरिक विवाद मिलाउन संस्थापन पक्षबाट उपसभापति विमलेन्द्र निधि र पौडेल पक्षबाट पूर्वमहामन्त्री सिंहको नेतृत्वमा वार्ता टोली गठन भएको थियो। उक्त समितिले पटकपटक छलफल गर्दा पनि सहमति नभएपछि शुक्रबार बसेको केन्द्रीय समिति बैठकले बहुमतबाट निर्णय गरेको थियो। महाधिवेशनको कार्यतालिकामा सबै पक्ष सहमत भए पनि भ्रातृसंस्था र विभागको नेतृत्वमा भागवण्डा नमिलेकाले विवाद चुलिएको हो।

सभापति देउवाले केन्द्रीय समितिको म्याद एकवर्ष र नेपाल तरुण दलको म्याद ६ महिना थप्ने निर्णयलाई बहुमतबाट अनुमोदन गर्नुभएको थियो। १४ औं महाधिवेशनको कार्यतालिकाअनुसार गाउँ, नगर र वडाको अधिवेशन २०७७ मंसिर ९, गाउँपालिका, नगरपालिकाको मंसिर ११, प्रदेशसभा क्षेत्रीय अधिवेशन मंसिर २७, प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन मंसिर २५, प्रदेश अधिवेशन पुस १५ गते र केन्द्रीय महाधिवेशन २०७७ फागुनको पहिलो साता हुनेछ।