ताङलिङमा पहिलो पटक ‘मन्त्री’ : ‘विकासका लागि सबै एकै ठाउँ’– मन्त्री बास्कोटा

0
Shares

मोतीराम तिमल्सिना,काभ्रे।
जिल्लाको रोशी गाउँपालिका १ खहरेपाँगुको ताङलिङमा पहिलो पटक जिल्लाबाट निर्वाचित भई संचार तथा सूचना प्रविधी मन्त्री एवं सरकारका प्रवक्ता गोकुल बास्कोटा पुग्दा खुशीले मन्त्री पुरिने गरी माला पहिर्याई दिएका छन् । ‘खहरेपाँगुमा धेरै पटक मन्त्रीहरु आए पनि ताङलिङमा पहिलो पटक मन्त्री आउनु भयो’– चेतना माध्यमिक विद्यालयका अध्यक्ष अमित लामाले भन्नुभयो–‘मन्त्रीलाई आफ्नै स्थानमा ल्याएर स्थानीयका समस्या र विकासका आवश्यकता सुनाउने अवसर विद्यालयको नवर्निमित भवनले जुराई दियो ।’

भौगोलिक हिसावले नजिक भए पनि विकासले गति लिन नसक्दा दुर्गम बनिरहेको खहरेपाँगुबाट चर्चित ब्यक्तिहरु राजधानीमा बसोबास गरिरहेका छन् । सामुहिक विकासका लागि एकता भन्दा पनि टुटफुट र खुट्टा तान्ने प्रवृत्तिका कारण विकासमा धिमेगती भएको अध्यक्ष लामाले बताउनु भयो ।

मन्त्री आउनु अघि अध्यक्ष लामाले सबै सरोकारवालासँग अन्र्तक्रिया गरेर मात्रै कार्यक्रम टुङ्गो गरिएकाले सबै राजनीतिक दल, सर्वसाधारणहरुको सहभागिता रहेको बताउनु भयो । एउटा पक्षले कार्यक्रम आयोजना गर्दा अर्काे पक्षले सधै बहिस्कार गर्ने चलन लामो समयसम्म रहेको उहाँले बताउनु भयो ।
मन्त्री बास्कोटा सहभागि कार्यक्रममा नेपाली कांग्रेसका नेताहरु, राप्रपा लगायत अन्य राजनीतिक दलका नेताहरुले भब्य स्वागत गरे । ‘विकासका लागि एकताको संस्कृति शुरु भएको छ, पार्टी फरक होला, मुद्दा विकास हो’–मन्त्री बास्कोटाले भन्नुभयो–‘मिल्छ भने तपाई हामी सबै एउटै पार्टीमा रहेर पनि काम गर्न सक्छौं, म आब्हान गर्न चाहन्छु तपाईहरु सबै नेकपाकै अभियानमा सामेल हुनुहोस ।’
नेपाली कांग्रेसबाट निर्वाचित गाउँपालिका अध्यक्ष डिबी लामा, कांग्रेस नेता गणेश लामा, राप्रपा जिल्ला अध्यक्ष टुल्कु लामा, राप्रपाबाट निर्वाचित वडा अध्यक्ष श्रीदास लामा सबैले मन्त्रीको एकता सहितको विकासमा सहभागि हुने प्रतिवद्धता ब्यक्त गर्नु भएको थियो ।
कार्यक्रममा सञ्चार तथा सूचना प्रविधि मन्त्री एवम् नेपाल सरकारका प्रवक्ता गोकुल बाँस्कोटाले सरकारले जनताको घर घर पुगेर विकास गर्न शुरु गरेकाले विकासको माग बोकेर मन्त्री र सरकारी निकायमा धाउनु नपर्ने बताउनु भयो । चेतना माध्यमिक बिद्यालयको नवनिर्मित भवन हस्तान्तरण तथा समुद्घाटन कार्यक्रममा बोल्दै मन्त्री बाँस्कोटाले सरकारको एउटै ध्यान विकास भएकाले विकास मार्फत जनतामा समृद्धी ल्याउने खालका आयोजनाहरु संचालन गरिरहेको बताउनुभयो ।

नागरिकको खुशी, सुख र समृद्धका लागि विकास गर्ने भएकाले जनताको जीवन सुधार्ने एउटै माध्यम शिक्षाको गुणस्तरलाई खस्कन दिनु नहुने मन्त्री बास्कोटाले बताउनुभयो । चेतना माविका अध्यक्ष अमित लामाले रोशी गाउँपालिकाको वडा नम्वर १ को विकासमा भएका असहजता र शिक्षामा भएको समस्याका बारेमा मन्त्री बाँस्कोटाको ध्यानकार्षण गराए पछि मन्त्री बाँस्कोटाले शिक्षाको गुणस्तर सुधार्न सरकार एक्लैले नसक्ने भएकाले अभिभावक, शिक्षक र समुदाय सबैले ध्यान दिनु पर्ने बताउनु भयो ।

‘विकास बाहेक अर्काे मुद्दा अब बन्न सक्दैन’–मन्त्री बास्कोटाले भन्नु भयो–‘मुलुक निर्माणका लागि सबै दल, सबै ब्यक्तिहरुसँग हातेमालो गर्दै शिक्षामा लगानी बढाएका छौँ ।’ शिक्षामा गरिएको लगानीले जीवन सुधार्ने बताउँदै मन्त्री बास्कोटाले खाडी जाने युवाहरुलाई स्वदेशमै रहन सक्ने गरी वातावरण बनाउन सरकार लागेको बताउनुभयो ।
शिक्षाको गुणस्तर सुधार्न जिल्लामा एक सय वटा विद्यालयमा कम्प्युटर ल्याव संचालनमा ल्याएको बताउँदै उहाँले सडक, खानेपानी, शिक्षा, स्वास्थ्य, सिंचाई, विद्युत्त लगायतका क्षेत्रमा निरन्तर काम भईरहेको जानकारी गराउनुभयो । ‘रोशीको चौकीडाँडा देखि पनौतीसम्मको सडक निर्माणको लागि कार्य भईरहेको छ, अस्पताल लगायतका निर्माणका कार्य शुरु भएका छन्’–मन्त्री बाँस्कोटाले बताउनुभयो ।
मन्त्री बाँस्कोटाले मदन भण्डारी बिश्वबिद्यालय काभे्रको पाँचखाल र नमोबुद्धमा बन्न लागेको, सुनकोशी तेस्रो जलबिद्युत आयोजना, बहृत खानेपानी आयोजना सुुरु भइरहेको जानकारी गराउनुभयो ।
अध्यक्ष अमित लामाको नेतृत्वमा विद्यालय ब्यवस्थान समिति गठन भएसँगै दुई वटा विद्यालय भवन निर्माण भएका छन् ।

६ कोठे र ४ कोठे भवन सुविधा सम्पन्न छन् । लामाकै अगुवाईमा जग्गाको ब्यवस्थापन लगायतका कार्यहरु भएका छन् । चालु शैक्षिक सत्रमा कम्प्युटर ल्याब संचालनमा आएको छ । २ सय ७५ जना विद्यार्थी अध्ययन गरिरहेको विद्यालयमा शिक्षक दरवन्दी अभाव हुँदा पढाई प्रभावित हुँदै आएको छ । अध्यक्ष लामाले शिक्षाको गुणस्तर सुर्धान भौतिक पूर्वाधार लगायतका अन्य संरचनाहरु निर्माण भएको बताउनु भयो ।

कार्यक्रममा प्रदेश सभा सदस्य चन्द्र लामाले निर्वाचनको समयमा ब्यक्त गरिएका प्रतिवद्धता पुरा हुने बताउनुभयो । कार्यक्रममा संविधान सभा सदस्य रामहरी सुवेदी, गाउँपालिका अध्यक्ष डीबी लामा, नेपाली कांग्रेसका नेता गणेश लामा, वडा अध्यक्ष श्रीदास लामा, जिल्ला आयोजना कार्यान्वयन ईकाईका प्रमुख द्धारिकाप्रसाद पोखरेल, ताङलिङ युवा क्लवका अध्यक्ष विजय लामा, विद्यालयका प्रधानाध्यापक कुमार सिं लामा लगायतले मन्तब्य राख्नु भएको थियो ।
विद्यालयको चार कोठे भवनको ७० लाख रुपियाँ लागत जिल्ला आयोजना कार्यान्वय इकाईले बनाएको थियो ।नेपाली कांग्रेसका नेता गणेश लामाले विकासका लागि विरोध हैन सहकार्य आवश्यक रहेको बताउनु भयो । राम्रोलाई  राम्रो र नराम्रोलाई नराम्रो भन्न सक्नु पर्ने लामाको भनाई थियो ।

ताङलिङ क्लवका अध्यक्ष विजय लामाले युवाहरुको भविश्य निर्माण गर्न शिक्षासँगै खेलकुदका भौतिक संरचना निर्माण तथा स्थानीय स्तरमा कृषि क्याम्पसको आवश्यकता रहेको बताउनु भयो । ‘युवाहरुलाई विदेशिनबाट रोक्न र स्थानीय कृषि पेशा ब्यवसायलाई ब्यवसायीक बनाउन यो क्षेत्रमा कृषि क्याम्पसको आवश्यकता छ’–उहाँले भन्नु भयो ।