कलाकारलाई अवरोधको सामना गर्न आह्वान

0
Shares

नेपाल समाचारपत्र, काठमाडौं ।

नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानको चित्रकला विभाग र प्रिन्ट मेकिङ नेपालको संयुक्त आयोजनामा १० दिन देखि संचालनमा रहेको प्रिन्ट मेकिङ कार्यशालाको समापन भएको छ । कार्यशालाको समापन नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानका कुलपति केके कर्माचार्यले गर्नुभएको छ ।

कार्यक्रममा कुलपतिको साथै नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानका सदस्य सचिव विपीन घिमिरे, प्राज्ञ सुषमा राजभण्डारी, प्राज्ञ बुद्धि गुरुङ्ग, प्राज्ञ मिथिलादेवि यादव, प्रिन्ट मेकिङ नेपालका अध्यक्ष उमाशंकर शाह, वरिष्ठ कलाकार डा. सीमा शाह र वरिष्ठ कलाकार विजय थापा तथा अन्य गन्य मान्य व्यक्तिहरुको समेत उपस्थित रहेको थियो ।

प्रिन्ट मेकिङ नेपालका अध्यक्ष उमाशंकर शाहले नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानको चित्रकला विभागको सहयोगमा आयोजना भएको कार्यशाला सफल भएको भनाइ राख्नुभयो । नेपाल ललितकला प्रज्ञा–प्रष्ठिानकी प्राज्ञ तथा चित्रकला विभागका प्रमुख सुषमा राजभण्डारीले विभागले १० दिनसम्म निरन्तर वरिष्ठदेखि युवा कलाकार एकै थलोमा बसेर काम गरेको परिणाम स्वरुप भएको र कार्यशालामा बनेका कृतिहरुको प्रदर्शनी गर्ने र चाँडै नै दस्तावेजका रुपमा रहने गरी बृहत् गोष्ठीको आयोजना गर्ने बताउनुभयो ।

कलाको जुनसुकै विधामा लागे पनि जस्तोसुकै अवरोधको सामना गर्न हामी कलाकारहरु एकत्रित हुन समेत आह्वान गर्नुभयो । उहाँले कार्यशालामा भाग लिने तथा चित्रकला विभागलाई साथ दिने सबैलाई धन्यवाद दिनुभयो । नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानका कुलपति केके कर्माचार्यले यो विधालाई माथि लैजान प्रतिष्ठानले सक्दो सहयोग गर्ने बाचा गर्नुभयो र सहभागी कलाकारलाई प्रमाणपत्र वितरण गर्नुभयो ।