प्रज्ञा–प्रतिष्ठानहरूले पृथ्वी जयन्ती मनाउने !

0
Shares

काठमाडौँ, (नेस) ।

पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस मनाइने भएको छ । नेपाल प्रज्ञा–प्रतिष्ठान, नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठान, नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान र सांस्कृतिक संस्थानले संयुक्त रूपमा विभिन्न कार्यक्रम गरी पुस २५ देखि २७ गते तीन दिनसम्म २९८औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस मनाउने भएका हुन् ।

संयुक्त मूल तयारी समितिका संयोजक नेपाल प्रज्ञा–प्रतिष्ठानका निमित्त कुलपति एवम् उपकुलपति डा. जगमान गुरुङको अध्यक्षतामा बसेको समितिको बैठकमा नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानका उपकुलपति गोपाल चित्रकार, नेपाल प्रज्ञा–प्रतिष्ठानका सदस्य सचिव प्रा. जगत्प्रसाद उपाध्याय, नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानका सदस्य सचिव श्यामप्रकाश तमोट, नेपाल प्रज्ञा–प्रतिष्ठानका प्राज्ञ परिषद् सदस्यहरू प्रा. दिनशेराज पन्त, प्रा.डा. उषा ठाकुर, लक्ष्मी माली, सांस्कृतिक संस्थानका निमित्त महाप्रवन्धक प्रभाकरदेव शर्मा, नेपाल प्रज्ञा–प्रतिष्ठानका प्राज्ञ सभा सदस्य एवम् सञ्चार संयोजक शशी लुमुम्बू, प्रशासन प्रमुख सुमन अधिकारी र योजना तथा कार्यक्रम महाशाखा प्रमुख लक्ष्मी गौतमको उपस्थिति रहेको थियो ।

बैठकले विभिन्न कार्यक्रमको आयोजना गरी तीन दिनसम्म भव्यताका साथ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस मनाउने निर्णय गरेको छ । नेपाल प्रज्ञा–प्रतिष्ठानका सदस्य सचिव प्रा. उपाध्यायका अनुसार पुस २५ गते प्रज्ञा–प्रतिष्ठानको पुस्तकालय सभा हलमा ‘पृथ्वीनारायण शाह र अन्तरहिमाली भू–राजनीति’ विषयक विचार गोष्ठी आयोजना हुनेछ ।

उक्त गोष्ठी नेपाल प्रज्ञा–प्रतिष्ठानले आयोजना गर्नेछ । २६ गते नक्सालमा कला प्रदर्शनी हुनेछ । ललितकला प्रज्ञा–प्रतिष्ठानले आयोजना गर्ने उक्त कला प्रदर्शनीमा विभिन्न कलाकारका कला प्रदर्शनी कार्यक्रम रहेको छ ।यसै गरी पुस २७ गते बिहान १० बजेदेखि नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरीका ब्यान्ड बाजा, पञ्चेबाजा र बग्गीसहितको टोली र सांस्कृतिक संस्थानको संयोजनमा संयुक्त विभिन्न जातजातिका सांस्कृतिक झाँकीसहितको शोभा यात्रा सिंहदरबार पश्चिममा रहेको पृथ्वीनारायण शाहको सालिकमा पुग्नेछ ।

सालिकमा राष्ट्रपति विद्यादेवी भण्डारीले माल्यर्पण गर्ने कार्यक्रम रहेको छ । त्यसपश्चात् शोभा यात्रा प्रज्ञा भवन पुगी सभामा परिणत हुने, सोही अपरान्ह सङ्गीत–नाट्य प्रज्ञा–प्रतिष्ठानले प्रज्ञा भवनमा ‘सारङ्गीमा देश’ शीर्षकमा वाद्यवादन धुन प्रस्तुत गर्नेछन् भने सोही साँझ सांस्कृतिक संस्थानद्वारा नाचघरमा ‘सांस्कृतिक उत्सव’ आयोजना गरिने कार्यक्रममा जानकारी दिइएको थियो ।