एक्सेल्सियरलाई दोहोरो उपाधि

0
Shares

नेपाल समाचारपत्र, काठमाडौं ।
आयोजक द एक्सेल्सियर स्कुलले आठौं एक्सेल्सियर कपअन्तर्गत फुटबलमा शुक्रबार दोहोरो उपाधि जितेको छ । एक्सेल्सियर ब्वाइज र गल्र्सको यु–१६ उमेरसमूहमा पहिलो भएको हो । यु–१२ ब्वाइजमा भने फाइनल पुगे पनि एक्सेल्सियर चुक्यो । स्वयम्भूस्थित घरेलु मैदानमा भएको यु–१६ ब्वाइज फाइनलमा एक्सेल्सियरले महामञ्जुश्रीलाई १–० गोलले पराजित गर्यो । धीरज जोशीले निर्णायक गोल गरे ।

यु–१६ गल्र्सको उपाधि भिडन्तमा एक्सेल्सियरले ग्यालेक्सीलाई १–० गोलले नै हरायो । एफ्रोजा श्रेष्ठले निर्णायक गोल गरेकी थिइन् । यु–१२ ब्वाइज फाइनलमा किड्स लर्निङले एक्सेल्सियरलाई ५–० गोलअन्तरले पाखा लगायो । किड्स लर्निङका कुलदेव तितुङले ह्याट्रिक तथा युकेश नेगीले २ गोल गरे ।

यस्तै बास्केटबलतर्फ सिनियर ब्वाइजमा रेडिअन्ट, सिनियर गल्र्समा स्वर्णिम र जुनियर ब्वाइजमा सेब च्याम्पियन बनेका छन् । सिनियर ब्वाइज फाइनलमा रेडिअन्टले न्यु जेनिथलाई ६१–५० ले पाखा लगाउदै उपाधि रक्षा गर्यो । रेडिअन्टका उपेन्द्र बस्नेतले २९ अंक जोडे ।

सिनियर गल्र्समा स्वर्णिमले सिद्धार्थ बनस्थलीलाई ३६–१८ ले पन्छ्याउदै पहिलो भयो । स्वर्णिमकी मोहिनी लोप्चनले २० स्कोर गरिन् । सेब र महामञ्जुश्रीबीचको जुनियर ब्वाइज उपाधि भिडन्तमा सेब २६–१९ ले विजयी भयो । सेबका कुमार तामाङले ९ अंक जोडे ।