राज्यको स्रोत बितरणमा पक्षपात गर्नु हुँदैनः अध्यक्ष तिमिल्सिना


न्युज अफ नेपाल, पर्वत ।

राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले राज्यको साधन स्रोतको बितरणमा राजनैतिक आधारमा पक्षपात गर्न नहुने कुरामा जोड दिनुभएको छ ।
पर्वतको मोदी गाउँपालिका वडा नं. १ भुकताङ्ले स्थित नवज्योति थम माविको बिद्यालय भवनको उद्घाटन गर्दै अध्यक्ष तिमिल्सिनाले राज्यको स्रोत साधनमा सबै नागरिकको बराबर हक हुने भएकाले बितरणमा पक्षपात गर्न हुँदैन भन्नुभएको हो ।

निर्वाचनमा आफुँलाई मत दिएको वा आफ्नो भूगोल भनेर मात्रै स्रोत साधन बितरण गर्न हुँदैन’ उहाँले भन्नुभयो ‘मत नदिने जनता पनि राज्यको स्रोत साधनको समान हकदार हुन्छन’ उहाँले आफुँले बिकास निर्माणका कामका लागि पहल र समन्वय गर्दा कसैलाई बिभेद नगर्ने प्रतिबद्धता पनि जनाउनुभो ।
उहाँले अब राजनीतिक रुपमा प्रतिस्पर्धा नगरी विकास निर्माणमा प्रतिस्पर्धा गर्नुपर्नेमा जोड दिनुभयो ।

उहाँले विकास निर्माणमा राजनीति नगर्न आग्रह पनि गर्नुभयो । उहाँले राजनीतिक प्रतिस्पर्धा निर्वाचनका बेला मात्र हुने भन्दै अन्य समयमा आ–आफ्नो ठाउँका गुणस्तरीय विकास गर्न आग्रह गर्नुभयो ।

अध्यक्ष तिमिल्सिनाले कुनैपनि जनप्रतिनिधिले आफ्नो सेवामा विभेद गर्न नहुने बताउनुभयो । संविधान निर्माण पछि तीनै तहमा सरकारहरु बनेको बताउँदै तिमिल्सिनाले यस्तो अवस्थामा कुनैपनि ठाउँ र कोही पनि नागरिक राज्यको सेवावाट बञ्चित हुन नहुने बताउनुभयो । उहाँले तीनै तहको समन्वयमा शिक्षा, स्वास्थ्य, सडक, खानेपानी, सिंचाईका पूर्वाधार बन्नुपर्ने बताउँदै अब नागरिकहरु राज्यको सेवा सुविधाबाट बञ्चित भए भन्ने अवस्था आउन नदिन सचेत हुनुपर्ने बताउनुभयो ।

बहुमत प्राप्त अहिलेको सरकार मुलुक र नागरिक प्रति सचेत रहेको बताउँदै अध्यक्ष तिमिल्सिनाले अब नागरिकहरु मतदान गरेको दलले विकास निर्माण गरेन कि भनेर पछुताउनु पर्ने अवस्था नआउने बतानउनुभयो ।
कार्यक्रममा गण्डकी प्रदेश सभा सदस्य ललितकला गुरुङले सामुदायिक विद्यालयहरुको गुणस्तर सुधारमा सवै तहको ध्यान जानु उत्तिकै आवश्यक रहेको बताउनुभयो । कार्यक्रममा जिल्ला समन्वय समितिका अध्यक्ष मनोहर बी पौडेल, मोदी गाउँपालिका अध्यक्ष प्रेम पौडेल, उपप्रमुख सेती महत लगायतले बोल्नुभएको थियो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष टुलक अधिकारीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको स्वागत विद्यालयका प्रअ मिन कुमारी गुरुङ, र संचालन शिक्षक जगत मल्लले गर्नुभएको थियो । बिद्यालयको भवन राष्ट्रिय पुननिर्माण प्राधिकरणको ७० लाख रुपैंयाको लागतमा निर्माण सम्पन्न भएको थियो ।