पर्यटन प्रवद्र्धनमा प्रदेश सरकार, कुलेखानीमा प्याराग्लाइडिङ, इन्द्रसरोवरमा स्तम्भ

0
Shares

न्युज अफ नेपाल, हेटौंडा ।

नेपाल सरकार (मन्त्रिपरिषद्) को २०७४ साउन २९ को निर्णयानुसार नेपाल भ्रमण वर्ष २०२० मनाउने घोषणा भएको थियो । आर्थिक वर्ष २०७५/०७६ को नेपाल सरकारको नीति तथा कार्यक्रमको उक्त भ्रमण वर्षमा बीस लाख पर्यटक भित्र्याउने गरी विशेष कार्यक्रमका रुपमा यसलाई अवलम्बन गरेको छ ।

नेपाल भ्रमण वर्ष २०२० अभियानलाई प्रभावकारीरुपमा अगाडि बढाएर सन् २०२० मा बीस लाख पर्यटक भित्र्याउन प्रदेश–३ सरकारले योजना तर्जुमा गरी कार्यान्वयन अगाडि बढाउन अवधारणा तयार गरेको छ ।

प्रदेश सरकारले दामन–कुलेखानी क्षेत्र तथा यस आसपासका क्षेत्रको विकास तथा विस्तार, सैलुङ क्षेत्र तथा यसको आसपास क्षेत्रको विकास, गोञ्जलापास सञ्चालन, १० वटा हिल स्टेशन विकास कार्यक्रम, जुगल हिमाल आरोहण तथा हिमाली पदमार्ग सञ्चालनलाई प्राथमिकतामा राखी कार्यक्रम तर्जुमा गरी कार्यान्वयन गरिरहेको छ ।

प्रदेशमा विश्वसम्पदा सूचीमा सूचीकृत विश्वभर ६ सय ३० वटा सम्पदामध्ये नेपालमा १० वटा सम्पदा छन् । नेपालमा भएका १० वटा सम्पदामध्ये ८ वटा सम्पदा यस प्रदेशमा पर्दछन् ।

साहसिक पर्यटनमा त्रिशुली, सुनकोशी र भोटेकोशी नदीमा र्‍याफ्टिङ, भोटेकोशी र त्रिशुली नदीमा कायाकिङ, चितवनको जलवीरे, काठमाडौंको सुन्दरीजल, ककनी, भुलकुती, सुनकोशी र भोटेकोशीमा क्यान्योनिङ, चितवन राष्ट्रिय निकुञ्ज र शिवपुरी राष्ट्रिय निकुञ्जमा जंगल सफारी, भोटेकोशीमा बञ्जीजम्पिङ, काठमाडौं र नगरकोट क्षेत्रमा माउन्टेनबाइक टुर्स, लाङ्टाङ, गणेश हिमाल तथा रोल्वालिङ क्षेत्रमा पर्वतारोहण र नगरकोट, लाकुरीभञ्ज्याङ, शिवपुरी, हेटांैडा र धुलिखेल, दामन तथा चित्लाङ क्षेत्र प्याराग्लाडिङका निम्ति उपयुक्त क्षेत्रहरु यस प्रदेशमा छन् ।

लाङ्टाङ उपत्यका पदमार्ग, लाङ्टाङ गोसाइँकुण्ड पदमार्ग, कालीञ्चोक पदमार्ग, लाङ्टाङ–हेलम्बु पदमार्ग, गणेश हिमाल पदमार्ग, नगरकोट हेलम्बु–उपत्यका पदमार्ग, काठमाडौं भ्याली पदमार्ग (तारकेश्वर महादेव, मुलखर्क, चिसापानी, नगरकोट, धुलिखेल र नमोबुद्ध), लाङ्टाङ जुगल हिमाल पदमार्ग जस्ता मनोरम लामा छोटा पदमार्गहरु छन् ।

प्रदेश–३ नेपालको सबभन्दा बढी पर्यटकीय सुबिधा भएको प्रदेश हो । आव २०७४/०७५ को प्रदेशगत् तथ्यांक हेर्दा काठमाडौंमा २३ हजार ५ सय ३८ बेडसहित ६ सय ८ होटल, चितवनमा ११ हजार ४ सय ८० बेडसहित ४ सय १० होटल, मकवानपुरमा २ हजार ५ सय बेडसहित ८९ होटल र काभ्रेमा ७ सय २ कोठासहितका २५ होटल छन् ।

काठमाडौंमा ४ सय १२ कोठासहित १ सय १२ होमस्टे दर्ता भएका छन् भने काभ्रेमा १ सय ३७ कोठासहित ५४ होमस्टे र रामेछापमा १ सय १६ कोठासहित ३१ होमस्टे छन् । ललितपुर, नुवाकोट, चितवन र धादिङमा पनि होमस्टे सञ्चालनमा छन् ।

प्रदेश सरकारले एक अर्ब भन्दा बढी रकम विनियोजन गरी पर्यटन विकास आयोजनामार्फत् कार्यान्वयन गरिरहेको छ । प्रदेश सरकारले प्रदेशको पर्यटकीय ब्राण्ड नाम तथा लोगो तयारीको क्रममा छ ।

मुढे, जिरी, सोम्दाङ, रुविभ्याली, दामन–चित्लाङ–कुलेखानी कम्प्लेक्स, हेलम्बु–पाँचपोखरी, ललितपुरको कालेश्वर, रामेछापको शिवालय, सिन्धुलीगढी–खुर्कोट, चिम्टेश्वर र ककनी गरी १० स्थानलाई हिल स्टेशन घोषणा गरी ती क्षेत्रमा भौतिक पूर्वाधार निर्माण गर्ने गरी कार्यक्रम अगाडि बढाइएको छ । १८ वटा नयाँ भ्युटावर निर्माण गरिनेछ ।

१४ वटा पार्क, १३ वटा कोसेली घर, २६ वटा होमस्टे विकास, १४ वटा पदमार्ग स्तरोन्नति, होमस्टे विकासका लागि हस्पिटालिटी व्यबस्थापन तालिम, नेचरगाइड तथा भरियाको बिमा कार्यक्रम सञ्चालन हुँदैछन् ।

कम्युनिटी लज, जोखिम पदमार्गमा विश्रामघर, पदमार्गमा सोलार जडान, खानेपानीको सुबिधा विकास तथा विस्तार गरिने कार्यक्रम कार्यान्वयन भएको छ । गौरीशंकर हिमाली पदयात्रा, गणेश हिमाल, जुगल, शैलुङ विकास कार्यक्रम, गोञ्जलापासलाई खुला गरी लाङ्टाङ–गोसाइँकुण्ड तथा तातोपानी र गौरीशंकर–रोल्वालिङसँग लिंक गरी पर्यटकीय पदमार्गको विकास गरिनेछ । चितवन राष्ट्रिय निकुञ्जमा सफारीमार्ग, ५ वटा पुल, मचान निर्माण गरिनुका साथै शिवपुरी राष्ट्रिय निकुञ्जमा मचान, होमस्टे तथा पदमार्ग विकासका कार्यहरुको थालनी गरिएको छ ।

प्रदेशका उद्योग, पर्यटन, बन तथा वातावरण मन्त्री अरुण नेपालले पर्यटकीय क्षेत्रको प्रचार प्रसारसँगै चालु आर्थिक वर्ष ३ वटा हिल स्टेशन निर्माण गरिने र अन्य ४ हिल स्टेशन निर्माण गर्ने तयारी रहेको जानकारी दिनुभयो ।

जनवरी पहिलो दिन मकवानपुरको इन्द्रसरोवरमा स्तम्भ निर्माण सुरु तथा काभ्रेमा शिलान्यास कार्यक्रम रहने छ । प्रदेश सरकारले कुलेखानीमा प्याराग्लाइडिङ डिसेम्बर ३१ मा राखेको जनाइएको छ । जनवरी पहिलो दिन विमानमार्फत् चितवन जाने पहिलो उडानका २० जनालाई प्रदेश सरकारले निःशुल्क जंगल तथा हात्ती सफारीलगायत सेवा दिने कार्यक्रम मन्त्रालयले सार्वजनिक गरेको छ ।

मन्त्रालयले १३ वटा पर्यटनग्राम निर्माण गर्ने, १० वटा पर्यटकीय गन्तव्यका रुपमा काम गर्ने तयारी गरेको छ । पर्यटन प्रवद्र्धनको काम तल्लो स्तरसम्म गर्दै लग्ने तयारी गरिएको मन्त्री नेपालले बताउनुभयो । मन्त्रालयले पत्रकार सम्मेलन गर्दै भ्रमण वर्षका अवसरमा गरिने एक दर्जन कार्यक्रमको तालिका सार्वजनिक गरेको छ ।

अंग्रेजी नयाँ वर्ष सुरु भएकै दिनमा काठमाडौंको ठमेल र चितवनको सौराहामा भव्य कार्यक्रम गरिने मन्त्री नेपालले बताउनुभयो । आगामी एक दशक पर्यटन पूर्वाधार निर्माणमा लागिने प्रदेश सरकारले जनाएको छ ।

प्रदेशका विदेशी नाका, विमानस्थलबाट प्रवेश गर्ने पर्यटकलाई स्वागत गर्ने, प्रदेशका प्रमुख पर्यटकीय गन्तव्यका रुपमा रहेको चितवनमा हात्ती वाक् तथा हात्ती सुन्दरी प्रतियोगिता, काठमाडौंको ठमेलमा साँस्कृतिक कार्यक्रमसहित १३ जिल्लामा नै विभिन्न कार्यक्रम गरिने छन् ।
पर्यटकीयस्थल र पर्यटकीय सम्भावना रहेको मकवानपुरमा पनि भ्रमण वर्षमा गरिने लक्षित कार्यक्रम सार्वजनिक गरिएको छ । जिल्ला समन्वय समिति मकवानपुरले पनि पत्रकार सम्मेलन गर्दै कार्यक्रम सार्वजनिक गरेको हो ।

समिति प्रमुख रघुनाथ खुलालले सरकारले सन् २०२० लाई भ्रमण वर्षका रुपमा मनाउने घोषणा गरेअनुरुप मकवानपुरमा हुने कार्यक्रमबारे जानकारी दिनुभएको हो । उहाँले भ्रमण वर्ष सफल बनाउन र मकवानपुरका पर्यटकीयस्थल थप प्रचारप्रचार गर्न विभिन्न कार्यक्रम गरिएको बताउनुभयो ।

भ्रमण वर्षमा मकवानपुरमा हुने कार्यक्रममा जिससले मकवानपुरमा रहेका अधिकांश पर्यटकीयस्थलको चित्रसहित ब्रोसर प्रकाशन गर्ने, जिससले बुद्धचोक, शहीद स्मारकमा होर्डिङबोर्ड राख्ने, मनहरी गाउँपालिकाले लोथरमा, थाहानगरले टिस्टुङमा, इन्द्रसरोवरले हुमाने र बागमती गाउँपालिकाले झुरझुरेमा होर्डिङबोर्ड राख्ने जनाइएको छ । माघ १० गते मकवानपुरगढीमा विजयोत्सव मनाइने खुलालले जानकारी दिनुभयो ।