एक्सेल्सियरको तीनै टोली फाइनलमा

0
Shares

नेपाल समाचारपत्र, काठमाडौं।
आयोजक द एक्सेल्सियर स्कुलको तीनै टोली आठौं एक्सेल्सियर कपअन्तर्गत फुटबलमा बिहीबार फाइनलमा प्रवेश गरेका छन्।यु–१६ ब्वाइजमा एक्सेल्सियरले बृहस्पति विद्या सदनलाई ६–० को फराकिलो गोलअन्तरले पराजित गर्यो। एक्सेल्सियरका साकार उप्रेतीले ह्याट्रिक गरे भने धीरज जोशीले २ तथा मानव केसीले १ गोल थपे।

फाइनलमा एक्सेल्सियरको भेट महामञ्जुश्रीसँग हुने छ। अर्को सेमिफाइनलमा महामञ्जुश्रीले ग्रिनफिल्डलाई टाइब्रेकरमा २–१ गोलले हराएको थियो।त्यस्तै यु–१६ गल्र्समा एक्सेल्सियरले काष्ठमण्डपलाई टाइब्रेकरमा ३–२ गोलले पाखा लगायो।

निर्धारित समय २–२ को बराबरीमा सकिएको थियो। उपाधिका लागि एक्सेल्सियरले ग्यालेक्सी विरुद्ध खेल्ने छ। सेमिफाइनलमा ग्यालेक्सीले प्याराडाइस रिडर्स एकेडेमीलाई २–० गोलले हरायो। ग्यालेक्सीकी सरु श्रेष्ठले दुवै गोल गरिन्।

यु–१२ ब्वाइज सेमिफाइनलमा एक्सेल्सियरले ग्रिनफिल्डलाई ४–० गोलले हराउदै किड्स लर्निङसँग उपाधि भिडन्त पक्का गर्यो। विजेताका जोएल लामाले ३ तथा श्रीदीप अधिकारीले १ गोल गरे। किड्स लर्निङले पुष्पसदनमाथि ८–० को सहज जित दर्ता गर्यो। विजयी टिमका लागि पेम्बा तामाङ र कुलदेव तितुङले ह्याट्रिक गरेका थिए।

बास्केटबलको सिनियर गल्र्समा स्वर्णिम र सिद्धार्थ बनस्थली उपाधिका लागि भिड्ने भएका छन्। स्वर्णिमले एलआरआईलाई ३३–२८ तथा सिद्धार्थ बनस्थलीले द चाँदबागलाई २१–१८ ले निराश पारे। स्वर्णिमकी मोहिनी लोप्चनले १७ तथा सिद्धार्थ बनस्थलीकी यशोश्री गुप्ताले ९ स्कोर गरे।

त्यस्तै जुनियर ब्वाइजमा महामञ्जुश्रीले डिफेन्डिङ च्याम्पियन रेडिअन्टलाई २३–१९ तथा सिनियर ब्वाइजमा रेडिअन्टले महामञ्जुश्रीलाई ६७–६३ ले पराजित गर्दै फाइनलमा स्थान सुरक्षित गरे। रेडिअन्टका उपेन्द्र बस्नेतले २३ अंक जोडे।