नेपाल समाचारपत्र, काठमाडौं।
शिवराम श्रेष्ठले सूर्य नेपाल सेन्ट्रल ओपन गल्फ प्रतियोगिता जितेर करियरको ४५औं उपाधि जितेका छन्।बिहीबार गोकर्ण गल्फ क्लबमा भएको अन्तिम चरणको खेलमा शिवरामले ४ अन्डरमा खुम्च्याएर ६८ अंक बनाएर उपाधि जितेका हुन्।
उनले कूल ७२ होलमा १४ अन्डर खेल्दै २ सय ७४ अंक जोडेका हुन्। साथै उनले दोस्रो स्थानमा रहेका सुक्रबहादुर राईमाथि १४ स्ट्रोकको फराकिलो अग्रतासमेत लिएका थिए। उनले अघिल्लो दिनमै ८ स्ट्रोकको अग्रता बनाएर उपाधि जित्ने पक्का गरिसकेका थिए। यस्तै एमेच्योरबाट पहिलो पटक प्रोफेशनल गल्फ खेलेकासुक्रले कूल १ ओभर खेल्दै २ सय ८९ अंक जोडेका थिए।
सूर्य नेपाल गल्फ टूर २०१९–२० सिजन अन्तर्गत्को पहिलो इभेन्टमा रवि खड्काले तेस्रो स्थान हात पारे। उनले ३ ओभर बढी खेल्दै २ सय ९१ अंक जोडेका थिए। योसँगैं विजेता शिवरामले १ लाख २५ हजार नगद पुरस्कार प्राप्त गरे।
त्यस्तै सुक्रले ८० हजार र रविले ५८ हजार नगद हासिल गरेका थिए। तर नेपालका नम्बर एक गल्फर भुवन नगरकोटीले पाँचौं स्थानमै चित्त बुझाउनु परेकोे थियो।पूर्व नम्बर एक गल्फर शिवरामले ८ स्ट्रोक अग्रताका साथ चौथो तथा अन्तिम चरणको खेल शुरु गरेका थिए।
उनले पहिलो नौ होलमा ३ अन्डर खेल्दै ३३ अंक जोडे भने पछिको नौ होलमा १ अन्डरमा ३५ अंक बनाएका थिए। उनले पहिलो नौ होलमा ३ बर्डी खेलेर उत्कृष्ट शुरुवात गरेका थिए।
छैटो होलमा थप बर्डी खेले भने आठौं होलमा उनी बोगीको सामना गर्न पुगेका थिए। त्यसपछि उनले ११औं, १२औं र १७औं होलमा बर्डी खेल्दा १४औं र १५औं होलमा बोगी आत्मसात गरेका थिए।
यसैगरी एमेच्योरतर्फ गत मंसीरमा सम्पन्न १३औं दक्षिण एसियाली खेलकुदमा दोहोरो स्वर्ण पदक जितेका सुवास तामाङले उपाधि जितेका छन्। उनले कूल १४ ओभर खेल्दै ३ सय २ अंक जोडेका थिए। रितेश तामाङ २ स्ट्रोकले पछि पर्दै दोस्रो स्थानमा रहेका थिए।
पुरस्कार रकम
शिवराम श्रेष्ठ १ लाख २५ हजार
रवि खड्का ५८ हजार
धनबहादुर थापा ४७ हजार
भुवन नगरकोटी ४० हजार
रामे मगर ३६ हजार
दीपक थापामगर ३३ हजार
सञ्जय लामा ३० हजार
टंकबहादुर कार्की २६ हजार १ सय ६७
बिपिन तामाङ २६ हजार १ सय ६७
जयराम श्रेष्ठ २६ हजार १ सय ६७
प्रतिक्रिया