मनाङको शतप्रतिशत नतिजा

0
Shares

नेपाल समाचारपत्र, काठमाडौं।

डिफेन्डिङ च्याम्पियन मनाङ मस्र्याङ्दी क्लबले जारी शहीद स्मारक ‘ए’ डिभिजन लिगमा तेस्रो चरण समाप्त हुँदादासम्म शतप्रतिशत नतिजा निकालेको छ। बिहीबार भएको खेलमा मनाङले ब्रिगेड ब्वाइज क्लबलाई १–० ले हराएर लगातार तेस्रो जीत हात पारेको हो।
योसँगै मनाङ ९ अंकसहित शीर्ष स्थानमा पुनः फर्कियो भने मछिन्द्र दोस्रो स्थानमा झरेको छ। मछिन्द्रले अघिल्लो दिन जीत हासिल गरेर ६ अंकसहित शीर्ष स्थानमा उक्लिएको थियो।
एन्फा कम्प्लेक्समा भएको खेलमा मनाङलाई जीत दिलाउन जगजीत श्रेष्ठले निर्णायक गोल गरेका थिए। खेलको २५औं मिनेटमा भएको गोल नै मनाङलाई जीत दिलाउन पर्याप्त भयो।

तर यो जीतसँगैं टोलीले एक खेलाडीलाई पनि गुमाएको छ। ७३औं मिनेटमा विपक्षका खेलाडी विजय गुरुङलाई गम्भीर फाउल गरेपछि एकराज बुढाथोकीले रातो कार्ड खानु परेका थिए।

मनाङले यस सिजनमा नाम चलेका खेलाडीविना नै लिग खेलिरहेको छ। यस सिजनमा विराज महर्जन, सुजल श्रेष्ठजस्ता शीर्ष खेलाडीले सो क्लब छाडेका छन्।उनीहरू हाल मछिन्द्र क्लबबाट खेलिरहेका छन्। यसको बावजुद मनाङले उपाधि रक्षा गर्नेतिर आफ्नो अभियानलाई अगाडि बढाएको छ।

त्यस्तै ब्रिगेडका कप्तान अनिल गुरुङ पनि पहिले मनाङबाटै खेलेका थिए। उनी गत सिजनमा थ्रीस्टार क्लबबाट खेलेका थिए। तर अहिले उनी आफ्नो पुरानै क्लब ब्रिगेड ब्वाइजमा पुगेका छन्। उनको टोलीले तीन खेलमा एक जीतमात्रै हात पारेको छ।
संकटा र जावलाखेलले अंक बाँडे

दशरथ रंगशालामा भएको खेलमा संकटा क्लब र जावलाखेल युथ क्लबले १–१ बराबरी खेलेका छन्। यो नतिजापछि दुुवै टोलीले १/१ अंक बाँडेका छन्।

योसँगैं समान तीन खेल खेलेका जावलाखेल र संकटाको क्रमशः ५ अंक र ४ अंक भएको छ। डाडी जुनियर बाम्बाले ७२औं मिनेटमा गोल गरेर संकटाको १–० को अग्रता अस्विकार गरिदिएका थिए।

यसअघि संकटाका लागि लक्ष्मण रुचालले ३६औं मिनेटमा करिब ३० यार्डबाट गरेको शसक्त प्रहारलाई गोलमा परिणत गरेका थिए।