घूसपैठ गरेकाहरु गैरबंगलादेशी भएमा भारत फर्काइने छ : बंगलादेश

0
Shares

ढाका, (एजेन्सी)।

बंगलादेशका विदेश मन्त्री एके अब्दुल मोमेनले विगतका हप्ताहरुमा अवैध तरिकाबाट बंगलादेश प्रवेश गरेकाहरुको जाँच हुने जानकारी दिएका छन्। यदि उनीहरु गैरबंगलादेशी भएको पुष्टी भएमा उनीहरुलाई भारत फिर्ता पठाइने उनले बताए।

भारतमा अवैध तरिकाले बसिरहेका बंगलादेशीहरुलाई उपयुक्त जाँचपछि देशमा फिर्ता गर्न आफू तयार रहेको पनि उनले बताए। यस विषयमा भारतलाई पनि जानकारी गराइसकेको छ।

बंगलादेश सीमा प्रहरीले भारतमा एनआरसी ल्याउने कुरा शूरु भएपछि ३ सयभन्दा धेरैलाई सीमामा घूसपैठ गरिरहेको बेला पक्राउ गरिएको जानकारी दिए। सोधपुछका क्रममा उनीहरु सबैले आफूलाई बंगलादेशी भएको बताइरहेका छन्।

यद्यपि उनीहरुसँग नागरिकता प्रमाणित गर्न योग्य कुनै दस्तावेज छैन। सीमा प्रहरीले अहिलेसम्म जति जनालाई गिरफ्तार गरेका छन्, त्योभन्दा कयौं गुणा बढी बंगलादेश घूसपैठ गरिसकेको स्थानीयले बताएका छन्।

मोमेनले गत हप्ता पनि भारतमा अवैध तरिकाले बसिरहेका बंगलादेशीलाई स्वेदश फर्कन अनुमति दिने बताएका थिए।

भारत र बंगलादेशबीच सम्बन्धमा धेरै मिठास रहेको र नेसनल रजिस्टर अफ सिटिजनसीप (एनआरसी)का कारण त्यसमा कुनै प्रभाव नपर्ने उनले बताए।

मोमेनका अनुसार भारतले पहिला नै एनआरसीलाई आन्तरिक मुद्दा भएको बताइसकेको छ। यस परिस्थितिमा बंगलादेशलाई यसबाट कुनै असर पर्ने छैन।
बंगलादेशकी प्रधानमन्त्री शेख हसिनाले यो मुद्दालाई न्युयोर्कमा प्रधानमन्त्री मोदीसँगको द्विपक्षीय बैठकमा पनि उठाएकी थिइन्।

मन्त्रीको भिसा रद्द

भारतको पश्चिम बंगालका जमियत उलेमा–ए–हिन्दका अध्यक्ष तथा पुस्तकालय मन्त्री सिद्दिकुल्ला चौधरीले बंगलादेशको सहायक उच्चायोगले बंगलादेश जाने उनको भिसा रद्द गरेको दाबी गरेका छन्।

केही निजी कार्यक्रमका लागि डिसेम्बर २६ देखि ३१ सम्म बंगलादेश जानुपरेको र त्यसका लागि डिसेम्बर १२ मा आवेदन दिएको उनले जानकारी दिए।

तर हाई कमिसनका तर्फबाट भिसा आवेदनलाई स्विकृति पनि दिएको छैन, आधिकारिक रूपमा रुद्द पनि गरेको छैन। उनीसँग राज्य र केन्द्र सरकारका तर्फबाट बंगलादेश जाने अुनमति छ। भिसा अनुमति नदिएको स्थितिमा उनले टिकट रद्द गर्नुपर्नेछ।

चौधरीले हालै मात्र नागरिकता संशोधन कानुन (सीएए) को मुद्दामा गृहमन्त्री अमित शाहलाई धम्की दिएका थिए। ‘यदि केन्द्र सरकारले सीएए फिर्ता गर्दैन भने हामी शाहलाई कोलकाता विमानस्थलबाट बाहिर जान दिनेछैनौं।

उनी जुन बेला यहाँ आउँछन्, हामी उनलाई रोक्न एक लाख नागरिकलाई विमानस्थलमा जम्मा गर्छौं,’ –चौधरीले भनेका थिए। सीएए वर्षाैंदेखि भारतमा बस्दै आइरहेका नागरिकविरद्ध भएको र मानवीय नभएको चौधरीले बताएका थिए।