चिनियाँलाई जापानमा मृत्युदण्ड

0
Shares

टोकियो, (एजेन्सी)।

एउटै परिवारका चारजना सदस्यको निर्मम हत्या गरेको अभियोगमा एकजना चिनियाँलाई जापानमा फाँसी दिइएको छ। जापानमा कुनै पनि विदेशी नागरिकलाई यसरी मृत्युदण्ड दिइएको दस वर्षपछि यो पहिलो पटक हो।

अन्य दुईजना मतियारको सहयोगमा वेइ वेइ नामक ती चिनियाँ पुरुषले सन् २००३ मा ती हत्या गरेका थिए। हत्यापछि चीनमा भागेका मध्ये एकजनालाई चीनमै सन् २००५ मा मृत्युदण्ड दिइएको थियो भने अर्का एकजनालाई आजीवन कारावास तोकिएको थियो।

जापानमा अहिले एक सय जनाभन्दा बढी कैदी मृत्युदण्डको पर्खाइमा बसेका छन्। गत वर्ष १५ जनालाई मृत्युदण्ड दिइएको थियो। तिनीहरुमध्ये १३ जना प्रतिबन्धित धार्मिक सम्प्रदाय अम सिन्रिक्योका सदस्य रहेका थिए।

सन् २००७ देखि मात्र जापानले मृत्युदण्ड दिइएका कैदीहरुको नाम सार्वजनिक गर्न शुरु गरेको हो। त्यसयता एकजना मात्र विदेशी अर्थात् चिनियाँ नागरिकलाई सन् २००९ मा मृत्युदण्ड दिइएको थियो।

जापानका न्याय मन्त्री मासाको मोरीले निकै सोच विचार गरेर वेइ वेइको मृत्युदण्डमा आफूले हस्ताक्षर गरेको बताएकी छिन्।मासाको मोरीले भनेकी छन्, ‘त्यो हत्याकाण्ड निकै मार्मिक रहेका छ।

आफ्नो निहीत स्वार्थसिद्धीका लागि खुसी र सुखी परिवारका आठ र एघार वर्षका बालबालिकालगायत सबैको निर्मम हत्या गरिएको थियो।

जापानको कानुनअनुसार मृत्युदण्ड पर्खेर बस्नेहरुलाई मृत्युदण्ड दिइने दिनमै मात्र त्यसको जानकारी दिइने प्रचलन रहेको छ।