बालबालिकाको ‘खाना र खाजा’ एकै पटक



नेपाल समाचापत्र, काभ्रे।

दुर्गम क्षेत्र महाभारत र खानीखोला गाउँपालिकामा अध्ययन गर्ने बालबालिकाका अनेकन समस्यामध्ये विद्यालय जाँदा र आउँदा भोकै बस्नु पर्ने प्रमुख समस्या बनेको छ।

बालबालिकाहरूले विद्यालय टाढाभएका कारण बिहान घरमा खाना खाएर गएपछि एकै पटक बेलुका खाना खाने गरेको पीडा सुनाएका छन्।

जनमोहन माध्यमिक विद्यालय महाभारत गाउँपालिका–६ सल्लेनी बनखुको कक्षा ६ मा अध्ययन गर्ने १२ वर्षीय लक्ष्मी बम्जनले विद्यालय पुग्न ३ घण्टा पैदल हिड्नु पर्छ। बिहान ७ बजे घरबाट निस्कँदा लक्ष्मी १० बजे विद्यालय पुग्न हम्मेहम्मे पर्छ। विद्यालय छुटेर घर पुग्दा ७ बजिसकेको हुन्छ।
घरमा खाना खाएर निस्किए पछि आक्कल झुक्कलबाहेक घरमै पुगेर मात्रै खाने गरेको लक्ष्मीले  बताउनुभयो। ७ बजे अगावै खाएर निस्किएको खानाकै भरमा झण्डै १३ घण्टा पछि लक्ष्मीले एकै पटक घर पुगेर खाने गर्नु भएको छ।

बालबालिकाका नैसर्गिक अधिकारका बारेमा अभिभावकहरू चिन्तित् नभएका पनि हैनन्। विद्यालय र स्थानीय सरकार गम्भिर नभएको पनि हैन तर भौगोलिक विकटता, पारिवारीक अवस्था र विद्यालयको भौतिक पूर्वाधार अभावका कारण महाभारत क्षेत्रका बालबालिकाहरू यस्तो समस्या भोग्न बाध्य छन्।

महाभारत गाउँपालिकाका अधिकाँश विद्यालयमा अध्ययन गर्न आउने बालबालिकाहरू दैनिक यस्तो समस्यासँग जुधिरहेका छन्।

‘बिहान उठेर घाँस काट्ने वा अरु कुनै काममा अभिभावकलाई सहयोग गरेर मात्रै विद्यालय आउने गरेका छौं, कक्षा ६ मा अध्ययन गर्ने भावना मोक्तानले भन्नुभयो–‘घर पुग्दा भोक र थकाईले लखतरान हुन्छौंै, एक छिन गृहकार्य गर्नै पर्यो, सुत्नु अगावै सकिएन भने बिहानको जिम्मेवारी पूरा गर्नै कठिन छ।’

कहिलेकाँही भोकले घर पुग्नै नसक्ने गरी गाह्रो हुने गरेको विद्यार्थी निर्मला घलानले बताउनुभयो। घरबाट सँधै खाजा ल्याउन सम्भव पनि नभएको र अभिभावकसँग पैसा माग्न आय श्रोत पनि नभएकाले बिहान घरमा खाना खाएर निस्किए पछि एकै पटक साँझ घरमा पुगेर मात्रै खाना खानु पर्ने बाध्यता रहेको उहाँहरूले बताउनुभयो।

विद्यालयमा छात्राबासको व्यवस्था छैन। भएका केही विद्यालयका छात्राबासमा विद्यार्थी बस्दैनन् बरु शिक्षक आफैं बस्ने गरेका छन्। भूकम्पपछि घरमा बस्न सक्ने अवस्था नरहेकाले शिक्षकहरू छात्राबासमा बस्ने गरेका हुन्।

गोकुल मावि, जनकल्याण माविलगायतका विद्यालयका छात्राबासमा शिक्षकहरू बस्ने गरेका छन्। विद्यार्थीहरू भने घण्टौं हिडेर विद्यालय आउँदा–जाँदा ‘ड्रप आउट’ को समस्या थपिएको छ।

सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुलप्रसाद बास्कोटाले नेपाल सरकारबाट सबै बालबालिकाहरूका लागि दिवा खाजाको व्यवस्था गरिएको बताउनुभयो।

जिल्ला बाल भेलालाई उद्घाटन गर्दै गर्भदेखि नै बालबालिकाहरूको संरक्षण गर्ने गरी सरकारले ल्याएका कार्यक्रमहरूलाई प्रभावकारी बनाउन विद्यालय तहमा बालबालिकालाई दिवा खाजाको व्यवस्था गरिएको बताउनुभयो।

प्राविमा कटौती अन्यमा थपियो

विकट क्षेत्र महाभारत र खानीखोला गाउँपालिकामा दरबन्दी थपिएको छ। दरबन्दी नभएकै कारण बालबालिकाको पठनपाठनमा समस्या भएको लामो समयपछि दरबन्दी मिलान हुन लागेको हो।

महाभारत गाउँपालिकामा १ सय ४५ जना शिक्षकको दरबन्दी थपिएको छ भने खानीखोलामा ९६ जना थप भएको छ। कक्षा ११ र १२ मा २ जना मात्रै दरबन्दी रहेको खानीखोलामा १३ देखाइएको छ।

एक जना थप भएको छ। महाभारत पछि १ सय १९ जना शिक्षक चौरी–देउराली गाउँपालिकामा थपभएका छन्। बेथान्चोक गाउँपालिकामा ७५, तेमाल गाउँपालिकामा ६०, नमोबुद्ध र पाँचखाल नगरपालिकामा २९÷२९ जना थप भएको छ।

धुलिखेल नगरपालिकामा ३२ वटा दरबन्दी थपभएको छ।रोशी गाउँपालिमा १७, बनेपामा १ वटा दरबन्दी थपभएको छ। पनौती नगरपालिकाबाट ३३ वटा दरबन्दी काटिएका छन् भने भुम्लु गाउँपालिकाबाट २ वटा काटिएका छन्।

मण्डनदेउपुर नगरपालिकामा ५५ जना प्रावि तहका कटौती भएर निमाविमा २३, कक्षा ९ र १० मा ३१, कक्षा ११ र १२ मा १ जना थपहुँदा बराबरी हुने भएको छ। जिल्लामा पहिलो मण्डन–देउपुर नगरपालिकाले दरबन्दी मिलान गरेको थियो। प्राथमिक तहमा रहेका ३ सय १७ वटा दरबन्दी जिल्लाबाट कटौतीमा परेका छन्।

निमावि र कक्षा ९ र १० दुवैमा ३ सय ५१ वटाका दरले दरबन्दी थपिएका छन् भने कक्षा ११ र १२ मा १ सय ७३ दरबन्दी थपिएका छन्। सबैै भन्दा धेरै धुलिखेल र पनौती नगरपालिका भित्र रहेका प्रावि तहका ८१/८१ वटा दरबन्दी कटौतीमा परेको छ।

बनेपा नगरपालिकाको ६४ वटा, मण्डनदेउपुरमा ५५, तेमालमा ८१, पाँचखालमा ३३, रोशीमा ११, भुम्लुमा २९, नमोबुद्धमा ८१ वटा दरबन्दी कटौती भएका छन्।

महाभारतमा सबै भन्दा धेरै प्रावि तहमै ६० वटा दरबन्दी थपिएका छन् भने खानीखोलामा ३२ वटा थपिएका छन्। चौरी–देउरालीमा २५ वटा, बेथान्चोकमा ८ वटा दरबन्दी प्रावि तहमा दरबन्दी कटौतीमा परेका छन्।

काभ्रेमा २ हजार ९२ प्राथमिक तह, निमाविमा ५ सय ७५, मावि तह कक्षा ९ र १० मा ४ सय ५३ र कक्षा ११ र १२ मा १ सय २५ जना शिक्षकहरू कार्यरत थिए।

 

प्रतिक्रिया दिनुहोस्