जनगणनाको महत्व र भूमिका


अहिले राष्ट्रिय जनगणनाको तयारी शुरू गरिएको छ। २०६८ सालपछि १० वर्षको अन्तरालमा हुन लागेको जनगणना स्वाभाविक हिसाबले महत्वपूर्ण छ नै।

अहिले संकलन गरिने तथ्यांकले भोलिको हाम्रो समाजको विकास, समृद्धि, परिवर्तनको मापन गर्न पनि भूमिका खेल्नेछ।

यसकारण पनि जनगणनामा सरोकारवालाकाबीच पर्याप्त तयारी, छलफल, चिन्तन मनन आवश्यक छ। विगतको जनगणनाका सन्दर्भमा केही गुनासो, आलोचना र विरोधाभाषहरू छन्।

जसका बारेमा अहिलेको जनगणना गर्नुपूर्व गम्भीर छलफल, प्रश्नावली, तयारीमा विशेष ध्यान दिनुपर्ने आवश्यकता देखिएको छ।

जनगणना अर्थात् यसरी संकलन गरिने तथ्यांकले हिजो के थियो, आज के भइरहेको छ र भोलि हाम्रो समाज र मुलुक कता जाँदै छ भन्ने प्रक्षेपण गर्नमा अभूतपूर्व भूमिका खेल्नेछ। तर विगतमा त्यस्तो तुलना गर्न सकिने गरी तथ्यांक नआएको विज्ञहरूको गुनासो छ।

अहिले जनगणना गर्दा हरविषय र क्षेत्रको तुलना गर्न सकिने गरी तथ्यांक संकलन र उत्पादनमा ध्यान दिनुपर्नेमा जोड छ। तथ्यांकलाई विरोधाभाषबाट मुक्त गराउने गरी काम गर्नुपर्ने चुनौती पनि तथ्यांक विभाग र कार्यालयहरूलाई छ।

जनगणना संकलन र सार्वजनिकपछि विषयगत प्रतिवेदन तयार गर्ने र त्यसले तथ्यमा आधारित नीति, निर्माण तथा विषयगतरूपमा पनि सहयोग पुग्ने अपेक्षा गरिएको छ । फेरि अहिले हामी नयाँ संघीय संरचनाको अभ्यासमा छौं। २०६८ ताकाका व्यवस्था, संरचनाहरूमा धेरै बदलाव आएको छ।

अहिले तथ्यांक संकलनमा पहिले प्रयोग गरिएका स्थानीय शिक्षकहरूलाई प्रयोग नगरिने तथ्यांक विभागले प्रस्ट पारिसकेको छ। यसका दुई उद्देश्य देखिन्छन्।

एउटा शिक्षक जागिरे भएकाले नयाँ व्यक्तिहरूलाई केही समय भए पनि रोजगार सिर्जना होस् भन्ने अन्तर्य देखिन्छ भने अर्को २०७८ वैशाखदेखि जनगणना शुरू गर्ने तयारी छ। वैशाखमै नयाँ शैक्षिक सत्र शुरू हुने र शिक्षकहरू भर्ना अभियानमा केन्द्रित हुने भएकाले अरू नै व्यक्तिको विकल्प खोजिएको छ।

यो राम्रो कुरा हो।मुख्य सवाल के हो भने, जनगणना समाजको सही तस्वीर देखाउने गरी ल्याउनुपर्छ। वर्तमान समाजमा जे संख्या र अवस्था छ, त्यो जस्ताको तस्तै देखिने गरी आउनुपर्छ।

नकि विभिन्न स्वार्थ समूहका कारण तथ्यांक मिथ्यांकको रूपमा कदापि आउनुहुँदैन। त्यसका लागि अहिलेदेखि नै के–कस्ता तयारी, सोच विचार, छलफल, परामर्श समन्वय हुनुपर्छ। सम्बन्धित निकायले त्यसको कुनै कसर बाँकी राख्नुहुँदैन।

१० वर्षपछि हुन लागेको जनगणनाले अबको १० वर्षपछिसम्मको योजना, अरू नीति निर्माणका कार्यको खाका बनाउनुपर्ने भएकाले त्यो समयसम्मको सोच, चिन्तन राखेर हरसरोकारवालाले काम गर्नुपर्छ।

यो काम खाली तथ्यांक विभाग या कार्यालयले मात्र गरेर सफल हुँदैन। जिल्लास्तरका सबै सरोकारवाला निकाय र स्वयम् नागरिक प्रत्यक्ष जोडिने भएकाले हरव्यक्तिले सही सूचना, जानकारी र तथ्यांक दिनु आवश्यक छ।

समाज र देशको भविष्य निर्देश गर्ने विषयमा सरोकारवाला निकायले पनि सही समन्वय र नेतृत्व गरोस्। हामी अरू सबै जिम्मेवार बनौं। यथेष्ट तयारी र समन्वय गरौं।

– शारदा अर्याल, गलकोट, स्याङ्जा।