पहिरोमा प्रतिपक्ष


के जति पनि गुट–उपगुट खोलेर आफ्नो मातृ पार्टीलाई असजिलो पार्नु लोकतान्त्रिक अभ्यासको उदाहरण हो ? प्रमुख प्रतिपक्षीका रूपमा नेपाली कांग्रेसले खेलेका भूमिकालाई लिएर उसले भन्ने गरेको छ– ‘हामी आदर्श प्रमुख प्रतिपक्ष कस्तो हुनुपर्छ, मानक तयार पार्न चाहन्छौं।’

नेपालको पुरानो राजनीतिक दल जसले विश्वेश्वरप्रसाद कोइराला, गणेशमान सिंह, कृष्णप्रसाद भट्टराईजस्ता व्यक्तिको नेतृत्व पायो, त्यस पार्टीमा आज जुन स्तरको गुट–उपगुटको विभाजन देखिएको छ, त्यसले उसको उज्ज्वल भविष्य देख्न चाहने आम नागरिकलाई निराश बनाएको छ।

अभिव्यक्ति स्वतन्त्रता र गुटमा रहने हक लोकतान्त्रिक दलले संवरण गर्नु स्वाभाविकै हो, तर यस स्तरको व्यवहारलाई लोकतान्त्रिक अभ्यास भन्ने कि अराजक र गैरजिम्मेवारीपूर्ण चिन्तन मान्ने ?

नेतैपिच्छे गुट सिर्जना गरिएकै कारण नेपाली कांग्रेस इतिहासकै सबैभन्दा कमजोर अवस्थामा पुगेको छ। आन्तरिक विवादले केन्द्रीय समिति बैठक मात्र हैन पार्टीको संरचनालाई पूर्णता दिने, भातृ संस्थाहरूलाई चलायमान बनाउने, १४औं महाधिवेशनको कार्यतालिका सार्वजनिक गर्नेजस्ता महत्वपूर्ण निर्णयहरू प्रभावित भएको छ।

पार्टीभित्र बृहत् एकता आवश्यक भएको बेला पार्टीको बृहत्तर हितविरुद्ध आफ्नो गुटलाई बलियो बनाउन शीर्ष नेताहरू गुटगत भेला तथा छलफललाई तीव्रता दिइरहेका छन्।

नेपाल विद्यार्थी संघ, नेपाल तरुण दललगायत पार्टीका अधिकांश प्रभावशाली भातृ संस्थाहरू लथालिंग भएकोमा कुनै चासो नदेखाउने तर गुटलाई नै च्यापेर बस्ने मानसिकता निरन्तर विकसित भइरहेको छ।

कांग्रेसभित्र रहेको सभापति शेरबहादुर देउवा पक्ष, वरिष्ठ नेता रामचन्द्र पौडेल पक्ष र नेता कृष्णप्रसाद सिटौला पक्ष एकजुट हुन नसक्नु नै प्रमुख समस्या बनेको छ।

गत निर्वाचनमा केन्द्र, प्रदेश र स्थानीय तीनै तहमा नराम्रो हार व्यहोरेको कांग्रेसलाई आगामी निर्वाचनसम्म बलियो बन्न सबैभन्दा पहिले पार्टीभित्र गुट–उपगुटको अन्त्य र प्रभावशाली नेताको उदय एकसाथ आवश्यक देखिन्छ।

पार्टीका सबै संरचना तथा भातृ संघ–संस्थालाई चलायमान बनाउनुपर्ने थियो। सम्पूर्ण शक्ति केन्द्रित गरेर समयमै महाधिवेशन सम्पन्न गर्नुपर्ने थियो। तर, प्रमुख प्रतिपक्ष दल कांग्रेसभित्रको आन्तरिक विवाद हेर्दा महाधिवेशन अझै डेढ वर्ष नहुने देखिन्छ।

आउँदो फागुनमा नियमित महाधिवेशन नहुने पक्का भएसँगै अब आफ्नो कार्यकाल एक वर्ष लम्ब्याउने कि डेढ वर्ष बनाउने भनेर पार्टी नेतृत्व लागिपरेको छ।

महाधिवेशनमा नेतृत्व हत्याउने दाउपेच र जोडघटाउका साथ शीर्ष नेताहरू पनि गुट–उपगुट सिर्जना गरी ‘बलियो’ हुन खोजिरहेका छन्।

कांग्रेसभित्र भाग लिने र दिने परम्पराको अन्त्य नभएसम्म कांग्रेस एकजुट भएर अघि बढ्ने अवस्था देखिँदैन। राष्ट्रिय राजनीतिको केन्द्रबिन्दुमा रहेर मुलुकको सबै ठूला परिवर्तनको नेतृत्व गर्दै आएको कांग्रेसले संसद्मा प्रतिपक्षको भूमिकासमेत प्रभावकारी ढंगले निभाउन नसकेको आरोप लागिरहेको छ।

आम जनतामा दिन–प्रतिदिन सरकारप्रति निरासा छाए पनि कांग्रेसप्रति आकर्षण थपिन सकेको छैन। प्रतिपक्ष दल कमजोर हैन, बलियो बनेमा मात्र लोकतन्त्र पनि बलियो बन्ने अवस्था आउँछ।

नेकाका नेताहरूले अनावश्यक गुट–उपगुटमा लाग्नु भनेको संघीय लोकतान्त्रिक गणतन्त्र र आम नागरिकको अधिकारप्रति नै आघात पुर्याउनु हो भन्ने यथार्थ बुझ्न आवश्यक छ।