सम्झनामा केशव भट्टराई

0
Shares

दयाराम दाहाल

राजा–रंक सबै समान उसका वैशम्य गर्दैन त्यो
आयो टप्प टिप्यो लग्यो मिति पुग्यो टारेर टर्दैन त्यो।

विधाताले रचेको विधिको विधानलाई कसैले टार्न नसक्ने रहेछ, आउने र जाने तिथि र मितिको पनि यो दुनियाँमा कसैलाई पत्तो नहुने रहेछ, कतिखेर यो धर्तीमा पदार्पण गराउने र कतिखेर धर्तीबाट पुनः नभमै विलीन गराउने यसको हिसाबकिताब र समय तालिका मान्छेको वशमा वा मान्छेको हातमा नहुने रहेछ।

हो यस्तै भयो गत मंसिर २९ गते राति १०ः२५ बजे। ओम हस्पिटलको त्यो इमरजेन्सी कक्षमा फिर्ता ल्याउन चाहने धेरै थियौं मनमा प्रार्थना गर्दै थियौं, लैजान चाहने त्यो भगवान् को थियो? कहाँ थियो?

पत्तो भएन तर त्यति धेरै हामी शुभचिन्तकलाई हराएर रुवाएर एक्लो उसले लिएर गयो सदा सदाका लागि चलचित्र विकास बोर्डका श्रद्धेय अध्यक्ष तथा तीन दशकभन्दा लामो चलचित्र क्षेत्रको यात्राका मेरा सहयात्री दाजु केशव भट्टराईलाई। आयो अनि टप्प टिप्यो लिएर गयो…।

हामी शब्दविहीन निःशब्द भयौं, आँसु टप्कियो आँखामा भावशून्य भएर।२०४५ सालमा एउटै चलचित्रबाट एकै दिन हामी दुई यो चलचित्र नगरीमा होमिएका थियौं।

एउटा सुन्दर भविष्यको सपनामा अति सुन्दर चलचित्र निर्माणमा अघि बढ्ने साझा उद्देश्यका साथ, तत्कालीन समयमा चलचित्र निर्माणको धिमा गति, २ वर्ष ३ वर्षमा एउटा चलचित्र निर्माण हुने वातावरणले हाम्रो सपनाले मूर्त रूप लेला वा नलेला भन्ने कुनै निश्चित वातावरण पाएको थिएन।

तैपनि हामी संघर्ष गरेरै भए पनि यही क्षेत्रमा टिकिरहने दृढ अठोटका साथ लागिरह्यौं, अगाडि बढिरह्यौं। संघर्षको त्यो दौरान हामीमा हातमुख जोड्नेदेखि अनेकौं समस्या भए तापनि हामीले हाम्रो यात्रालाई विस्तारै अगाडि बढाइरह्यौं।

जीविकोपार्जनका लागि कैले के कैले के काम गरे पनि हामीले चलचित्र क्षेत्रलाई माया मारेनौं, झन्–झन् जोस र हिम्मत बटुलेर अगाडि बढिरह्यौं। समय क्रममा जिउनका लागि उहाँले विद्युत् प्राधिकरणमा जागिर शुरू गर्नुभयो, जसले चलचित्र क्षेत्रमा संघर्ष गर्न उहाँलाई अलि सहज भयो।

जसको अप्रत्यक्ष फाइदा मलाई पनि पुगेको धुमिल सम्झना मेरो मानसपटमा अझै पनि ताजै छ। संघर्षको शृंखला चलिरह्यो, निरन्तर चलिरह्यो तर केशव दाइले हरेस खानुभएन, बरु कहिलेकाहीं म भड्किन खोज्दा उहाँले नै सम्झाएर, साथ र सहयोग दिएर यो क्षेत्रमा टिकिरहने अवस्था सिर्जना भयो।

२०४५ सालदेखि अनवरतरूपमा वरिष्ठ निर्देशक तुलसी घिमिरेका चलचित्रहरूमा उहाँले एउटा कलाकारका रूपमा र मैले जुनसुकै भूमिकामा रहेर पनि संघर्ष गरिनै रह्यौं।, उहाँको उद्देश्य थियो सबैभन्दा पहिला एउटा असल मानिस बन्ने।

सँगसँगै असल कलाकार बन्ने। त्यसपछि एउटा असल निर्माता बनेर नेपाली चलचित्र उद्योगमा असल चलचित्र निर्माण गर्ने। इतिहासमा गर्व गर्न लायक चलचित्र निर्माण गरेर नेपाली चलचत्रि उद्योगको जग मजबुत बनाउने एउटा असल र पवित्र उद्देश्य लिएर शुरू भएको उहाँको चलचित्र क्षेत्रको यात्रा निधन हुनुका पलसम्म कायमै थियो।

जिन्दगीको अन्तिम पलसम्म पनि चलचित्र उद्योगकै श्रीवृद्धीमा आफ्नो सम्पूर्ण जीवन समर्पण गर्ने आदरणीय श्रद्धेय अध्यक्ष तथा दाइ केशव भट्टराईको निधन भएको आज तेह्रौं दिन बित्दा पनि मन र मष्तिस्कले विश्वास गरिरहेको छैन।

पत्याइरहेको छैन तर पनि हामीमा अब त्यो शाश्वत सत्यलाई स्वीकार गर्नुभन्दा अर्को विकल्प बाँकी छैन। मनले माने पनि नमाने पनि उहाँको आत्माको चिर शान्तिका लागि श्रद्धाको फूल चढाउनुबाहेक अर्को बाटो छैन।

तुलसी घिमिरे दाइसँग अनवरत संघर्ष गरिरहेका हामीहरू विस्तारै त्यो समूहबाट अलग भएर चलचित्र निर्माण गर्ने चरणमा पुग्यौं। जब २०५२ सालमा मैले भरिया चलचित्र निर्देशन गरें, त्यसपछि पुनः हाम्रो सहयात्रा जोडियो।

असल चलचित्र निर्माण गर्ने नियतले शुरू भएको हाम्रो सहयात्राले दौंतरी, ठुल्दाइ जस्ता सफल चलचित्रहरू निर्माण गर्यो। त्यसपछि उहाँले स्वतन्त्ररूपमा आफ्नो मान्छे, पाहुना, देवरबाबु, भुली गए पाप लाग्ला, ब्रासलेट, कर्मयोद्धा, यात्रालगायत गर्व गर्नलायक र सम्झनलायक चलचित्रहरू निर्माण गर्नुभयो।

ठुल्दाइपछि चलचित्र निर्माणमा मेरो उहाँसँग कर्मयोद्धामा पुनः सहयात्रा शुरू भयो। निर्माणमा कहींकतै छुटे पनि हाम्रा हरेक चलचित्रमा उहाँको र मेरो बीचमा कुनै न कुनैरूपमा जोडिएर सहयात्राको चरण कायमै रहिरहेको थियो, जुन ३ दशकभन्दा लामो समयसम्म अनवरत चली नै रह्यो।

पछिल्लो समय मैले उहाँलाई चलचित्र उद्योगका बारेमा झनै चिन्तित र केही गर्नुपर्छ भन्ने उद्देश्यले अझै क्रियाशील भएको पाएको थिएँ। विधिको विधान भनौं वा समयको संयोग भनौं तीन दशकपछि हामी दुवै जना पुनः सहयात्रामा थियौं। तर, उद्देश्य भने संघर्षका दौरानको भन्दा पृथक र जटिल थियो।

चलचित्र क्षेत्रको नियमनकारी संस्था चलचित्र विकास बोर्डमा उहाँ अध्यक्ष र म सदस्यका रूपमा सँगै कार्यरत थियौं। चलचित्र उद्योगका यावत् समस्या, चलचित्रकर्मीका यावत् समस्यासँग चिरपरिचित हामी दुईको चलचित्र विकास बोर्डमा भएको आगमनले आम चलचित्रकर्मीमा एउटा नयाँ आशा पनि पलाएको थियो।

हामी बीचमा पनि हरेक दिन चलचित्र क्षेत्र र चलचित्रकर्मीका यावत् समस्याकै बारेमा छलफल हुने गर्दथ्यो र त्यसलाई कसरी व्यवस्थित र समाधान गर्ने भन्ने विषयमा नै परामर्श हुने गर्दथे।साँच्चै भन्ने हो भने अध्यक्षज्यू र म दत्तचित्त भएर यस क्षेत्रका समस्याको स्थायी निराकरणका लागि लागिरहेका थियौं।

उहाँमा चलचित्रकर्मीको अप्ठ्यारो र अन्धकार जीवन, बेरोजगारीका समस्या, औषधोपचारका समस्या, अनि पञ्चायती चलचित्र ऐनलाई विस्थापन गर्ने नयाँ चलचित्र ऐन निर्माण, चलचित्र विकास बोर्डको कार्यविधिलाई समयानुकूल बनाउने विषयमा भएका कामहरू, नेपाली चलचित्रको राष्ट्रिय पहिचान मजबुत बनाउने मुद्दा, मौलिक कथाहरूमा बन्ने चलचित्रलाई राज्यले गर्नुपर्ने सहयोग, बक्स अफिसको पारदर्शी तथा प्रभावकारी कार्यान्वयन, चलचित्रको विषयमा पढाइहुने विभिन्न आर्थिक क्याम्पसहरूको पाठ्यक्रमलाई आधुनिक र अन्तर्राष्ट्रियस्तरको बनाउने कुरामा स्पष्ट र क्रान्तिकारी भिजन थियो।

ती कार्यक्रमहरूलाई हामीले सहकार्य गरेर तीव्र गतिमा अगाडि बढाइरहेका थियौं। विस्तारै–विस्तारै ती कामको परिणाम आउने चरण शुरू हुँदै थियो। जसले नेपाली चलचित्र उद्योगलाई प्रत्यक्ष तथा अप्रत्यक्षरूपमा ठूलो प्रभाव पार्ने थियो अझ भनौं ठूलो फाइदा पुग्ने थियो।

तीन दशकपछिको अलग पाटोको पुनः सहयात्रामा हामी धेरै नै हौसिएर एउटा अलग्गै जोश र हिम्मत बटुली कार्यक्षेत्रमा अगाडि बढिरहेका थियौं।

चलचित्र क्षेत्र मर्यादित र अनुशासित हुनुपर्दछ। असल चलचित्र निर्माणकर्मीलाई प्रोत्साहन र सहयोग उपलब्ध गराउनु पर्दछ। इतिहासको सम्मान गरेर अभिलेखीकरण गरिनु गराउनुपर्दछ भनेर केशव दाइ र म दत्तचित्त भएर कार्यक्षेत्रमा निरन्तर खटिरहेको अवस्था थियो, जुन कामको प्रगति पनि सन्तोषजनकरूपमा नै अगाडि बढिरहेको थियो।

काठमाडौं उपत्यकाभित्र अत्याधुनिक चलचित्र छायांकन स्टुडियो निर्माणको कुरा होस् वा छायांकनका लागि नेपाल कार्यक्रमअन्तर्गत नेपालका छायांकन योग्यस्थलहरूको खोजी गर्ने त्यसको श्रव्यदृश्य निर्माण गर्ने कुरा होस् वा लोकेसन गाइड प्रकाशन गर्ने कार्य होस्, यी सबै कार्य एउटा चरण पार गिरेर अर्को चरणमा प्रवेश गरेको अवस्था थियो।

चलचित्र विकास बोर्डले प्रदान गर्ने चलचित्रकर्मी परिचयपत्रलाई सम्मानित र मर्यादित बनाउने कुरामा पनि हामी धेरै अगाडि बढिसकेका थियौं। अन्तर्राष्ट्रिय जगत्मा राष्ट्रिय चलचित्रले एउटा मजबुत पहिचान स्थापित गर्नुपर्छ भनेर हामी विश्वव्यापीरूपमा छलफल र संवादमा गरिरहेका थियौं।

साथै अन्तर्राष्ट्रियरूपमा प्रतिस्पर्धामा जान सक्ने हाम्रा मौलिक कथाहरूको पहिचान गर्ने साथै पहिचान भई आएका कथाहरूलाई चलचित्र निर्माणमा सहयोग पुर्याउनेजस्ता कार्यको पनि एउटा सन्तोषजनक चरण पार भइसकेको अवस्था थियो।

हामी जोसिएका थियौं, हौसिएका थियौं, चलचित्र उद्योगलाई पारदर्शी, अनुशासित मर्यादित र एउटा गर्व गर्नलायक उद्योगका रूपमा स्थापित गर्न प्रतिबद्ध पनि थियौं र दत्तचित्त भएर लागिरहेका थियौं।

विडम्बना श्रद्धेय अध्यक्ष केशव दाइ तीन दशकभन्दा लामो मेरो सहयात्राबाट अलग भएर अन्तमा विलीन हुन पुुग्नुभयो। उहाँका असल सपनाहरू मात्र हामीमाझ जीवित छन्, उहाँको भौतिक उपस्थिति हामीमाझ छैन, म निःशब्द भएको छु। यति धेरै उद्देश्य र कामका शुरूवात भएको छ तर पूर्णता भएको छैन।

अव केशव दाइले थालेका ती काम र ती सपनाहरूको भविष्य के हुने भनेर म टोलाइरहेको छु, झोक्र्याइरहेको छु, सोचिरहेको छु। तर, मैले आज उहाँको १३औं दिनको पुण्य तिथिका दिनसम्म पनि कुनै बाटो र चित्तबुझ्दो जवाफ पाउन सकेको छैन।

नेपाली चलचित्र क्षेत्रले एउटा असल व्यक्ति, असल चलचित्रकर्मी र नेपाली चलचित्र उद्योगलाई सगरमाथाको उचाइमा पुर्याउन चाहने एउटा असल प्रशासकलाई गुमाएको छ, यो एउटा व्यक्तिको देहावसान मात्र नभएर चलचित्रकर्मीका सपना र आशामाथि लागेको ठूलो चोट हो।

जुन चोटलाई निको बनाउनका लागि हामीले लामो समय नै कुर्नुपर्ने हुन्छ, आज चलचित्र उद्योग दुःखी भएको छ, उहाँका परिवारजनमा गहिरो शोक छाएको छ, यो अपूरणीय क्षतिले चलचित्रकर्मीको जीवनलाई उज्यालो बनाउँछु भन्ने सपनामाथि बज्रपात परेको छ।

चलचित्रकर्मी वा तीनका सन्तानले औषधोपचारमा चन्दा उठाउँदै हिड्नु नपरोस्, उत्तरार्धको अवकाशप्राप्त जीवन अभाव र अन्धकारमा अरूको आशा गरेर गुजार्नु नपरोस्, सम्मानपूर्वक एउटा असल नागरिक र चलचित्रकर्मीका रूपमा जीवनयापनको अवस्था सिर्जना होस्, चलचित्र क्षेत्रमै लागेको निहँुमा बेरोजगार भएर वा ऋणमा थिचिएर कुनै पनि चलचित्रकर्मीले विदेश पलायन हुनु नपरोस्, चलचित्रकर्मीको निधनमा उसका सन्तानले घाटमा दाउरा किन्ने पैसाका लागि चन्दा माग्ने अवस्थाको अन्त्य होस्, मौलिक चलचित्र आफ्ना र हाम्रा चलचित्रले अन्तर्राष्ट्रिय जगत्मा स–सम्मान प्रवेश पाउने अवस्था सिर्जना होस् भन्ने जस्ता यावत् समास्यैसमस्याको चाङ आफ्नो काँधमा बोकेर यी समस्याको समाधानार्थ अगाडि बढेको एउटा असल कर्मयोद्धाको अनपेक्षित र अनायासै निधनले शोकग्रस्त हामीमा धैर्य धारण गर्ने शक्ति मिलोस्, उहाँका यी असल सपनालाई हामीले असल नियतका साथ पूरा गर्न सकौं।

साथै उहाँको निधनले उहाँको परिवारमा पर्न गएको अपूरणीय क्षतिमा हामीले हातेमालो गर्न सकौं, उहाँको नाबालक छोरा र बेरोजगार श्रीमतीको आगामी दिनलाई र भविष्यको बाटोलाई हामीले आ–आफ्नो ठाउँबाट सहजीकरणका लागि मद्दत गरौं।

यसो गर्न सकियो भने श्रद्धेय केशव दाइप्रति सच्चा श्रद्धाञ्जली व्यक्त गरेको ठहर्नेछ। मेरो तीन दशकभन्दा लामो सहयात्राको साथी सहयात्रीबाट साथ छुटेको यो दुःखद क्षणमा म निःशब्द र स्तब्ध छु, हार्दिक श्रद्धाञ्जली।

(लेखक फिल्म निर्देशक, लेखक, गीतकार तथा चलचित्र विकास बोर्डका सदस्य हुन्)